विराटनगर- सुनसरी, झापा र उदयपुरका विभिन्न स्थानबाट लागुऔषध तथा नार्कोटिक र साइकोट्रोपिक औषधिसहित ११ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सुनसरीको हरिनगर गाउँपालिका–६ घुस्कीका २६ वर्षीय लुकमान अंसारी र भारतको पूर्णियाका २८ वर्षीय एमलि मझाल छन् । उनीहरूलाई सुनसरीको देवानगञ्ज गाउँपालिका–२ घुस्की सडकखण्डबाट १३ किलो ५२० ग्राम गाँजासहित पक्राउ गरिएको हो । उनीहरूले प्रयोग गरेको मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, इलाका प्रहरी कार्यालय लौकहीले उदयपुरको चौदण्डी नगरपालिका–९ का २६ वर्षीय लालबहादुर श्रेष्ठ र सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का २४ वर्षीय निर्मल श्रेष्ठलाई पक्राउ गरेको छ । उनीहरूको साथबाट ट्रामाडोल हाइड्रोक्लोराइड (Tramol-50) लेखिएको १ हजार २६० क्याप्सुल र नाइट्राजेपाम (Nitzascen-10) लेखिएको ४० ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ ।
झापाको बिर्तामोड नगरपालिका–१० कुवापानीटोलबाट २० वर्षीय प्रदीप बर्देवा र २७ वर्षीय लुखिराम मुर्मु ब्राउन सुगर ९०० मिलिग्रामसहित पक्राउ परेका छन् ।
त्यस्तै, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ सिसुवाधरमपुरबाट सोही गाउँपालिका–२ का २७ वर्षीय मोहम्मद आजादलाई ब्राउन सुगर ३६० मिलिग्रामसहित पक्राउ गरिएको छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–३ पैतालिस चोकबाट पनि चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीय प्रणय राई, २० वर्षीय रमण राई, १९ वर्षीय रोजित राई र २३ वर्षीय देवराज परियार छन् ।
उनीहरूको साथबाट डाइसाइक्लोमिन हाइड्रोक्लोराइड (Decolice) लेखिएको १७ ट्याब्लेट, (Spaspain) लेखिएको ५० ट्याब्लेट र ट्रामाडोल हाइड्रोक्लोराइड लेखिएको ७० क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका सबै जनामाथि सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको छ ।