शान्ति भण्डारी 'निगाह'
जीवन धकेलिएको शरीर
अस्ताउदै गरेको त्यो पहाडको सूर्य
काधको भारी बिसाएको त्यो खम्बा
थकित अनुहारमा थुप्रिएको त्यो हाडमासु
मेरो ढाडसमा पुलुक्क बिउझन्छ
अनि
सेतो पहिरनले सहाराको आभाष गराउँछ
हरियो तन्ना फेर्दै बासँग दुईचार बात हुन्छन
बेहोसिका नशाहरू चलायमान हुन्छन
घुम्रिएका औलाहरू सल्बलाउँछन
स्थेथोसकपले छाम्दा मुटुका गतिहरू चल्छन
मेरा नयनहरूमा सहर्सका आँशुहरू तप्प चुहिन्छन
अनि
मेरो कर्तव्य सफल भएको अनुभूतिहरू जाग्छन
बृद्दा वार्ड र बेडको व्यवस्था छैन रे
अलि पर कुनाबाट खोक्दै आवाज निस्कन्छ
पल्लयाकपुलुक भित्तातिर मेरा आखॉहरू डुल्छन
अपशोच लेखिएको कतै पाउँदिन
आत्तिएको मनलाई एकैछिन सम्हाल्छु
छुट्टै व्यवस्था गर्ने एकोहोरो संकल्प गर्छु
निदाएको बाको अनुहार मुलुक्क हेर्छु
रातो मार्करले भित्तामा अक्षरहरू कोर्छु
अनि
आफ्नो पेशालाई मनैदेखि सलाम गर्छु
हो त्यसैले
बुढेसकालका अनुहारहरूप्रति मेरो करूणा छ
उहाँहरूको भलाकुसारीहरूमा प्रेरणा छ
हामि सेतो पहिरनका नर्सहरूमा सेवाको भावना छ
वृद्धाहरूको छुट्टै स्वास्थ्य सेवा प्रवाहको चाहना छ
हाम्रो ड्युटि साँच्चिकै नमुना छ
सवै वर्गलाई आफ्नोपना छ
हाम्रो सेवामा सहाराको समर्पन छ
र
ती वृद्धा बा आमाको सुस्वास्थ्यको कामना छ।
-(शान्ति भण्डारी 'निगाह' वीर अस्पतालकी रेसिडेन्स नर्स हुन्)