मुख्य कुरा छनोट प्रक्रियामा नै हामी चुक्न पुगेका छौं। सुरुमा नै पढ्न सक्ने खालका राम्रा विद्यार्थी लाई मात्र भर्ना लिनुपर्छ। जब इनपुट नै राम्रो छैन भने त्यसले दिने आउटपुट पनि राम्रो हुँदैन। इनपुट, प्रोसेस र आउटपुटलाई हेर्नुपर्छ। त्यसैले इन्ट्री प्वाइन्ट अर्थात् सेलेक्सन प्रक्रियामा नै ध्यान पुर्याउन जरुरी छ।
कागजमा बलियो भएका कलेज व्यावहारिक रूपमा कत्तिको बलिया छन्, त्यो हुर्नुपर्छ। अभ्यास गराउने कुरामा कलेजहरू चुस्त हुनुपर्छ। अनुगमन नियमित त हुन्छ तर अनुगमन गर्न जाँदा ‘हामी आउँदैछौं है’ भन्नुको साटो छड्के चेकजाँच गर्नुपर्छ। शिक्षकहरू पनि पाठ्यक्रमप्रति नियमित अपडेट भइरहनुपर्यो। हामीले बनाएको पाठ्यक्रम त राम्रो छ तर राम्ररी अभ्यास नै भएन। यो व्यावहारिक विषय हुनाले सुरुमा क्लिनिकल प्राक्टिसमा जानुभन्दा डमीमै राम्ररी अभ्यास जानेको हुनुपर्छ।
विद्यार्थीहरूले राम्रो सिकाइको अवसर नै पाएका छैनन्। यो विद्यार्थीले यति अभ्यास गर्यो भनेर हस्ताक्षर लगाउन लगाउँछन्। जति गर्नुपर्ने हो तर गरेको हुँदैन। विद्यार्थीहरू पनि लगनशील भएर पढ्नुपर्यो। कलेजहरूलाई विद्यार्थीको संख्याको चिन्ता छ, गुणस्तरमा होइन। प्राइभेट कलेजले विद्यार्थीलाई फेल गराउनै हुँदैन भन्ने मान्यता राख्दै आइरहेका छन्। जो विद्यार्थीसँग ज्ञान र सिप छैन, उसलाई नम्बर किन दिनु? सुरुदेखि नै उनीहरूको राम्ररी मूल्यांकन हुनुप¥यो। अहिले नर्सिङ परीक्षा त सैद्धान्तिक मात्र हो, त्यसमा पनि मल्टिपल च्वाइस प्रश्नहरू हुन्छन्।
अब व्यावहारिक परीक्षा ल्याउनुपर्छ भनिरहेका छौं। किनकि सैद्धान्तिक ज्ञान मात्र भएर पुग्दैन त्यही अनुसार सिप पनि विकास हुनुपर्छ। त्यस्तो परीक्षा लागू भयो भने अहिले ६५ प्रतिशत त के ८० प्रतिशत नै विद्यार्थीहरू फेल हुन्छन् होला। फेल हुने कुरा त सोच्नुपर्छ। किनकि त्यति वर्ष पढेको खेर जान त दिनुभएन नि।
एक जना विद्यार्थीले ३ जना बिरामी अभ्यास गर्न पाउनुपर्छ, यो हाम्रो आवश्यकता हो। काउन्सिल र अरू सम्बन्धन दिनेले बेड संख्याको आधारमा दिएको छ। कतिपय प्राइभेट हस्पिटलमा बेड संख्या त छ तर बिरामी छैनन्। विद्यार्थीलाई अभ्यास गराउनका लागि यति बेड संख्या भएको हुनुुपर्छ भनेर मापदण्ड त तोकिएको छ, तर बिरामी छैनन्। बेडमा मात्र त विद्यार्थीले अभ्यास गर्न सक्दैनन्।
बेड संख्याको आधारमा होइन कि बिरामी संख्याको आधारमा कोटा निर्धारण गर्नुपर्छ। हरेक वर्ष कोटा परिवर्तन हुुनुपर्छ। अनुगमन राम्रो भए राम्रो उत्पादन हुन्छ। अनुगमनको आधारमा कोटा निर्धारण हुनुपर्यो। मन्त्रालय, काउन्सिल र सिटिइभिटी एकदमै स्पष्ट भएर अगाडि बढ्नुप¥यो। यी कुरा भए भने मात्र भोलिका दिनमा गुणस्तर जनशक्ति उत्पादन हुन्छ।
-सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखा प्रमुख तुईतुईसँगको कुराकानीमा आधारित
यो पनि
नर्सिङ शिक्षामा बेथिति–१: ओखलढुंगा नर्सिङ क्याम्पसको ६० प्रतिशत कोटा भागवन्डामा, सर्वसाधारण पढ्नबाट बञ्चित हुँदै
नर्सिङ शिक्षामा बेथिति–२: ५० शय्या भएका नर्सिङ कलेजलाई नियमविपरीत ४० सिट दिन स्वास्थ्य राज्यमन्त्रीको दबाब
निर्सिङ शिक्षामा बेथिति-३ : नर्सिङ लाइसेन्स परीक्षामा धेरै कलेजको नतिजा शून्य : कुन कलेजका कति पास, कति फेल?
निर्सिङ शिक्षामा बेथिति-४ : नर्सिङ शिक्षामा मनपरी : यी ९३ वटा कलेजका आफ्नै अस्पताल छैनन्
नर्सिङ शिक्षामा बेथिति-५ : अनुगमनको पूर्वसूचना, भाडामा सामान र बिरामी ल्याउँदै झुक्याउँदै
नर्सिङ कलेजमा बेथिति ६ : नाम मात्रको प्रयोगात्मक, सिप बिनाका जनशक्ति उत्पादन हुँदै
नर्सिङ कलेजमा बेथिति- ७ : मापदण्ड विपरीत ५० शय्यामै ४० सिट पाएका नर्सिङ कलेजलाई एक वर्षको समय थप, राज्यमन्त्रीकै मिलेमतो