यतिबेला विश्वभरि नै कोरोना भाइरसको त्रास छ। सुरुमा चीनमा देखिएको यो भाइरसले विस्तारै धेरै देशमा प्रभाव पार्न थालिसकेको छ।
हरेक दिन ज्यान गुमाउने र नयाँ संक्रमण हुने व्यक्तिको संख्यामा पनि वृद्धि भइरहेका समाचार अन्तर्राष्ट्रिय सञ्चार माध्यम प्रसारण गरिरहेका छन्।
विश्व स्वास्थ्य संगठनले यो भाइरसलाई कोभिड–१९ नामकरण गर्दै उच्च सर्तकता अपनाउन हरेक दिन प्रेस कन्फ्रेन्समार्फत अनुरोध गर्दै आएको छ। संगठनले स्वास्थ्यका हिसाबले कमजोर व्यवस्थापन भएका अफ्रिकी र नेपाल जस्ता देशलाई पूर्वतयारी गर्दै सजग रहन सचेत गराइरहेको छ।
यो भाइरस विकासोन्मुख वा कमविकसित देशमा प्रवेश ग¥यो भने त्यसबाट निम्तिने असर कल्पना गर्न नसकिने हुने छ। यो चिन्ताको विषय हो।
चीन जस्तो देशको त पछिल्लो चार महिनाको समय भाइरससँग लड्दैमा बितेको छ। उच्च स्रोत–साधन, यथेस्ट चिकित्सक र सकेसम्मको तयारी गर्दागर्दै त्यहाँ हरेक दिन नयाँ बिरामी देखिइरहेका छन्।
चीनपछि अहिले दक्षिण कोरियामा कोरोना भाइरस संक्रमणको दरमा वृद्धि भइरहेको छ। के बिर्सन हुँदैन भने कोरियामा हाम्रा नेपालीको संख्या पनि उच्च छ।
समग्रमा भन्नुपर्दा, विश्वका शक्तिशाली मानिएका देशहरु कोरोना भाइरसको संक्रमणबाट बच्न हरसम्भव प्रयासमा जुटेका छन्। यो भाइरसको संक्रमण र यसको प्रभावको चिन्ताले ती देशका नागरिकको त्रास बढाएको छ।
ढुक्क त हाम्रो देशका सरकारी नेतृत्वलाई पो छ। नेपालमा भ्रमण वर्ष २०२० चलिरहेका बेला साँध जोडिएको देशबाट भाइरसको उत्पत्ति भएको छ। र, हाम्रा धेरै पर्यटक आउने पनि त्यही छिमेकी देशबाट हो।
पारि छिमेकमा विपत्को आतंक मच्चिँदा हामी त कोरोना फ्री जोनमा छौँ भन्दै मख्ख परिरहेका छौँ। हाम्रो नेतृत्वपंक्तिले यति गम्भीर विषयलाई हल्का रुपमा लिइरहेको छ।
रोग वा कुनै संक्रमण बाजा बजाउँदै त आउँदैन। आइहाल्यो भने नेपालले कोरोनाको प्रतिवाद गर्नका लागि त्यही अनुसारको मानसिक तयारी पनि गर्नुपर्ने हुन्छ।
केही दिनअघि पर्यटनमन्त्री योगेश भट्टराईले नेपालमा कोरोनाको डर नभएको र नेपाल कोरोना फ्री जोन भएको प्रतिक्रिया दिएका थिए। उनले यसो भन्नुको आधार भने केही छैन।
उनको यो हल्का प्रतिक्रिया आएको २४ घन्टा नबित्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले पत्रकार सम्मेलनमा कोरोना फ्री जोन भन्न नमिल्ने बताएका थिए। उनले भाइरस चीनबाट मात्र नभई अमेरिका, कोरिया, जापान वा अन्य देशबाट समेत भित्रन सक्ने खतरा यथावत् रहेको संकेत गरेका थिए।
नेपालमा पछिल्लो समय रहेक दिन केही न केही राजनीतिक उथलपुथल भइरहेको छ। कहिले महरा कान्ड त कहिले ललिता निवास जग्गा प्रकरण, वा कहिले सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोडको बार्गेनिङ कान्ड।
सरकारका व्यक्ति वा हामी जनता यस्तै विषयमा हरेक दिन अल्झिरहेको यो अवस्थामा कोरोना भाइरस नेपालमा देखियो भने के गर्ने भन्नेतिर ध्यान पुग्न सकेको छैन।
सञ्चारकर्मीले तयारीबारे प्रश्न गरे भने जे मन लाग्यो त्यही बोलेर हल्का बनिदिने तर त्यसले निम्त्याउन सक्ने जोखिमबारे सोच्न पनि नचाहने बानीले भोलिका दिनमा ठूलो विपद नल्याउला भन्न सकिँदैन।
‘नेपालीलाई रुघाखोकी लाग्नु सामान्य हो। नुन–बेसार पानी खाएर ठिक हुन्छ’ जस्ता स्वास्थ्य तथा जनसंख्यामन्त्रीका प्रतिक्रियाबाटै स्वास्थ्य मन्त्रालय कति गम्भीर छ भन्ने अनुमान लगाउन सकिन्छ।
कुनै पनि विपत्बाट बच्न पूर्वतयारी गर्नु भनेको विपत् आइसक्यो भन्ने अर्थमा बुझ्न हुँदैन।
यसअघिका कैयौं घटना हेर्ने हो भने पनि नेपालीहरु भगवान् भरोसामै बाँचेको देखिन्छ। होइन भने पूर्वतयारी गर्न केले रोकेको छ? स्थिति सामान्य नै भए त राम्रै होला, भयावह नै भयो भने हाम्रो क्षमताले त्यसलाई व्यवस्थापन गर्न सकिएला?
हाम्रा कति अस्पतालमा आइसोलेसन वार्ड छन्? कति स्वास्थ्यकर्मीले जाँच गर्न सक्छन्? कुनकुन अस्पतालमा त्यसको व्यवस्था गरिएको छ? संक्रमण भएका बिरामी कतिलाई बचाउन सकिएला? यस्ता विषयमा खासै तयारी भएको छैन।
बरु कोरोना फ्री देश भन्दै विज्ञप्ति जारी गरेर पर्यटक भित्रउन खोजिरहेको छ हाम्रो नेतृत्व। अहिले पनि निर्वाध रुपमा चिनियाँ पर्यटक नेपाल भित्रिरहेका छन्। अन्य देशबाट पनि आइरहेका छन्।
यी व्यक्ति पनि देशभित्र कोरोना भाइरस भित्र्याउने वाहक सक्छन्। भ्रमण वर्ष आगामी वर्ष पनि मनाउन सकिन्छ। तर संक्रमण फैलियो भने हाम्रो देशको कमजोर स्वास्थ्य प्रणालीले कसरी थेग्ला?
हाम्रो विमानस्थलमा राखिएको थर्मल स्क्यानरले कति धानेको छ। विमानस्थलबाट यात्रुको भीड एकै पटक निस्कँदा स्क्यानरको उपयोग भएको छ कि छैन, जाँच गरिएको छ?
विश्व स्वास्थ्य संगठनले कोरोनो भाइरस संक्रमण हुने अवधि न्यूनतम दुई हप्ता भनेको छ। तर, नेपालमा भने देश बाहिरबाट आएका व्यक्तिलाई विमानस्थलमा स्वास्थ्य जाँच गर्दा शरीरको तापक्रम बढेको देखियो भने मात्र उपचारका लागि पठाउने गरिएको छ।
विमानस्थलमा जाँच गर्दा शरीरमा तापक्रम बढेको देखिएन तर दुईहप्ताभित्र त्यो व्यक्तिमा लक्षण देखियो भने के गर्ने? यस्तो अवस्थाले ठूलो जोखिम निम्त्याउन सक्छ।
कोरोना भाइरस संक्रमणको प्रतिरोधका लागि तयारी नभएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार चासो व्यक्त गरेको छ।
विश्व स्वास्थ्य संगठनले आफ्ना सदस्य राष्ट्रहरुलाई कोरोना भाइरसको आक्रमक प्रतिरोधका लागि एकजुट भएर लाग्न र पूर्व तयारीका लागि समेत आग्रह गरिरहेको छ।
कमजोर स्वास्थ्य प्रणाली रहेका मुलुकहरूमा कोरोना भाइरसको सम्भावित संक्रमण र त्यसको रोकथाम र नियन्त्रणका लागि संगठनले चासो बढाएको छ।
डिसेम्बरमा चीनबाट सुरू भएको कोभिड–१९ ले अहिलेसम्म दुई हजार ४ सयभन्दा बढी चिनियाँको ज्यान लिइसकेको छ। ७५ हजार बढीमा संक्रमण भएको पुष्टि भइसकेको छ।
चीन बाहिर पनि इरान, फिलिपिन्स, दक्षिण कोरिया, जापानमा रोगको संक्रमण फैलिने क्रम बढ्दो छ। संगठनका अनुसार चीन बाहिर अहिलेसम्म करिब एक हजार १५० व्यक्तिमा भाइरसको संक्रमण पुष्टि भइसकेको छ।
त्यसैले हल्का टीका–टिप्पणी र प्रतिक्रिया दिनुभन्दा देशभित्र संक्रमण छिर्नै नदिने उपाय र जोखिम आइहाल्ने कसरी व्यवस्थापन गर्ने भन्नेतिर सोच्ने कि?