नेपाल डेन्टल एसोसिएसनको २०औं राष्ट्रिय सम्मेलन रुपन्देहीमा हुने भएको छ। भैरहवास्थित होटल रेडशन र कोटिहवास्थित टाइगर प्यालेस रिसोर्टमा कात्तिक २९ र ३० गते सम्मेलन हुने सम्मेलनका विषयमा सम्मेलन सचिव एवम् नेपाल डेन्टल एसोसियसन रुपन्देहीका अध्यक्ष डा कलितराज जोशीसँग दीपक घिमिरेले गरेको कुराकानी:
कार्तिक २९ गते हुने नेपाल डेन्टलएसोसिएसनको २०औं राष्ट्रिय सम्मेलनको तयारी कस्तो छ?
नेपाल डेन्टलएसोसिएसन आयोजनामा हुन लागेको २०औं राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारण सभाको तयारी पूरा भएको छ। हामीले राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारणसभा रुपन्देहीका दुई रिर्सोट बोधि होटल रेडसन र टाइगर प्यालेस रिर्सोटमा गर्ने तय गरेका छौं। हामी पाहुनालाई स्वागत गर्न आतुर छौं।
सम्मेलनको खास उद्देश्य के हो?
दन्त चिकित्सकहरूबीच विचारविमर्श, अनुभव आदानप्रदान, अत्याधुनिक प्रविधिको प्रयोग एवं अन्तर्क्रियाद्वारा दन्त चिकित्सासम्बन्धी ज्ञान र सीपलाई विभिन्न माध्यम तथा कार्यक्रममार्फत् आदानप्रदान गरी दन्त चिकित्सा क्षेत्रलाई समयसापेक्ष सुदृढ गर्दै ज्ञान तथा सिप अभिवृद्धि गर्नु सम्मेलनको मुख्य उद्देश्य हो।
सम्मेलनमा केके विषयमा छलफल तथा बहस हुन्छ?
यो सम्मेलनमा दन्त चिकित्सा (डेन्टल)सम्बन्धी छलफल तथा बहस हुनेछ। डेन्टल एसोसियसनले तयार पारेको साइन्टिफिक कमिटीद्वारा प्रिजेन्टेसन हुनेछ।
दन्त चिकित्सासम्बन्धी अत्याधुनिक उपकरण एवं औषधिजन्य पदार्थको प्रर्दशनीसमेत हुनेछ। दन्त चिकित्सामा प्रयोग हुने नवीन प्रविधि, यन्त्र, उपकरण र औषधिजन्य पदार्थ अत्यन्त सुलभ दरमा उपलब्ध हुनेछ। त्यस्तै दन्त चिकित्सा क्षेत्रमा नेपाली बजारमा भित्रिएका नयाँ नयाँ उपकरण कसरी प्रयोग गर्ने, त्यसको उपयोगिता लगायतका विषयमा विशेषज्ञ दन्त चिकित्सकहरुले प्रशिक्षण दिनुहुने छ। प्रयोगका विषयमा व्यापक छलफल हुनेछ भने कसरी प्रयोग गर्ने भन्ने विषयमा पनि राष्ट्रिय सम्मेलनमा सिकाइने छ।
सम्मेलनमा कतिकार्यपत्र प्रस्तुत हुँदै छन्?
यो सम्मेलनमा ६४ वटा कार्यपत्र प्रस्तुत हुँदैछन्। ३२ वटा कार्यपत्र विशेषज्ञ डेन्टल सर्जनले प्रस्तुत गर्दै हुनुहुन्छ भने अन्य अन्य विषयका डाक्टर तथा विभिन्न शाखाहरुले प्रस्तुत गर्दै हुनुहुन्छ। दन्त चिकित्साका क्षेत्रमा भित्रिएका नयाँ प्रविधि, त्यसको प्रयोग, हाल नेपालमा कसरी प्रयोग भइरहेको छ, नेपालमा दन्त चिकित्सा र उपचारको अबस्था कस्तो छ भन्ने विषयमा केन्द्रित हुने छ भने आगामि दिनमा दन्त चिकित्सा पेसालाई थप प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहने छ।
यो सम्मेलनमा कति जनासहभागी हुनेछन्?
यो सम्मेलनमा देश तथा विदेशबाट ३ सयभन्दा बढीको सहभागिता रहने छ। त्यसमा पनि ७०/८० जना विशेषज्ञ डेन्टल सर्जनको सहभागिता रहने छ। बाँकी एमडिएस र बिडिएस अध्ययन गरिरहेका डेन्टल डाक्टरहरुको सहभागिता हुँदैछ। सहभागी डाक्टरहरुले बिरामीलाई कसरी उपचार गर्ने, बिरामीलाई कस्तो व्यवहार गर्ने, बिरामीकैसौन्दर्यलाई कसरी ख्याल गर्ने, हामीले उपचार गरेका बिरामीहरुले हामीलाई कुन रुपमा हेरिरहेका छन् भन्ने लगायतका विषयमा छलफल हुने छ।
दन्त चिकित्सा क्षेत्रमा विकृतिहरू पनि छन्। यो विषयमा तपाईंहरु छलफल गर्नु हुन्छ कि?
हो, दन्त चिकित्साका क्षेत्रमा पनि थुप्रै विकृतिहरु छन्। सामान्य पूर्वाधार पनि तयार नगरी डेन्टल क्लिनिक राख्ने, गैरचिकित्सकले उपचार गर्ने जस्ता थुप्रै विकृति छन्। गैरचिकित्सकले उपचार गरेका बिरामीले दुख पाउनुका साथै दाँत बिग्रिएर हामीसँग आएका थुप्रै घटना छन्। जसले गर्दा विषेशज्ञ डाक्टर र लाखौंका पूर्वाधार राखेर स्थापना गरेका डेन्टललाई समस्या परेको छ। यो विषयमा हामीले व्यापक छलफल गर्ने छौं। भने यस्ता कुरालाई न्यूनीकरण गर्नका लागि अनुगमन गर्नु पर्ने विषयलाई पनि जोडदारका साथ उठान गर्नेछौं।
नेपालमा डेन्टल पढिरहेकाहरूलाई कस्तो अवसर देख्नु हुन्छ?
नेपालमा दन्त चिकित्साको राम्रो अवसर छ। दाँतका विषयमा अहिले आम नागरिक सचेत भएका छन्। हामी सहरमा मात्रै नभएर केन्द्रित नभएर ग्रामीण भेगमा पुग्न सक्यौं भने डेन्टिस्टलाई राम्रो अवसर छ। गुणस्तरीय सेवा प्रदान गर्ने डेन्टिस्टलाई कुनै पनि खालको समस्या पर्दैन। यसमा हामी विस्वस्त छौं।
राष्ट्रिय सम्मेलनका साथै साधारणसभा पनि हुँदैछ। साधारणसभाले केही नयाँ कुरा पारित गर्दै छ कि?
साधारणसभामा छलफलका लागि कुनै विषय तय गरिएको छैन। तैपनि केहीविषयमा छलफल हुने नै छ। यो साधारणसभामा हामीले नेपाल डेन्टल एसोसिएसनको कार्यकाल २वर्षबाट बढाएर ३वर्ष बनाउने विषयमा प्रस्ताव लगिँदैछ। प्रदेशस्तरीय डेन्टल एसोसिएसन स्थापना गर्ने विषय पनि साधारणसभामा उठ्ने छ।