नेपालमा मेडिकल लिगल सेवाको छुट्टै पहिचान हुनुपर्छ भनेर लामो समयदेखि लाग्ने व्यत्तिाm हुन्, प्राडा हरिहर वस्ती। उनको दरबन्दी वीर अस्पतालमा छ। उनलाई कामकाज गर्न भनी काजमा चिकित्साशास्त्र अध्ययन संस्थानको फरेन्सिक विभागमा खटाइएको छ। वीर अस्पतालमा अहिलेसम्म फरेन्सिक विभाग नै छैन। उनी काजमा काम गर्न थालेको पनि २० वर्षभन्दा बढी भयो। यो लामो समयमा न वीरमा फेरेन्सिक विभाग बन्यो, न उनलाई काजमा पठाइएको आइओएमको फेरेन्सिक विभागको व्यवस्थापन भयो।
नेपालका अधिकांश अस्पतालमा मेडिकल लिगल सेवाको अवस्था निकै कमजोर छ। कुनै पनि घटनाको कारण पत्ताा लगाउन गरिने चिकित्सकीय जाँच अर्थात् मेडिकल लिगल परीक्षण निकै महत्वपूर्ण मानिन्छ। नेपालमा मेडिको लिगलको महत्व, अहिलेको अवस्था र सरकारले हालै मात्र ल्याएको निर्देशिकालगायत विषयमा स्वास्थ्य खबरपत्रिकाका लागि कल्पना पौडेलले डा वस्तीसँग गरेको कुराकानी :
मेडिको लिगल सेवा भनेको के हो?
मेडिको भनेको चिकित्सा र लिगल भनेको कानुनबाट आएको शब्द हो। चिकित्सकको काम औषधिउपचार र रोग निको पार्ने मात्र होइन, कानुनी प्रयोजनका लागि सबुत तयार गरिदिने दायित्व पनि हुन्छ। त्यो सबुतले मुद्दा चलाउने अधिकारीलाई मुद्दा चलाउन वा नचलाउन मद्दत गर्छ।
उदाहरणका लागि कुनै व्यक्ति मरेको अवस्थामा भेटियो। जाँच गर्दा ऊ हृदयघात वा अन्य कुनै रोगका कारणले मरेको भन्ने रिपोर्ट आयो भने अनुसन्धान आवश्यक हँुदैन। तर गर्दा घाँटी अँठ्याएको, शरीरमा अन्य चोटपटक लागेको, गोली लागेको घाउ छ भने जाँच गर्दा आफैंले गरेको होइन भन्ने देखियो भने अनुसन्धान गर्नुपर्ने हुन्छ। त्यसका लागि मेडिकल रिपोर्ट ठूलो प्रमाण हो। त्यही कानुनी प्रमाणका लागि दिइने प्रतिवेदन नै मेडिकल लिगल सेवा हो।
नेपालमा मेडिकल लिगलको अवस्था कस्तो छ?
नेपालमा मेडिकल लिगलको अवस्था कमजोर छ। राज्यले मेडिकल लिगल सेवालाई न्यून प्राथमिकतामा राखेको छ। स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग वा अस्पतालमा मेडिकल लिगल सेवा हेर्ने जिम्मेवार इकाई छैन।
समाजमा हरेक समय विभिन्न किसिमका घटना भइरहेका छन्। हरेक दिन अस्पतालमा यस्ता केस आउँछन्। प्रहरीले यस्ता केसको मेडिकल जाँचका लागि नजिकैको अस्पतालमा लैजान्छ। अस्पतालमा विशेष तालिमप्राप्त चिकित्सकले मात्र मेडिकल लिगल जाँच गर्नुपर्ने हुन्छ। तर हामीकहाँ तालिमप्राप्त जनशक्तिको कमी छ। जसका कारण रिपोर्ट स्पष्ट र विस्तृत हँुदैन। जुन पीडितलाई न्यायका लागि पनि बलियो आधार हुँदैन।
हामीले संवेदनशील विषयको मेडिकल लिगल तयार गर्न जोसुकैले मिल्दैन भन्ने प्रष्ट हुन आवश्यक छ। स्वास्थ्यमा १५ महिनाको तालिमदेखि वर्षौं लगाएर अध्ययन गर्ने चिकित्साका विषयहरु छन्। यस्तो मेडिकल लिगलको काम सबै स्वास्थ्यकर्मीले जान्दछन् भन्ने अपेक्षा हामीले गर्नुहुँदैन। चिकित्सकलाई यो विषयको तालिम दिनु, आवश्यक उपकरण उपलब्ध गराउनुपर्छ। यो विषयमा हामी निकै पछाडि छौँ।
अहिलेसम्म नेपालमा मेडिकल लिगलका लागि केके व्यवस्था गरिएको छ?
मेडिकल लिगल सेवालाई व्यवस्थित गरिएको अवस्था छैन। छुट्टै संरचना नै नभएपछि यसका लागि बजेट कार्यक्रम पनि छैनन्। धेरैजसो अस्पतालमा अहिले पनि बिना जनशक्ति, उपकरण काम चलाउनुपर्ने बाध्यता छ। राज्यले अहिले पनि कानुनी प्रयोजनका लागि रिपोर्ट तयार गर्ने मानिसलाई विशेष जानकारी र तालिम चाहिन्छ भनी प्राथमिकता राख्न आवश्यक छ।
कुनै घटना भयो। त्यसको कसरी सबुत संकलन गर्ने, कसरी राख्ने, कसरी जाँच गर्ने, केके कुरा कसरी सोध्ने भन्ने चिकित्सकलाई राम्रो जानकारी छैन। जसको कारण अस्पष्ट र अधुरा प्रतिवेदन तयार हुन्छन्। विशेष काम गर्न विशेष ज्ञान भएका मानिस चाहिन्छ। विशेष प्रकृतिको काम यत्तिकै भइरहेको छ।
मेडिकल शिक्षा अध्यापन गराउने कलेजमा फरेन्सिक मेडिकल विभाग आवश्यक छ। विशेष योग्यता भएका शिक्षक चाहिन्छन्। नेपालमा यो विषयमा ६० जना जति विज्ञ चिकित्सक उत्पादन भइसकेका छन्। उनीहरुको भरपुर उपयोग र सेवा व्यवस्थित तथा गुणस्तरीय बनाउने काम हुनुपर्छ।
मेडिकल लिगल नहुँदा केके प्रभावित भएको छ?
संरचनागत रुपमा पहिचान हुनुपर्छ। यी नहुँदा सबै कुरामा प्रभाव परेको छ। सतही ज्ञानबाट गरिएको कामबाट गुणस्तरीय रिपोर्ट आउँदैन। पीडितले न्याय पाउने विषयसँग जोडिएकोले न्यूनतम आधारमा राखी मेडिकल लिगलबारे ज्ञान भएको व्यक्तिलाई जिम्मेवारी दिइनुपर्छ। यो अपराधीले सजाय पाउने विषयसँग जोडिएको छ। यसका लागि आवश्यक सामग्री केके हुन् भनेर हरेक अस्पतालमा व्यवस्था गरिनुपर्छ।
विषयगत ज्ञान नभई काम गर्दा अपराध नभएको विषय अपराधमा स्थापित हुनसक्छ। निर्दोष व्यक्तिले सजाय पाउने अवस्था हुन्छ। भएको नहुने, नभएको हुने यो दुवै कुरा हुनसक्छ। यो झन् ठूलो अपराध हो। सबुत कमजोर हुँदा निर्दोष व्यक्ति जेल जानसक्छ। त्यस्तो भयो भने झन् ठूलो अपराध हुन्छ। कुनै सम्बोधन नगरिएको विषय भएकाले यसबारे व्यवस्थित कुनै तथ्यांक छैन। यस्तो महत्वपूर्ण र संवेदनशील विषयको डाटा राख्नु आवश्यक छ।
सरकारले गत चैतमा मेडिकल सेवा निर्देशिका ल्याएको छ, निर्देशिकामा के व्यवस्था छ?
तीन वर्षको लगातार प्रयासपछि निर्देशिका आएको छ। तर अझै लागू भएको छैन। यसलाई सक्दो छिटो लागू गर्नुपर्छ। अहिलेसम्म किन लागू भएन, यसको उत्तर अझसम्म मैले भेटेको छैन। छिटो लागू गराँै भन्दै आएको छु।
यो निर्देशिका ल्याएर मात्र सबै कुरा सम्बोधन हुन सक्दैन। उक्त निर्देशिका अहिलेको संघीय संरचनाअनुसार तयार गरिएको छ। हरेक अस्पतालमा मेडिकल लिगल युनिट हुनुपर्छ। यससँग सम्बन्धित विज्ञ राख्नुपर्ने कुरा निर्देशिकाले बोलेको छ।
स्वास्थ्य मन्त्रालयअन्तर्गत प्रदेशका मन्त्रालयमा छुट्टै युनिट हुनुपर्छ भन्ने कुरा छ। अस्पतालमा मेडिकल लिगल युनिटमा न्यूनतम केके कुरा हुनुपर्छ भनेर पनि तोकिएको छ। निर्देशिकाले मन्त्रालयमा केन्द्रीय मेडिकल लिगल सेवा सञ्चालन समिति हुनुपर्छ भनेर परिकल्पना गरेको छ। प्रदेश मेडिकल लिगल सेवा समन्वय समिति पनि हुनपर्छ भनेको छ।
स्वास्थ्य संस्थामा मेडिको लिगल परीक्षणसम्बन्धी मापदन्ड र पूर्वाधार पनि स्पष्ट पारिएको छ। २४सै घन्टा सेवा हुुनुपर्छ। कम्तीमा हरेक अस्पतालमा एक मेडिकल लिगल युनिट हुनुपर्छ।
यो निर्देशिका आउनुअघि कुनै व्यवस्था नै थिएन ?
अहिले पनि पहिले जसरी चल्दै आएको थियो, त्यसरी नै काम चलेको छ। पहिले जो स्वास्थ्यकर्मी उपलब्ध थिए, अहिले उनीहरुले जाँच गर्ने चलन अहिले पनि छँदै छ। यो बेलासम्म कानुन आइसक्नुपर्ने थियो। तर आएको छैन। कमसेकम कानुन आउन ढिला हुन्छ, बरु निर्देशिका बनाउँदा छिटो हुन्छ भनेर निर्देशिका बनाउनतिर लागियो।
नेपालमा वार्षिक कति मेडिकल लिगल रिपोर्ट तयार हुन्छन् ?
यसबारे आधिकारिक तथ्यांक छैन। हरेक अस्पतालमा आफ्नो तथ्यांक होला तर एकीकृत हुन सकेको छैन। म कार्यरत फरेन्सिक विभागमा वार्षिक दुई हजार शव परीक्षण (अटप्सी) हुन्छ। सबैभन्दा बढी दुर्घटना, दोस्रोमा आत्महत्याका केस धेरै हुन्छन्। हत्या गरिएका घटना पनि आइरहन्छन्। प्राकृतिक कारणले मरेका केस पनि आउँछन्। केही समयअघि वीर अस्पतालका चिकित्सकले वर्षमा १० हजार मेडिको लिगल जाँच हुने बताएका थिए।
तपाईंको नेतृत्वमा देशभरका सरकारी अस्पतालका मेडिकल अधिकृतहरुलाई तालिम सञ्चालन भएको थियो ? यतिले मात्र पुग्छ त ?
निर्देशिकालाई आधार मानेर तालिम दिइएको हो। त्यति मात्र पर्याप्त हुँदैन। काम गर्ने चिकित्सकले छोड्ने क्रम बढ्दो छ। १५० जना चिकित्सकलाई तालिम दिइएको थियो। यीमध्ये धेरैले छोडिसकेका छन्। चिकित्सक सरुवा भएर अन्य अस्पतालमा जाँदा बरु तालिमको कुरा त्यहाँ काम लाग्छ। तर छोडेर जाँदा समस्या हुन्छ। तालिम दिइरहनुपर्छ। तालिमसँगै अस्पतालमा काम गर्ने वातावरण हुनुपर्छ।
तालिम दिएर मात्र हुँदैन। काम गर्नका लागि अस्पतालमा आवश्यक स्रोत–साधन पनि चाहिन्छ। जब अस्पतालमा शवगृह छैन, छुट्टै कोठा छैन भने तालिमको उपयोग हुन सक्दैन। सबै बिरामीसँगै एउटा बलात्कार भइआएको पीडितलाई राखेर जाँच गर्न मिल्दैन। कसरी सोधपुछ गर्ने, चौरमा लास चिरेर जाँच गर्न मिल्छ ? त्यस्तो ठाउँमा कस्तो प्रतिवेदन तयार होला ?
यो निर्देशिकाले पनि विज्ञहरुको मात्र उपयोग गर्छ। त्यो पनि ती अस्पतालमा जहाँ सबै स्रोत–साधन छ, त्यहाँ मात्र काम लाग्छ। नत्र सबै तालिम लिएर जान्दाजान्दै पनि स्रोत–साधनको अभावमा गलत रिपोर्ट बन्ने स्थिति बन्न सक्छ। जसलाई जाँच गर्न दिइन्छ, उसलाई न्यूनतम ज्ञान पनि दिनुपर्यो। यी सबै व्यवस्था गरिएपछि त्यसको नियमित अनुगमन पनि गर्नुपर्छ। मानवीय स्वभाव हो, गल्ती पनि हुनसक्छ। त्यसैले बेलाबेलामा अनुगमन हुन जरुरी छ।
ओसिएमसी अर्थात् एकद्वार संकट व्यवस्थापन केन्द्रमा मेडिकल लिगलको कस्तो भूमिका छ ?
महत्वपूर्ण भूमिका छ। ओसिएमसीमा धेरै सेवा छन्। त्यसको महत्वपूर्ण सेवा मेडिकल लिगल पनि हो। एकै ठाउँबाट उपचार, कानुनी पुनस्थाएपना लगायतका सेवा त्यहाँबाट दिइन्छ।
सरकारको सकारात्मक प्रयास हो ओसिएमसी। तर ओएसिएमसी असफल हुुनुमा मेडिकल लिगलको राम्रो व्यवस्था नहुनु पनि एक हो। मेडिकल पाटो राम्रो भएको भए ओसिएमसी अझ धेरै सफल हुन्थ्यो। जब न्याय पाउने महत्वपूर्ण सबुत मेडिकल रिपोर्ट नै बलियो नभएसम्म कसरी न्याय पाउने ?
म वा अरु एक/दुई जनाले मात्र मेडिकल लिगल सेवालाई पहिचान देऊ भनेर केही हुँदैन। मैले त २५ वर्षदेखि भन्दै आएको छु। तर सम्बोधन भएन। सबै पक्ष, सरोकारवालाहरुले बोल्नुपर्छ। यसको छुट्टै शाखा वा युनिट राखी मासिक, वार्षिक तथ्यांक राख्ने सिस्टम बसाल्नुपर्छ। तथ्यांक बिना यसलाई व्यवस्थित गर्न सकिँदैन।
यो पनि :
कमजोर मेडिको लिगल सेवा: अपराधी उम्कँदै, पीडित न्यायबाट वञ्चित