डा अनिल रेग्मी
प्रणय सप्ताहको अवसरमा पछिल्लो एक साता सामाजिक सञ्जालमा छुट्टै रौनक थियो। यो हप्ताभरि सामाजिक सञ्जालका भित्ताहरु गुलाबका फूलहरुले राताम्य बने, प्रेम प्रस्तावहरुले उत्साहित बने, चकलेटहरुले स्वादिलो बने, टेडिहरुले न्यानो बने, कसमहरुले विश्वसनीय बने। अंगालोहरुले आत्मीय बने, चुम्बनहरुले आकर्षक बने, अनि आज प्रणय दिवस पवित्र बन्यो। सबै एकाअर्काप्रति समर्पित जोडी देख्दा, मलाई पनि मैले आफ्नो सम्पूर्ण जवानी र लगानी समर्पण गरेर कमाएको मेरी उनीप्रति समर्पित भएर, विगतका जसरी नै प्रणय दिवसको उपहार स्वरुप एउटा पत्र लेख्न उत्साह मिल्यो। चिसिएको सम्बन्ध न्यानो बनाउने कोशिस गर्दै यो पत्र लेख्न गइरहेको छु। स्वीकार गर।
यसरी पत्रमा प्रिय लेखेर सम्बोधन गर्नु समयसापेक्ष रुपमा हेर्ने हो भने अहिलेको अवस्थामा जायज हुन्छ या हुँदैन, थाहा छैन। तर, आफू शब्द चयनमा कमजोर भएकै कारण, यो पत्र सुरु गर्नु अगाडि उक्त प्रिय शब्द नलेखी सुरु गर्दा, खल्लो लाग्यो अनि, त्यसको सट्टामा प्रयोग गर्ने कुनै शब्द नै भेटिनँ। त्यसैले यसबाट आउने भवितव्यको प्रवाह नगरी प्रिय सम्बोधन गरेर पत्र लेख्दैछु। रिसानी माफ।
प्रिय, हामी सम्पर्कविहीन भएर, सम्बन्धमा चिसो पसेको पनि महिनौं बितेछ। मलाई अँगालेर मेरो ढुकढुकी सुन्न नपाएकोमा वा कयौं मानिसको ढुकढुकी मलाई सुनाउन नपाएकोमा तिमिलाई न्यास्रो लाग्छ होला। कोठाको एउटा कुनामा तिमीलाई अलपत्र छाडेर, महिनौं दिनसम्म पनि नबोलाउँदा वा अँगाल्न नआउँदा तिम्रो मन दुख्छ होला। महिनौंदेखि बेवास्ता गरेर, तिम्रो शरीरभरि धुलो टाँसिएर तिम्रो सुन्दरतामा कुरुप आउँदा, कमसेकम धुलो मात्र भए पनि पुछिदिन नआउँदा तिमीलाई रिस उठ्छ होला। जतिबेलै आफ्नै आँखा अगाडि देख्दा पनि आफूलाई बेवास्ता गरेर हरक्षण अन्यत्र भुलेको देख्दा, आफ्नो समय कटौती भएर, शून्य समय पाएकोमा तिमीलाई इर्ष्या लाग्छ होला।
तर प्रिय, तिमीलाई त्यो अलपत्र अवस्थामा छाडेर म, हाम्रो सम्बन्ध अनि जिम्मेवारीबाट पन्छिन खोजेको त छैन नि। तिमीले सुन्न नपाएको ढुकढुकी मैले पनि त सुन्न पाएको छैन। तिमिले मलाई अँगाल्न नपाएकोमा तिमीले जति मन दुखाएको छौ, त्यत्ति नै वा त्योभन्दा बढी त म तिमीलाई अँगालोमा बेर्न नपाएकोमा निरास छु। तिम्रो शरीरमा पुछ्न नभ्याएर टाँसिएको धुलो र मेरो अनुहारमा काट्न नभ्याएर झाँगिएको दारी हेर्न सक्छौ। प्रसंग फरक भए पनि हामी दुवैको हालत उस्तै छ। अनि अहिले तिम्रो समय कटौती गरेर, अन्यत्र पढाइमा खर्चिनु मैले मेरो मात्र स्वार्थ देखेको त छैन नि, यो मेहनत त हाम्रो सम्बन्ध अझ प्रगाढ बनाउन, प्रेम उत्सर्गमा पुर्याउन, अनि नाता समयसापेक्ष बनाउन गरेको कोशिस नै त हो। समय व्यवस्थापन गरेर, सबै कुरा समानान्तर लैजान नसक्नु मेरो कमजोरी हो, म मान्छु। तर त्यही कुराले हाम्रो सम्बन्धमा ठेस पुगोस् भन्ने चाहना मेरो कत्ति पनि हैन। यो कुरा त तिमीले पनि महसुस गर्न सक्छौं होला।
सम्बन्ध जति नै स्वस्थ भए पनि, बेलाबखत सम्बन्धमा असमझदारी आउने रहेछन् नै। त्यस्तै नियति हामीले हाम्रो सम्बन्धमा पनि भोग्नु पर्यो। तिमी मलाई साथमा लिएर खुला पक्षी झैं संसारभरि उड्न चाहन्थ्यौ। तिमी देश-विदेश घुमेर विश्वभरिका मानिसको ढुकढुकी सुन्न चाहन्थ्यौ। तिमी सूक्ष्म स्तरमा गएर रोगको निदानमा पुग्न चाहन्थ्यौं। तिमी विश्वव्यापी रुपमा मान्यता पाएका अन्तर्राष्ट्रिय पद्धति अनुसार उपचार गर्न चाहन्थ्यौं। आफ्नो वृद्दिविकास बढाउन कुनै बाधा नआओस् भन्ने चाहन्थ्यौ। आफ्नो अगाडिको सम्पूर्ण ढोका सदैव खुला होस् भन्ने चाहन्थ्यौ। विश्वव्यापी रुपमा आफ्नो प्रभाव पारेर आफ्नो कार्यक्षेत्र फराकिलो बनाउन चाहन्थ्यौ। जुन तिम्रो त्यो मनसाय पनि प्रगतिशील बजारमा गलत विल्कुलै थिएन।
तिमीले आफ्नो जीवन मप्रति समर्पित गरेपछि ममा नै संसार देख्नु र मसँग मात्र जोडिएको भविष्यको सपना देख्नु पनि स्वभाविक थियो। मैले पनि तिमीलाई मेरै संसारमा देखेको थिएँ। तर, मेरो संसारमा तिमी लगायत मेरा बुबाआमा, आफ्ना आफन्त, साथीभाइ, इष्टमित्र, यहीँको माटो अनि यहीँ छट्पटाइरहेका बिरामी पनि मेरो संसारमै अट्थे। तिमीलाई समेटेर यी सबैलाई मैले संसार देख्थें, अनि यही संसारमा केही गर्नुपर्छ भन्ने लाग्थ्यो र यही माटोमा नै भविष्य देख्थें। मलाई आफ्नो कर्तव्य र जिम्मेवारीले बाँध्न थाल्यो, अनि तिम्रो चाहना विपरीत आफ्नै अडान लिएर, देशमै बस्ने निर्णय लिन पुगें। म महसुस गर्न सक्थें मेरो निर्णयले हाम्रो कार्यक्षेत्र साँघुरिन पुगेकोमा तिमी निरास पक्कै थियौ। तिमीलाई निरास बनाएको मेरो उक्त निर्णयप्रति म क्षमा चाहन्छु।
तिमीले आफैं मलाई केही कुरा व्यक्त गर्न नसके पनि विभिन्न प्रपन्च रचेर मलाई विदेशिन आग्रह गरिरहेको हुन्थ्यौ। कहिले बिरामीको उपचारको क्रममा मृत्यु भए फौजदारी अभियोग लाग्ने मुलुकी ऎनको धम्की दिएर। कहिले, बिना कसुर दोषी करार गर्दै करोडौं क्षतिपूर्ति माग गरेर हालिएका मुद्दाको उदाहरण सहित डर देखाएर। कहिले, हस्पिटल तोडफोडका घटना अनि स्वास्थकर्मी कुटिएका घटना देखाउँदै त्रास फैलाएर। कहिले बिरामी पक्षको गाली सुनाएर, कहिले मौलाएको भीडतन्त्र देखाएर। कहिले कानुनी राज्यको खिल्ली उडाएर। कहिले बढ्दै गएको लासको व्यापारीकरण देखाएर। कहिले आफ्नै पेसा भित्रका अग्रजहरुले कायम गरेर राखेको सिन्डिकेटको जालो देखाएर। कहिले, विदिशने तयारी गर्दै गरेका साथीहरुको सम्पर्कमा पुर्याएर, उनीहरुको सल्लाह ग्रहण गर्न लगाएर मलाई प्रभाव पार्न खोजिरह्यौ। तर म आफ्नो अडानमा अडिग रहिरहें।
तर प्रिय, बेलाबेलामा "चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु", "हिँडेर गएका बिरामीको उपचारका क्रममा मृत्यु", "हस्पिटल हाता भित्रै ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि हातपात" जस्ता हेडलाइनमा समाचार सम्प्रेषण हुँदा, अनि हस्पिटल हाता भित्रै, "हत्यारालाई फासी दे", "मान्छे मार्न पाइँदैन", "हस्पिटल बन्द गर", भन्दै नारा लागेर, हरेक लासमाथि राजनीति गर्दै, लासको व्यापारीकरण हुने खराब नजिर बस्दै जाँदा, तिमीसँग जोडिएको सम्बन्धको कारण मेरो जीवन जोखिमपूर्ण अनि भविष्य धरासायी देखेपछि तिमीले विदेशिन अनि उतै सुरक्षित अवतरण गर्न दिएको इसारा सार्थक लाग्थ्यो। तर, देशको त्यो नाजुक अवस्था हेर्दा केही क्षण भावनामा बहकिए पनि अन्त्यमा देशमै केही गर्न सकिन्छ र गर्नुपर्छ भन्ने सोच कहिल्यै हटेन, र देशमै बस्ने निर्णयमा अडिग रहें। मेरो उक्त निर्णयमा तिमीले केही गुनासो व्यक्त नगरे पनि, म महसुस गर्न सक्थें, मेरो त्यो निर्णयमा तिमी सम्झौता गरेरै भए पनि उक्त निर्णय स्वीकार्न विवश थियौ।
देशको स्वास्थ स्थिति कस्तो छ भनेर, कयौं पटक मेरो गलामा झुन्डिएर वार्डको राउन्डमा जाँदा त्यहाँको अवस्था महसुस गर्यौ होला। मेरै अँगालोमा बेरिएको बेलामा गुणस्तरीय सेवा दिन नसक्दा बिरामी र बिरामी पक्षले राख्ने गुनासो, उनीहरुले दिएको गाली सुनेकै छौ। अनि त्यो गाली दिने अनुहारका रिस पनि देखेकै छौ होला।
मृत्यु शय्यामा घिटिघिटी लडिरहेका बिरामीको शरीर सुम्सुम्याउँदै, उनीहरुको रोगको अवस्था अनि त्यसको गम्भीरता पनि तिमीले देखेकै छौ होला। मेरो अँगालोबाट ओर्लिएर केही क्षण टेबुलमा बसेर, छेउमा मैले हस्ताक्षर गरेका कयौं 'डेथ सर्टिफिकेट' पनि तिमी टुलुटुलु हेर्न विवश थियौ। यसबाट पनि अनुमान गर्न सक्छौ कि नेपालको स्वास्थ अवस्था कस्तो छ। अनि के म यो अवस्थाको बारेमा नजिकबाट सम्पूर्ण कुराको बारेमा जानकार हुँदाहुँदै, आफ्नो मात्र सुरक्षित अवतरण खोज्दै, तिमी बाहेकको मेरो संसारमा स्थान पाएका मेरा बुबाआमा, आफ्ना आफन्त, साथिभाइ, अनि यहाँका बिरामीलाई यहीँ त्यही अवस्थामा अलपत्र पारेर, चलिआएको स्वास्थ सेवाको हातमा छेडिदिएर म आफ्नो मात्र सोचेर म त्यो जिम्मेवारीबाट भाग्न मिल्छ? आफूलाइ यहाँको स्वास्थ प्रणाली चित्त नबुझेरै आफू बाहिरिँदा, यही चित्त नबुझेको स्वास्थ प्रणालीको हातमा मेरा बुबाआमाकै जीवन सुम्पिन मलाई मेरो नैतिकताले दिन्छ?
हो, देशमा अहिले घटिरहेको घटनाक्रम, स्वास्थ सम्बन्धी विषयमा उठाइएका मुद्दा, अनि यहाँका मानिसको प्रवृत्ति हेर्दा यो निचोडमा पुग्न सकिन्छ कि, कयौं नेपालीको चेतनाको स्तर न्यून छ। सत्यतथ्य नबुझी हल्लाको पछि दौडने बानी छ। हल्लाको भरमै कसैलाई दोषी करार गर्ने स्वभाव छ। भीडतन्त्रकै आवाज निर्णायक हुन्छ भन्ने सोच यथावत् नै छ। अनि हुलदंगा गरेर कानुन आफ्नो हातमा लिन सकिन्छ भन्ने खराब नजिर मौलाउँदो छ। तर के अब रहेका मानिसको चेतनास्तर यस्तै छ। चलिआएको चलन यस्तै भन्दै आफू मात्र यहाँबाट पन्छिने कि, यहाँका मानिसको चेतनाको स्तर उकासेर, सोचमा परिवर्तन ल्याएर, स्वास्थ सेवा विश्वसनीय, गुणस्तरीय अनि प्रभावकारी बनाउन लाग्ने? पक्कै पनि ज्ञान, सिप, सोच, बानी, स्वभाव त जन्मसिद्ध कसैको हुँदैन, सबैले जन्मेपछि नै आर्जन गर्ने हो। ती परिवर्तनशील कुरामा परिवर्तन ल्याउन सकिन्छ कि भनेर कोशिस गर्न त सकिन्छ होला नि, हैन?
घरीघरी तिमीले गुनासो पोख्थ्यौ- यहाँ त अवसर पनि छैन, सिन्डिकेटको जालो मौलाएको छ, राम्रो ठाउँमा प्रवेश पाउनै सकिँदैन। तर तिमी भन त प्रिय, के विदेश पस्ने बित्तिकै अवसर आफ्नो अगाडि ठिक्क परेर बसेको हुन्छ र? त्यहाँ पुग्न गरेको मेहनत अनि त्यहाँ अवसर खोज्न गरेको जति मेहनत, लगानी र खर्चिएको समय, यहीँ खर्च गरेपछि त यहीँ पनि अवसर भेट्न सकिन्छ होला नि हैन र? अवसर खोज्दै नखोजी भेटिएन भन्न मिल्छ र? सिन्डिकेटको कुरामा त हामी, नेपालमा नाम चलेका एकदम नामी चिकित्सकसँग आफूलाई दाज्न पुग्छौं, अनि उहाँहरुको व्यक्तित्व हेरेर इर्ष्या गर्छौं। उहाँहरुले यहाँसम्म आइपुग्न तत्कालीन आफ्नो समयमा गर्नुभएको मेहनत र संघर्षको नजरअन्दाज गर्दै अहिले कायम रहेको व्यक्तित्व हेरेर आफूसँग दाजेर इर्ष्या गर्न मिल्छ र?
साँच्चै छातीमा हात राखेर एउटा कुरा मनन गर त प्रिय, आफ्नो घर चुहिने छ भन्दैमा सधैं छिमेकीको घरमा ओत माग्नु बुद्धिमानी हुन्छ कि सम्भव भएसम्म दुखसुख गरेर आफ्नै घर मर्मत गरी सधैंका लागि सुखीसँग बस्ने वातावरण बनाएर आफ्नै घरमा जीवन ब्यतित गर्नु बुद्धिमानी हुन्छ? प्रलय नै भयो भने परिस्थिति भिन्नै हुनसक्छ, नत्र यहींको प्रणाली सुधार गर्दै अवसर यहीँ बनाउन सकिन्छ नि। भविष्य यहीँ खोज्न सकिन्छ नि। अझै यहीँको स्वास्थ प्रणाली उकासेर, सेवा गुणस्तरीय, भरपर्दो बनाउन सकिन्छ नि। अवसर यहीँ छ, भविष्य यहीँ छ। मात्र अहिलेको परिस्थिति र समय ठिक नचलेको मात्र हो। यो ठिक नचलेको परिस्थिति र समयलाई ठिक बनाउने जिम्मा हाम्रो काँधमा पनि आएको छ, नकि यहीँबाट पन्छिएर आफ्नो बारेमा मात्र सोच्दै हिँड्नलाई।
खैर, ती त भए हाम्राबीच रहेका केही असमझदारीका प्रस्टीकरण। बोलीमा मात्र बोलेर, व्यवहारमा नउतारी कुनै कुरा पनि सार्थक हुँदैन। सधैं यही तहमा रहेर, मैले गरेका अठोट पूरा गर्न पनि सम्भव छैन। अनि अहिलेको बजार हेर्दा नेपालमा उच्च शिक्षा हासिल गर्न पनि निकै प्रतिस्पर्धा छ। त्यसैको लागि चाहिने मेहनत र संघर्षको नजरअन्दाज गर्नै मिल्दैन। त्यही कुरालाई ध्यानमा राख्दै आजकाल म त्यही संघर्षको बाटोमा तिमीलाई विशेषज्ञताको परिचय दिने तयारीमा जुटेको छु। अनि आफूले अँगालेका हरेक कुरालाई सतप्रतिशत प्रयास गर्नुपर्छ भन्ने मान्यता राखेर, नचाहँदा नचाहँदै आजकाल सम्पूर्ण ड्युटीहरुमा बिदा मागेर अस्पताल नगई घरमै बसेर स्व:अध्यनमा तल्लीन छु।
यसैको कारण केही समयको लागि हस्पिटलको आवजजावत घट्दो छ। बिरामीहरुसँगको सम्पर्क पातलिँदो। जसको प्रत्यक्ष असर हाम्रो सम्बन्धमा परेको छ, जसले गर्दा मैले तिमीलाई दिँदै गरेको समय पनि कटौती भएको छ। सम्पर्क पातलिँदो छ, सम्बन्ध चिसिएको छ, अनि हामी बीचको असमझदारी अझ बढ्दो। तर, हतोत्साहित नहोउ प्रिय, अबको केही महिनामै हाम्रो सम्बन्ध अझै आधिकारिक, अझै विशेषत, अझै सुनिश्चित, अझै समयानुकूल, अझै प्रभावशाली, अझै प्रगाढ बनाएर फ़ेरि हाम्रो सम्बन्धलाई नयाँ स्थापित परिचय दिनेछौं। त्यसपछि फ़ेरि नजिकिने छौं हामी, सम्बन्ध अझै सुमधुर बनाएर। र, तिमीले हाम्रो सम्बन्धको लागि मलाई त्यति समय उपलब्ध गराउन कुनै कन्जुस्याईं गर्ने छैनौ भन्नेमा पनि म विश्वस्त छु।
तिमी पनि कल्पना गर त त्यसपछिको त्यो क्षण। कुनै एउटा ठूलो संस्थामा अझ उपल्लो दर्जाको परिचय बोकेर, तिमी मेरो गलामा बेरिएर, देब्रेपट्टि मुटुमाथि आफ्नो शीर अड्याएर, दाहिने छातीमा हातहरुले अँगाल्दै, मेरो ढुकढुकी सुन्दै अनि बेलाबेलामा आफ्नो शीर कयौं मानिसको छातिमा पुर्याएर तिनीहरुको मनको ढुकढुकी सुनाउँदै, विशेषज्ञताको ओहदातर्फ लम्किँदै गरेको हुनेछौ। अनि त्यसपछि त जीवनभरि कहिल्यै नछुट्टिने गरी, चौबीसै घण्टा मेरो समिपमा रहेर, हर क्षण सुखदुःखका कुरा साटासाट गर्दै, एउटै पाइला बनाएर जीवनमा अघि बढ्नु हामी दुवैको लागि पनि त हर्षको विषय हो नि।
तिमीसँग सम्बन्ध गाँसेर रोजेको यो बाटो कठिन अवश्य छ, तर असम्भव पक्कै पनि छैन। जीवनको यात्रामा सहयात्री बनिदिन आएकोमा धन्यवाद अनि मैले रोजेको बाटोको गन्तव्यसम्म पुग्न सधैं साथ, सहयोग र हौसला दिनेछौं भन्ने आश गर्दै यो कुरा पनि आत्मसात गर्छु कि, आफ्नो कार्यक्षेत्रको मर्यादा भित्र बसेर जीवनमा तिमीलाई आफ्नो बनाउन अगाडि गरेको बाचा, "हिप्पोक्रेटिक ओथ"को सम्मान गर्दै उक्त बाचा निभाउन कुनै कसुर बाँकी राख्ने छैन। र, आज यो पवित्र दिनमा गरेको बाचा आजन्म भुल्ने पनि छैन।
उहीँ,
सधैं सँगै हुने तर कहिले आफैंमा हराउने मान्छे।
त्यसरी हराउँदा रिसायौं कि भन्दै डराउने मान्छे।
पूरै जवानी र लगानी खर्चेर आर्जेको तिमीलाई,
म उही तिमीलाई बालापनदेखि मन पराउने मान्छे।
यो पनि