काठमाडौं- ब्लड बैंकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदान गर्न रक्तदातालाई विशेष आग्रह गरेको छ ।
दसैँको बिदासँगै केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रम कम भएको र अस्पतालमा उपचाररत बिरामीका लागि रगतको माग उच्च हुँदै गएकाले रक्तदानका लागि आग्रह गरिएको हो ।
'रक्तसञ्चार केन्द्रमा सबै समूहको होल ब्लड, प्याक्ट रेड ब्लड सेल (पीआरबीसी) र प्लेटलेट्स (पीआरपी) को मौज्दात सकिएको छ,' नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डा. प्रकाश यादवले भने, 'यसले गर्दा बिरामीका लागि आवश्यक रगतको व्यवस्थापन गर्न कठिनाइ भएको छ ।'
उनले रक्तदान गरेको तीन महिना पूरा भएका स्वयंसेवी रक्तदाता तथा १८ वर्ष उमेर पूरा भएका स्वस्थ युवायुवतीलाई रक्तदान गर्न अनुरोध गरेका छन् ।
चाडपर्वका कारण कार्यालय तथा शैक्षिक संस्थामा बिदा हुँदा रक्तदान कार्यक्रम कम भएको र त्यसले रगतको सहज व्यवस्थापनमा कठिनाइ सिर्जना गरेको उनको भनाइ छ ।
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीले पनि स्वयंसेवी रक्तदाता तथा विभिन्न संघसंस्थालाई रक्तदानका लागि आह्वान गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटीले देशका ७३ जिल्लामा १२० स्थानबाट रक्तसञ्चार सेवा केन्द्र तथा एकाइमार्फत सेवा सञ्चालन गरिरहेको छ ।
बिरामीका लागि रगत आवश्यक परेमा वा रक्तदान गर्न चाहनेले केन्द्रीय रक्तसञ्चार सेवाको फोन नम्बर ०१-५३८८४८५, ०१-५३८८४८६ वा नेपाल रेडक्रसको निःशुल्क हटलाइन नम्बर ११३० मा सम्पर्क गर्न सक्नेछन् ।
त्यसैगरी, मोबाइलको प्लेस्टोरबाट ‘NRCS BTS’ एप डाउनलोड गरेर पनि रक्तसञ्चार सेवासम्बन्धी जानकारी लिन सकिने नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।