उत्तमबाबु श्रेष्ठ
कोरोना भाइरस (कोभिड १९) मुख्यतः तीन तत्त्व आरएनए, प्रोटिन र लिपिड (एक प्रकारको बोसो) मिलेर बनेको सुक्ष्म कण (एक इन्चलाई दशलाखले भाग गर्दा जति आउँछ लगभग त्यत्रै साइजको) हो। यसको बाहिरी आवरणमा लिपिड हुन्छ। आरएनएले भाइरसको अनुवंश (जिन) प्रसारित गर्दछ, जसरी मानिस वा अन्य जनावरहरूमा डिएनएले गर्दछ।
प्रोटिनले मानिस वा अन्य जनावरमा यसलाइ सार्न मद्दत गर्छ। यसरी सर्नुलाई नै हामी संक्रमित हुनु भन्छौं। यसको प्रोट्रिन क्राउन (मुकुट) आकारकै हुने भएकाले यसलाई कोरोना भाइरस भनिएको रहेछ।
लिपिड अर्थात् बोसो हाम्रो छाला जस्तो यसको सुरक्षा कवच भइहाल्यो। हामीले मासु खाँदा हातमा लागेको बोसो पखाल्न साबुनको प्रयोग गर्छौं। साबुनमा भएको रसायनले बोसोको अणुलाई ध्वस्त गर्छ र हातमा लागेको बोसो जान्छ र हात सफा हुन्छ। त्यसरी नै साबुन पानीले हात धुँदा कोरोना भाइरसको बाहिरको बोसोले बनेको आवरण ध्वस्त हुन्छ।
यदि तपाईंको हातमा कोरोना भाइरस कतैबाट आएर बसेको छ भने यसरी साबुनपानी हात धोएपछि कोरोना भाइरसको सुक्ष्म कण निस्प्रभावी बन्छ। त्यसैकारण स्वास्थकर्मी/विज्ञहरूले साबुनपानीले हात धुन भनेका हुन्।
रक्सी (अल्कोहल) भएका स्यानिटाइजरहरूले पनि यस्तै काम गर्छन्। तर साबुनजतिको प्रभावकारी स्यानिटाइजर हुँदैनन। त्यसैले साबुन उपलब्ध छ र प्रयोग गर्न मिल्छ भने साबुन नै उत्तम हो। साबुनपानीले हात धुने बानी बसाले यसको जोखिम न्यूनीकरणमा सहयोग पुग्छ।
यो भाइरसले हाम्रो शरीरमा आक्रमण गरेपछि यसको आरएनएले हाम्रो शरीरको कोषलाई स्वतन्त्र रूपमा काम गर्न दिँदैन। भाइरसले भनेअनुसार काम गर्न शरीरको कोषलाई काम गर्न लगाउँछ। जसरी कम्प्युटरमा भाइरस पस्यो भने हामीलाई एउटा वेभसाइट टाइप गर्दा अर्कै साइटमा लग्छ त्यसैगरी कोरोना भाइरसले पनि हाम्रो शरीरको कोषले जुन काम गर्नुपर्ने हो त्यो काम गर्न नदिएर अन्यत्रैका काममा लैजान्छ।
यति मात्र होइन, यो भाइरसले हाम्रै शरीरमा थुप्रै कोरना भाइरसको सन्तान उत्पादन गरिदिन्छ। त्यसका लागि हाम्रो कोषमा भएको बोसो र प्रोटिनले पनि सहयोग गरिदिन्छ। यसरी हाम्रो शरीरका विभिन्न भागमा यो भाइरस सजिलै प्रसारण हुन्छ। यस्ता भाइरस फोक्सोमा पुगेपछि सास फेर्दा वा हाछ्युँ गर्दा संक्रमितको शरीरबाट बाहिर आउँछ। त्यसैले यसको संक्रमण थप मानिसमा नहोस् र आफूलाई पनि नसरोस् भन्नका लागि नै मास्क लगाउन भनिएको हो।
भाइरोलोजिष्ट वा सक्रमण विज्ञ म नभएपनि यसबारे सूचना पढ्दै जाँदा मैले भेटेका र पढेका कुरालाइ यहाँ राखेको मात्र हो। यी विषेशगरी न्यू साउथवेल्स विश्वविद्यालयका प्राध्यापक पाल थोन्डरसनको ट्विटरबाट लिएका कुरा हुन्।
(यो सामाग्री श्रेष्ठको अनुमतिमा उनको फेसबुक पेजबाट लिएर केही सम्पादन गरी प्रकाशन गरिएको हो।)