पोषण सुधार अभियन्ता बोनिता शर्मा सन् २०१९ को प्रभावशाली एक सय महिलाको सूचीमा परेकी छिन्। बिबिसीले तयार पारेको यस वर्षका १०० महिलाको सूचीमा शर्मा पर्न सफल भएकी हुन्। समाजमा प्रभाव छोड्न सफल महिलाहरुमध्ये बिबिसीले ६ वटा विधा तयार पार्दै १ सय महिलाको सूची सार्वजनिक गरेको हो। पृथ्वी, ज्ञान, नेतृत्व, रचनात्मकता, खेल तथा परिचय गरी ६ प्रकारका विभाजन गर्ने १०० महिलाको सूची सार्वजनिक गरिएकोमा बोनितालाई ज्ञानको श्रेणीमा राखिएको छ।
सोचाइ (सोसल चेन्जमेकर्स एन्ड इनोभेटर्स) नामक संस्थाबाट नवीनतम सिर्जना, शिक्षा र सामाजिक उद्यमशीलतामार्फत् पोषण र स्वास्थ्य सुधारमा केन्द्रित भएर काम गरिरहेकी छन् उनी। आउँदो आइतबार लिड च्यालेन्ज पुररस्कार थाप्न लन्डन प्रस्थान गर्देछिन् उनी। यसअघि स्वास्थ्यखबरले सोचाइको उद्देश्यका बारेमा विस्तृत रुपमा लेखिसकेको छ। सोचाइले के गर्दैछ र भविष्यमा यसका आगामी योजना के रहेका छन्, यस विषयमा बोनितासँग स्वास्थ्यखबरकी बुनु थारुले गरेको कुराकानी:
बिबिसीको १०० प्रभावशाली महिलाको सूचीमा पर्नुभएको छ, कस्तो अनुभव भइरहेको छ?
रोल मोडल मान्दै आएको व्यक्तिसहित आफू पनि छनोट भएँ, खुसी लागेको छ। विश्वभरि १०० जना महिलामध्ये म पनि पर्न सफल भएकोमा एकदमै नै उत्साहित छु। यो सम्पूर्ण टिमको सफलता हो। हामीले विगत ३–४ वर्षदेखि आफ्नो संस्थाबाट पोषण र स्वास्थ्य सुधारमा काम गर्दै आइरहेका छौं। त्यसको मूल्याङ्कन गरेर यो स्तरसम्म पुर्याउन सहयोग गरेको छ बिबिसीले। यसका लागि धन्यवाद दिन चाहन्छु।
कुन माध्यमबाट यो जानकारी प्राप्त गर्नुभयो?
यो खबर औपचारिक रुपमा आज मैले बिहान थाहा पाएँ। फेसबुक खोलेर हेर्दा धेरैको म्यासेज आएको पाएँ। बधाईको ओइरो लागेको छ।
बिबिसीमा कसरी पर्न सफल भएँ भन्ने लागेको छ? आफैँले आवेदन दिनुभएको थियो या तपाईंको काम देखेर मनोनित गरेको हो?
मैले त्यस्तो औपचारिक रुपमा केही गरेको छैन। आवेदन पठाएको थिइनँ। हामीले पाएको लिड च्यालेन्ज पुरस्कारले गर्दा पनि यो सफलता पायौँ जस्तो लाग्छ। त्यसैगरी हामीले दुई वर्षदेखि पोषणकै क्षेत्रमा पोषण माला भन्ने कार्यक्रम गर्दै आएका थियौं। त्यसलाई मूल्यांकन गरेर मेरो योगदानको कदर गर्दै छानिएको हो। मलाई इनोभेटरको रुपमा छनोट गरिएको हो।
तपाईंको संस्थाले एकपछि अर्को उपलब्धि हात पारिराखेको छ। अन्तर्राष्ट्रियस्तरमा प्रभाव पनि बढिरहेको छ। कत्तिको जिम्मेवारी थपिएको महसुस भएको छ?
हामीले सम्मान पाउनका लागि कहिले पनि काम गरेका थिएनौं।
सुरुमा हामीले आफ्नो इच्छाले यो काम सुरु गरेका हौँ र त्योअनुसार सम्मान र कदर पाउँदा पक्कै पनि जिम्मेवारी बोध भएको महसुस हुन्छ। पछिल्लो पटक हामीले पुरस्कार पाउँदा अझै हौसला मिलेको छ। हामी त्यहीअनुसार आफ्नो कामको स्तर बढाउने प्रक्रियामा छौं।
विशेषगरी फिल्डमा नै गएर रिसर्च गर्ने कामहरु गरिरहेका छौं। हामीले आफूले उत्पादन गरेका प्रोडक्टहरू अझै कुन तरिकाले विभिन्न महिला तथा दिदीबहिनीहरूको बीचमा कसरी पुर्याउने भन्ने योजना रहेको छ। हामी आउँदा दिनमा अझै राम्रो काम गर्ने प्रयास गर्नेछाैं। त्यसको प्रभाव देख्नुहुन्छ होला।
तपाईंले उत्पादन गरेका पोषण तथा महिनावारी मालाले कस्तो प्रभाव पारिरहेको छ समुदायमा?
हामीले काठमाडौं वरपरको क्षेत्रमा धेरै काम गरेका थियौं। अबचाहिँ जहाँ–जहाँ समस्या छ, त्यहाँ नै फिल्डमा गएर आमा समूह, वडा अध्यक्ष वा स्थानीय सरकारसँग मिलेर काम गर्छौं। उहाँहरुले गर्दा हामीलाई पनि काम गर्न सजिलो भएको छ। त्यसको लागि पछिल्लो महिनामा फिल्ड भिजिट गएर विभिन्न जिल्लामा त्यहाँको स्थानीय नेताहरुसँग काम गर्यौँ।
त्यसैगरी त्यहाँ कार्यरत स्वास्थ्यकर्मी महिलाहरु यसबारे भन्दा निकै उत्साहित हुनुहुन्थ्यो। त्यस्तो कार्यक्रम हाम्रो गाउँमा पनि गर्नुपर्छ, एकदमै आवश्यक छ भनेर भन्नुभयो। सुरुवाती दिनमा नै त्यस्तो किसिमको कदर पाउँदा हामी आफैँ पनि उत्साहित छौँ।
अन्तर्राष्ट्रिय स्तरमा तपाईंहरुको कामको चर्चा त भइरहेको छ नै? समुदाय स्तरमा यसको उपलब्धि चर्चा अनुसार नदेखिएको हो की?
समुदाय स्तरमा काम गर्दा तत्कालै हामीले त्यसको प्रभाव देख्न सक्दैनौँ। तर जति पनि हामी समुदायमा पुगेका छौं प्रभाव परेको छ। पहिला हामीले विशेषगरी गाउँका आमाहरुलाई लक्षित गरेर कार्यक्रम ल्याएका थियौँ। अब भने सहरी आमाहरुलाई पनि लक्षित गरेर कार्यक्रम ल्याउने तयारी गरिरहेका छौं।
दुवै क्षेत्रमा कुपोषणको समस्या छ। यसको जानकारीमा कमी रहेको छ भन्ने हामीले महसुस गरेका छौं। हामीले कार्यक्रम गरेपछि तत्काल प्रतिक्रिया लिन्छौँ। गरेको कामको प्रभाव विस्तारै देखिएला। हामीले अझै गरेर देखाउनु छ।
सोचाइको मुख्य टिममा ४ जना हुुनुहुन्छ, तर तपाईंं मात्र लाइमलाइटमा हुनुुहुन्छ। अरु सदस्यहरू भने ओझेलमा छन्। यसमा अरु सदस्यहरुको राय के छ?
हामी अहिले टिमसदस्य सँगै काम गरिरहेका छौं। हामीले जति पनि उपलब्धि हात पारेका छौं, टिमको सफलता नै हो। म त एउटा देखिने अनुहार मात्र हो, तर जुन सपोर्ट छ, त्यसको सबै श्रेय मेरो टिमलाई नै दिन्छु। हामी अहिले ७ जना बोर्ड सदस्य र २५ देखि ३० स्वयंसेवकहरु संस्थामा आबद्ध छौं। म अहिले क्यामरा अगाडि बोलिराखेको छु तर मेरो विचारमा मेरो स्वर सम्पूर्ण टिमको एकीकृत स्वर हो। उहाँहरुले मलाई जहिल्यै पनि साथ र सहयोग दिइराख्नुभएको छ। कामका लागि टिमको भूमिका धेरै हुन्छ।
साथीहरुले हौसला दिनुहुन्छ। आज यो खबरले साथीहरुले तिमीप्रति गर्व छ भनेर भन्नुभयो। सबै सदस्यहरु खुसी हुनुुहुन्छ। बिहानैदेखि सबै सोसल मिडियामा न्युजहरु सेयर गर्दै हुनुहुन्छ। त्यसैले म यहाँ अगाडि देखिए पनि मलाई ल्याउने यो स्तरसम्म ल्याउने मेरो टिम हो।
लिड च्यालेन्ज पुरस्कारबाट ५० हजार अमेरिकी डलरको पुरस्कार हात पार्नुभएको थियो। सो रकम कसरी परिचालन गरियो?
हामीले पैसा साथै १ वर्षको मेन्टरसिप पनि पाएका थियौं। हाम्रो टिममा धेरै जना सोसल र हेल्थ ब्याकग्राउन्ड भएका हुनाले हामीसँग व्यवसायको पक्ष त्यति बलियो छैन। सानैदेखि हाम्रो सिकाइमा तिमी व्यवसायी हुनुपर्छ भनेर सिकाइँदैन पनि। क्लासहरुमा पनि त्यसअनुसार ज्ञान पाएका थिएँनौं।
त्यो पाटो चाहिँ कमजोर थियो त्यसैले विज्ञहरुले हामीलाई यस पाटोमा सहयोग गरिराख्नुभएको छ। हाम्रो अहिले स्रोत भने फिल्ड भिजिट गएर अब कार्यक्रम कसरी लाने भनेर काम गरिरहेका छौं। अहिलेसम्म हामीले ज्ञान परिवर्तन गर्ने वा व्यवहार परिवर्तन गर्ने उद्देश्य लिएर अघि बढेका थियौं भने अब हामीले उद्यमशीलताको पाटोलाई अघि ल्याएर महिलाहरुलाई कसरी सशक्तीकरण गर्ने, विशेषगरी कसरी आर्थिक सशक्तीकरण गर्ने भन्ने हो। उहाँहरुलाई सिपमूलक तालिम दिएर अघि कसरी ल्याउने भन्ने कुरा सोचेका छौं।
विशेषगरी कुपोषणको चक्रमा चाहिँ जुन पुस्तौँपुस्तासम्म चलिआएको जस्तै आमाबाट बच्चा, बच्चाबाट किशोरी अनि फेरि आमा भएर आउने कुपोषणलाई हटाउने उद्देश्यका साथ अघि बढिरहेका छौँ। कुपोषणलाई पोषणमा मात्र ध्यान दिएर समाधान हुँदैन। यसका लागि सरसफाइका कुरा, लैँगिकताको कुरा, महिलाहरुको आर्थिक सशक्तीकरणका कुराहरु पनि अगाडि ल्याउनुपर्छ। हामीले सबै क्षेत्रलाई समेटेर आगामी दिनमा काम गर्नेछौँ।
सोचाइ अहिले सीमित क्षेत्रमा काम गरिरहेको छ, भविष्यमा यसले आफ्नो दायरा कहाँसम्म फैलाउने छ? भावी योजना के रहेका छन्?
अहिले हामी सीमित जिल्लामा काम गरिरहेका छौँ। अबको हाम्रो उद्देश्य भनेको हामीले बनाएको माला हरेक क्षेत्रका आमाको हातमा हुनुपर्छ भन्ने हो। योे कार्यक्रम हामीले नेपालभर लाने योजना हो। यसको लागि विशेषगरी सरकारको सहयोग चाहिन्छ। हामीले अहिले स्थानीय सरकारसँग यस किसिमको सहकार्य गरेर लैजाने सोचमा छौँ।
हामीले सरकारकै पोषणकै आधारमा कार्यक्रम बनाएका हौँ। जसले गर्दा हामीले गरेका काममा उहाँहरुलाई पनि टेवा पुग्छ। नेपाल लगायत साउथ एसियामा नै पोषणको स्थिति कमजोर छ। अहिले हामीले स्थानीय स्तरमा गरिराखेका छौँ भने विश्वस्तरमा नै भविष्यमा यो कार्यक्रम लैजान प्रयासरत हुनेछौँ।
यो पनि पढ्नुहोस्