काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले निजी मेडिकल कलेजहरुले विद्यार्थीबाट अवैध रुपमा उठाएको अतिरिक्त शुल्क फिर्ता गर्ने बताएका छन्। राष्ट्रिय युवा संघ नेपालको कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले तोकेको भन्दा बढी शुल्क लिएका मेडिकल कलेजलाई लामखुट्टेको संज्ञा समेत दिए।
‘रगत चुस्ने लामखुट्टे जस्ता मेडिकल भए अनि विद्यार्थीबाट रगत चुस्ने काम गरे,’ उनले भने, ‘विद्यार्थीलाई रगत चुस्ने भाँडो बनाउनु भएन।’ उनले विद्यार्थीबाट ठगी गरेको रकम सरकराले फिर्ता गराएरै छाड्ने जानकारी दिए।
‘अनुचित ढंगले विद्यार्थीबाट ठगी गरेर लिएको पैसा कलेजहरुले फिर्ता गर्नुपर्छ। पहिलेका सरकारलाई झुक्याएजस्तो यो सरकारलाई चल्दैन। गोप्य ढंगले लिनु त्यो ठगी हो, त्यो फिर्ता हुनैपर्छ,’ प्रधानमन्त्री ओलीले भने। उनले भर्खरै खुलेका मेडिकल कलेज सञ्चालकहरुले समेत अकुत नाफा कमाएको भन्दै त्यसलाई छुट नदिइने पनि बताए।
मेडिकल कलेजहरुले सरकारले तोकेकोभन्दा बढी रकम असुलेपछि अहिले विद्यार्थीहरु आन्दोलित छन्। विद्यार्थीहरुले कलेजहरुले १५ लाखसम्म बढी रकम असुलेको बताइरहेका छन्।