काठमाडौं- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीहरूले नियुक्तिपछिको १०० दिनको अवधिमा हासिल भएका महत्त्वपूर्ण प्रगति विवरण सार्वजनिक गरेको छ। विश्वविद्यालयका उपकुलपति प्राडा सुनिलकुमार जोशीले एक सय दिनको उपलब्धि सार्वजनिक गरेका हुन्।
सुदूरपश्चिम प्रदेशका नागरिकलाई आफ्नै प्रदेशमा गुणस्तरीय, सर्वसुलभ तथा विशिष्टीकृत स्वास्थ्य सेवा उपलब्ध गराउने र चिकित्सा शिक्षाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन उद्देश्यसहित विश्वविद्यालयले नीतिगत, प्रशासनिक, शैक्षिक तथा चिकित्सकीय क्षेत्रमा महत्त्वपूर्ण कदम चालेको उपलब्धिमा उल्लेख छ।
उपकुलपति जोशीले सार्वजनिक गरेको प्रगति विवरणअनुसार विश्वविद्यालयले संस्थागत विकास तथा सुशासनका लागि सांगठनिक संरचना तयार गर्नुका साथै विश्वविद्यालय सभा सञ्चालन कार्यविधि, शिक्षक तथा कर्मचारी नियमावली, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, खरिद नियमावली लगायतका दर्जनभन्दा बढी नियम तथा निर्देशिका पुनरावलोकन गरेको विषय रहेका छन्।
सुदूरपश्चिम प्रदेशमै पहिलोपटक गुणस्तरीय चिकित्सा शिक्षा प्रदान गर्ने दिशामा विश्वविद्यालयले ठूलो सफलता हासिल गरेको प्रगति विवरणमा उल्लेख छ। विश्वविद्यालयमा स्नातक तह अन्तर्गत चारवटा शैक्षिक कार्यक्रम सञ्चालनका लागि कुल ९० सिट स्वीकृत भएको विषय महत्वका साथ प्रगति विवरणमा उल्लेख गरिएको छ। विश्वविद्यालयले एमबीबीएसमा ५० सिट, बी.एस्सी. नर्सिङमा २० सिट, बी.एस्सी. मेडिकल ल्याबोरेटरी टेक्नोलोजीमा १० सिट र ब्याचलर अफ अप्टोमेट्रीमा १० सिट गरी ९० सिट पाएको छ। यी कार्यक्रमहरूमा ७५ प्रतिशत छात्रवृत्ति व्यवस्थाका लागि ७ करोड ३९ लाख स्रोत सुनिश्चितता गरिएको विषय पनि विवरणमा उल्लेख छ।
गेटा अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा रूपान्तरण गरी सेवालाई थप प्रभावकारी बनाइएको, चिकित्सा शिक्षा आयोगको ३०० शैय्याको मापदण्ड रहेकोमा हाल अस्पतालमा विभिन्न विभागहरूबाट जम्मा ३२५ शय्या सञ्चालनमा रहेका, यसबाहेक, रक्षा मन्त्रालयमार्फत प्राप्त थप ५०० थान अस्पताल शय्याहरूलाई इन्डोर वार्ड, आईसीयू तथा आकस्मिक कक्षहरूमा व्यवस्थापन गरी सेवा क्षमता क्रमशः विस्तार गर्ने योजना अघि बढाइएको विषय पनि विवरणमा उल्लेख छ।
विश्वविद्यालयमा स्वीकृत ५४४ दरबन्दीमध्ये हाल ४०० जनशक्ति कार्यरत छन् भने थप १५१ जना चिकित्सक तथा स्वास्थ्यकर्मीको छनोट प्रक्रिया अगाडि बढाइएको प्रगति विवरणमा उल्लेख छ। साथै, आर्थिक वर्ष २०८३/०८४ का लागि क्याथ ल्याब स्थापना, बर्न युनिट, सिटी स्क्यान तथा एमआरआई, डायलाइसिस सेवा विस्तार, क्यान्सर रोगको निदान तथा पुस्तकालय र ई-लाइब्रेरी स्थापनाजस्ता बजेट तथा कार्यक्रमलाई प्राथमिकतामा राखिएको उपकुलपतिद्वारा जारी प्रगतिमा उल्लेख छ।
हेरौं प्रगति विवरणको पूर्णपाठ
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीहरूको नियुक्ति पछिका १०० दिने प्रगति विवरण
सुदूरपश्चिम प्रदेशका नागरिकलाई आफ्नै प्रदेशमा गुणस्तरीय, सर्वसुलभ तथा विशिष्टीकृत स्वास्थ्य सेवा उपलब्ध गराउने, दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने र चिकित्सा शिक्षा तथा स्वास्थ्य अनुसन्धानको राष्ट्रिय तथा अन्तरास्ट्रिय केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन उद्देश्यसहित स्थापित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले संस्थागत विकास, शैक्षिक कार्यक्रम स्वीकृति, शिक्षण अस्पतालको सुदृढीकरण, जनशक्ति व्यवस्थापन तथा पूर्वाधार विकासका क्षेत्रमा महत्त्वपूर्ण प्रगति हासिल गरेको छ।
विश्वविद्यालय स्थापना तथा गेटा अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा रूपान्तरण गर्ने नेपाल सरकारको निर्णयसँगै आरोह, अबरोह तथा सीमित स्रोतसाधन, विशेषज्ञ जनशक्तिको उपलब्धता तथा संस्थागत संरचना निर्माणका चुनौतीका बाबजुद विश्वविद्यालयले नीतिगत, प्रशासनिक, शैक्षिक तथा चिकित्सकीय क्षेत्रमा योजनाबद्ध रूपमा कार्य अगाडि बढाएको छ।
यस सन्दर्भमा विश्वविद्यालयका प्रमुख उपलब्धि तथा सुधारका प्रयासहरू निम्नानुसार रहेका छन्।
१. संस्थागत विकास, नीतिगत सुधार तथा सुशासन
विश्वविद्यालयलाई व्यवस्थित, पारदर्शी, जवाफदेही तथा संस्थागत रूपमा सक्षम बनाउन आवश्यक नीतिगत र प्रशासनिक आधारहरू तयार गरिएको छ।
यस अन्तर्गत निम्न कार्यहरू सम्पन्न भएका छन्।
• विश्वविद्यालयको सांगठनिक संरचना तयार गरिएको।
• विश्वविद्यालयको आधिकारिक झण्डा तथा छाप तयार गरिएको।
• विश्वविद्यालय सभा सञ्चालन कार्यविधि, २०८२ पुनरावलोकन गरिएको।
• शिक्षक तथा कर्मचारी नियमावली, २०८२ पुनरावलोकन गरिएको।
• आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०८२ पुनरावलोकन गरिएको।
• विश्वविद्यालय खरिद नियमावली, २०८२ पुनरावलोकन गरिएको।
• पदाधिकारीहरूको पारिश्रमिक, सुविधा तथा सेवाका सर्तसम्बन्धी नियमावली पुनरावलोकन गरिएको।
• विषय समिति नियमावली, २०८२ पुनरावलोकन गरिएको।
• प्राज्ञ तथा विज्ञहरूको सेवा, सुविधा र पारिश्रमिक सम्बन्धी व्यवस्था पुनरावलोकन गरिएको।
• संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M Survey), २०८२ पुनरावलोकन गरिएको।
२. चिकित्सा शिक्षामा ऐतिहासिक प्रगति : चार शैक्षिक कार्यक्रम, ९० सिट स्वीकृत
सुदूरपश्चिम प्रदेशमै गुणस्तरीय चिकित्सा शिक्षा प्रदान गर्ने दिशामा विश्वविद्यालयले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ।विश्वविद्यालयमा स्नातक तहका चारवटा शैक्षिक कार्यक्रम सञ्चालनका लागि कुल ९० सिट स्वीकृत भएका छन्।
स्वीकृत कार्यक्रम तथा सिट संख्या
• एमबीबीएस (MBBS) - ५० सिट
• बी.एस्सी. नर्सिङ (B.Sc. Nursing) - २० सिट
• बी.एस्सी. मेडिकल ल्याबोरेटरी टेक्नोलोजी (B.Sc. MLT) - १० सिट
• ब्याचलर अफ अप्टोमेट्री (B. Optometry) - १० सिट
३. छात्रवृत्तिका लागि स्रोत सुनिश्चितता
चिकित्सा शिक्षामा आर्थिक रूपमा कमजोर तथा योग्य विद्यार्थीहरूको पहुँच सुनिश्चित गर्ने उद्देश्यले विश्वविद्यालयका स्वीकृत शैक्षिक कार्यक्रमहरूमा ७५ प्रतिशत छात्रवृत्ति व्यवस्थाका लागि रु. ७ करोड ३९ लाख स्रोत सुनिश्चितता गरिएको छ।
४. शिक्षण अस्पतालको सुदृढीकरण
विश्वविद्यालय शिक्षण अस्पतालको सेवा क्षमता तथा व्यवस्थापन सुदृढ गर्ने कार्य अगाडि बढाइएको छ।
चिकित्सा शिक्षा आयोगको ३०० शैय्याको मापदण्डका सन्दर्भमा अस्पतालका विभिन्न विभागहरूमा हाल जम्मा ६२२ शैय्या मौजुदा रहेको व्यहोरा जाहेर छ।
हाल संचालनमा रहेको विभागगत शैय्या विवरण
▪️ आकस्मिक तथा जनरल प्राक्टिस - ३० शैय्या
▪️ इन्टर्नल मेडिसिन तथा डर्माटोलोजी - ८५ शैय्या
▪️ मानसिक रोग विभाग - १० शैय्या
▪️ बालरोग विभाग - ३४ शैय्या
▪️ जनरल सर्जरी तथा डेन्टल - ५० शैय्या
▪️ नाक, कान, घाँटी तथा आँखा - १० शैय्या
▪️ अर्थोपेडिक्स - ४० शैय्या
▪️ सर्जिकल आईसीयू तथा पोस्टअपरेटिभ केयर - २३ शैय्या
▪️ स्त्री तथा प्रसूति रोग - ४३ शैय्या
जम्मा मौजुदा शैय्या : ३२५
५. थप ५०० शैया अस्पताल व्यवस्थापन
प्रयोगबिहिन अवस्थामा रहेका भौतिक पूर्वाधार तथा स्रोत साधनको अधिकतम उपयोग गर्दै रक्षा मन्त्रालयमार्फत प्राप्त ५०० थान अस्पताल शैयाहरूलाई अस्पतालका सम्बन्धित इन्डोर वार्ड, आईसीयू तथा आकस्मिक कक्षहरूमा व्यवस्थापन गरिएको छ।
अस्पतालको सेवा क्षमता क्रमशः विस्तार गर्ने उद्देश्य राखिएको छ।
६. विशेषज्ञ तथा बहुविषयक स्वास्थ्य सेवाको उपलब्धता
विश्वविद्यालय शिक्षण अस्पतालबाट विभिन्न विशेषज्ञ विभागमार्फत स्वास्थ्य सेवा उपलब्ध गराइँदै आएको छ।
प्रमुख क्लिनिकल सेवाहरू
• जनरल मेडिसिन
• जनरल सर्जरी
• अर्थोपेडिक्स
• कार्डियोलोजी
• डर्माटोलोजी
• नाक, कान तथा घाँटी
• नेत्ररोग
• दन्तरोग
• मानसिक रोग
• स्त्री तथा प्रसूति रोग
• बालरोग
• बहिरङ्ग तथा अन्तरङ्ग सेवा
७. आकस्मिक, शल्यक्रिया तथा सघन उपचार सेवाको सञ्चालन
अस्पतालमा अत्यावश्यक तथा जटिल अवस्थाका बिरामीहरूको उपचारका लागि विभिन्न सेवाहरू उपलब्ध छन्।
▪️ आकस्मिक उपचार सेवा (Emergency)
▪️ सघन उपचार कक्ष (ICU)
▪️ नवजात शिशु सघन उपचार कक्ष (NICU)
▪️ बाल सघन उपचार कक्ष (PICU)
▪️ उच्च निर्भरता उपचार कक्ष (HDU)
▪️ शल्यक्रिया कक्ष (Operation Theatre)
▪️ शल्यक्रिया पश्चात्को उपचार सेवा
▪️ अन्तरङ्ग तथा वार्ड सेवा
८. रोग निदान, प्रयोगशाला तथा उपचार सहयोगी सेवाको उपलब्धता
प्रभावकारी स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक विभिन्न रोग निदान तथा उपचार सहयोगी सेवाहरू उपलब्ध गराइँदै आएका छन्।
प्रमुख सेवाहरू
• प्याथोलोजी
• बायोकेमिस्ट्री परीक्षण
• माइक्रोबायोलोजी परीक्षण
• एक्स–रे
• अल्ट्रासाउन्ड
• ईसीजी
• इकोकार्डियोग्राफी
• इन्डोस्कोपी
• कोलोनोस्कोपी
• फिजियोथेरापी
• फार्मेसी
• सामाजिक सेवा
• मेडिकल रेकर्ड तथा हेल्पलाइन
९. जनशक्ति व्यवस्थापन तथा पदपूर्ति प्रक्रिया
विश्वविद्यालय तथा शिक्षण अस्पतालको प्रभावकारी सञ्चालनका लागि दक्ष जनशक्तिको व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको छ।
जनशक्तिको वर्तमान अवस्था
▪️ स्वीकृत दरबन्दी: ५४४
▪️ हाल कार्यरत जनशक्ति: ४००
▪️ छनोट प्रक्रियामा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मी : १५१
विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, नर्सिङ जनशक्ति, प्रयोगशाला तथा रेडियोलोजी प्राविधिक लगायत आवश्यक स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि प्रक्रिया अगाडि बढाइएको छ।
१०. बेसिक साइन्स विभाग तथा शैक्षिक प्रयोगशालाको तयारी
विश्वविद्यालयमा चिकित्सा शिक्षाको गुणस्तर सुनिश्चित गर्न बेसिक साइन्स विभागहरूको विकासलाई प्राथमिकतामा राखिएको छ।
यस अन्तर्गत:
• आवश्यक फ्याकल्टी तथा सहायक जनशक्तिको व्यवस्था गरिएको।
• बेसिक साइन्स प्रयोगशालाहरूका लागि न्यूनतम मापदण्डको व्यवस्थापन गरिएको।
• थप आवश्यक उपकरण तथा शैक्षिक सामग्री पहिचान गरिएको।
• विद्यार्थी भर्नाअघि पठन पाठनका लागि थप उपकरण खरिद तथा जडान गर्ने योजना अगाडि बढाइएको (जस्तै: CADAVIZ)।
११. आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा कार्यक्रम
विश्वविद्यालयको शैक्षिक, चिकित्सकीय तथा संस्थागत विकासलाई योजनाबद्ध रूपमा अगाडि बढाउन आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा कार्यक्रम तयार गरिएको छ।
बजेट तथा कार्यक्रममा स्वास्थ्य सेवा विस्तार, आधुनिक चिकित्सा उपकरण, प्रयोगशाला सुदृढीकरण, शैक्षिक पूर्वाधार तथा अस्पताल व्यवस्थापन प्रणालीको विकासलाई प्राथमिकता दिइएको छ।
प्रमुख बजेटीय प्राथमिकताहरू
• क्याथ ल्याबका उपकरण
• बर्न युनिट स्थापना
• सीटी स्क्यान तथा एमआरआई
• डायलाइसिस सेवा विस्तार
• युरोलोजी सेवा
• अर्थोपेडिक्स उपकरण
• प्रसूति शल्यक्रिया कक्ष
• क्यान्सर रोगको निदान तथा उपचार उपकरण
• प्रयोगशाला तथा बेसिक साइन्स उपकरण
• पुस्तकालय तथा ई - लाइब्रेरी
• अस्पताल फर्निचर तथा एम्बुलेन्स
• केन्द्रीय सीसीटीभी तथा डाटा सेन्टर
• क्यु म्यानेजमेन्ट प्रणाली
• सीएसएसडी तथा लन्ड्री सेवा
• विद्युत् तथा अस्पताल सञ्चालन सहयोगी प्रणाली
१२. स्वच्छ, हरियाली युक्त तथा बिरामी मैत्री परिसर निर्माण
विश्वविद्यालय तथा शिक्षण अस्पताल परिसरको सरसफाइ, वातावरणीय सुधार तथा बिरामी मैत्री व्यवस्थापनलाई प्राथमिकता दिँदै बृहत् सरसफाइ अभियान सञ्चालन गरिएको छ।
अस्पताल परिसरलाई स्वच्छ, व्यवस्थित, हरियाली युक्त तथा सेवाग्राहीमैत्री बनाउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ।
आगामी प्रमुख प्राथमिकताहरू
विश्वविद्यालयले हासिल गरेका संस्थागत तथा शैक्षिक उपलब्धिलाई थप सुदृढ गर्दै आगामी दिनमा निम्न कार्यहरूलाई प्राथमिकताका साथ अगाडि बढाउने योजना बनाएको छ।
१. शिक्षण अस्पताललाई आवश्यक जनशक्ति र उपकरणसहित पूर्ण क्षमतामा सञ्चालन गर्ने।
२. क्याथ ल्याब स्थापना गरी मुटुरोगसम्बन्धी विशिष्टीकृत उपचार सेवा विकास गर्ने।
३. बर्न युनिट तथा ट्रमा सेन्टर स्थापना गर्ने।
४. सीटी स्क्यान तथा एमआरआईजस्ता आधुनिक निदानात्मक सेवाको विकास गर्ने।
५. डायलाइसिस, युरोलोजी तथा क्यान्सर रोगसम्बन्धी सेवाहरू विस्तार गर्ने।
६. मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको सुदृढीकरण गर्ने।
७. Blood bank को स्थापना गर्ने।
८. स्वास्थ्य बीमा बोर्डसँग समन्वय गरी राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन गर्ने।
९. बेसिक साइन्स प्रयोगशाला, पुस्तकालय तथा शैक्षिक पूर्वाधारको थप विकास गर्ने।
१०. विशेषज्ञ चिकित्सक, प्राध्यापक तथा स्वास्थ्यकर्मीको आवश्यक पदपूर्ति प्रक्रिया अगाडि बढाउने।
११. शिक्षण अस्पताललाई चरणबद्ध रूपमा ५०० शैय्या क्षमतामा विस्तार गर्ने।
१२. स्वास्थ्य सेवा, चिकित्सा शिक्षा तथा अनुसन्धानबीच प्रभावकारी समन्वय स्थापित गर्ने।
१३. विश्वविद्यालयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको सक्षम स्वास्थ्य विज्ञान शिक्षण तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना केवल एउटा शैक्षिक संस्था वा अस्पतालको विकासमा सीमित छैन। यो सुदूरपश्चिम प्रदेशका नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने, चिकित्सा शिक्षाका अवसर सिर्जना गर्ने, दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने तथा प्रदेशको समग्र स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउने दीर्घकालीन राष्ट्रिय महत्त्वको पहल हो।
विश्वविद्यालय स्थापना र सञ्चालनको प्रारम्भिक चरणमा जनशक्ति, आधुनिक उपकरण, वित्तीय स्रोत तथा संस्थागत व्यवस्थापनका चुनौतीहरू रहनु स्वाभाविक हो। तथापि, उपलब्ध स्रोत साधनको प्रभावकारी उपयोग, योजनाबद्ध सुधार, पारदर्शी व्यवस्थापन तथा सरोकारवाला बीचको सहकार्यबाट यी चुनौतीहरू क्रमशः समाधान गर्दै अगाडि बढ्ने प्रतिबद्धता रहेको छ।
विश्वविद्यालयको उद्देश्य विगतका कमजोरीमा दोषारोपण गर्नु नभई ती कमजोरीबाट सिक्दै संस्थागत सुधार, सेवा विस्तार र गुणस्तरीय चिकित्सा शिक्षाको विकासलाई निरन्तरता दिनु हो।
यस अभियानमा नेपाल सरकार, सुदूरपश्चिम प्रदेश सरकार, स्थानीय तह, विश्वविद्यालय नेतृत्व, प्राध्यापक, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, नागरिक समाज, सञ्चारकर्मी तथा सम्पूर्ण सरोकारवालाको रचनात्मक सहयोग र सहकार्य महत्त्वपूर्ण रहनेछ।
हाम्रो लक्ष्य स्पष्ट छ: सुदूरपश्चिमका नागरिकले गुणस्तरीय उपचारका लागि प्रदेशबाहिर जानुपर्ने बाध्यतालाई क्रमशः न्यूनीकरण गर्दै आफ्नै प्रदेशमा उत्कृष्ट स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको अवसर उपलब्ध गराउने।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय
सुदूरपश्चिम प्रदेश, गेटा, कैलाली, नेपाल