मुकेश अधिकारी
कोरोना भाइरस (कोभिड १९) विश्वव्यापी महामारीको रुपमा फैलिइरहको अवस्थामा नेपालमा भने हालसम्म १ जनामा मात्र यो भाइरस पुष्टि भएको छ।
विश्व स्वास्थ्य संगठनले उच्च जोखिममा रहेको बताइरहँदा नेपालमा कोरोना भाइरसको संक्रमण नफैलिनु सुखद पक्ष हो। यही सुखद पक्षलाई सदुपयोग गर्दै भाइरसबाट बच्ने उपाय अबलम्वन गर्नु नेपालका लागि अत्यन्त आवश्यक छ।
सरकारले भीडभाड नियन्त्रण गर्ने र लगभग लकडाउन गर्ने लगायतका विभिन्न प्रतिकारात्मक कार्यहरु जारी राखेको छ। र, सरकारले सुरु गरेका कार्यहरुलाई सहयोग गरी हातेमालो गर्नु सबै नागरिक तथा सरोकारवाला निकायको कर्तव्य हो।
यति हुँदाहुँदै कोरोनाको संक्रमणका बिरामीहरु देखिइहालेमा के गर्ने भन्नेबारेमा एउटा रणनीति अपनाउन सकिन्छ। त्यो हो टेलिहेल्थ। जुन विकसित देशहरुले सुझाइरहेका छन् र चीनले लागू गरेर सफलता पनि पाएको छ।
कोरोना भाइरसको संक्रमण भएजस्तो लक्षण देखिने वित्तिकै सबैलाई डर लाग्नु स्वभाविक हो र त्यस्तो अवस्था भएपछि मानिस नजिकको अस्पतालमा जाने गर्छ। तर एवं रितले धेरै मानिसहरु अस्पतालमा जाँदा अस्पतालको क्षमताले नधान्ने र नेपालको परिप्रेक्ष्यमा त झन् कोलाहल मच्चिन सक्ने खतरा रहन्छ। त्यसमाथि कोही संक्रमित भइहाले उसले अन्य बिरामी तथा स्वास्थ्यकर्मीलाई समेत सार्न सक्ने हुँदा टेलिहेल्थतर्फ बेलैमा विचार पुर्याउनु जरुरी देखिन्छ।
यस अन्तर्गत केके गर्न सकिन्छ?
- सरकारले यथासक्य चाँडो टेलिस्क्रिनिङको प्रोटोकल तयार पार्नुपर्छ। यसमा मुख्यतया सम्भावित बिरामीहरुले घरैबाट चिकित्सक वा स्वास्थयकर्मीलाई आफ्नो अवस्थाको बारेमा भन्न सक्नेछन्। र, अस्पताल भिजिट गर्ने कि नगर्ने भनी निर्णय लिन सक्नेछन्।
- सम्पूर्ण सरकारी अस्पतालले आफ्नो अस्पतालमा कम्तीमा ३ देखि ४ जना डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीलाई (सम्भव भए बढी पनि) टेलिस्क्रिनिङ गर्ने फोकल पर्सनको रुपमा जिम्मेवारी तोक्ने र सम्बन्धित निकायले उनीहरुलाई सो सम्बन्धी सामान्य अभिमुखीकरण गराउने वा परिपत्र गर्ने।
- निजी अस्पतालहरु सित आफ्नो अस्पतालमा आउने बिरामीहरुको सम्पर्क नम्बर हुन्छ। उनीहरुले बिरामीहरुलाई म्यासेज सेन्ट गरेर निम्न लक्षणहरु देखापरेमा यो अस्पतालको उल्लेखित डाक्टरलाई फोन गरेर सोध्न सक्नुहुनेछ भनी सूचना सम्प्रेषण गर्ने।
- आना निजी चिकित्सक हुने वा सधैं भिजिटमा गइरहने चिकित्सक छन् भने चिकित्सकहरुले आआफ्नो तर्फबाट बिरामीलाई फोनबाट सल्लाह दिने व्यवस्था मिलाउने। यस्तो महामारीको समयमा सबैको स्वास्थ्यको रक्षा गर्नु सामाजिक दायित्व हुने गर्छ।
- यदि नेपाली तथा विदेशी मोबाइल सफ्टवेयर कम्पनीले मोबाइल एप निर्माण गर्न सम्भव छ भने नेपाली भाषामा लक्षणहरुको फ्लो चार्ट भएको मोबाइल एपको निर्माण सुरु गर्ने। सो सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा सरोकारवाला निकायले तुरुन्त छलफल गरी काम सुरु गर्न प्रेरित गर्ने। जसमा कोभिड-१९ को सम्भावित लक्षणहरुको आधारमा अस्पताल जानुपर्ने वा नपर्ने र जानै परे कुन अस्पताल जाने भन्ने सम्बन्धी विभिन्न विषयहरु समावेश होस्।
हामीसँग कोरोना भाइरसको टेस्ट किटको अभाव छ। टेस्ट गर्ने जनशक्ति तथा ल्याबको अभाव छ, अस्पतालको अभाव छ। अस्पतालमा बेड अभाव छ। आइसियु र भेन्टिलेटरको अभाव छ। त्यसैले भएको स्रोत र साधनको नयाँ ढंगले प्रयोग गर्नेबारे सोच्ने बेला आएको छ ।
टेलिहेल्थको माध्यमबाट स्वास्थ्य प्रणाली तथा आम जनसमुदायमा हुने जोखिमलाई कम गर्ने उपायबारे बेलैमा सोचिहालौं। अन्यथा हाम्रा अस्पताल र स्वास्थ्य संस्थाहरुमा भीडभाड भएर त्यही स्थान रोग सर्ने मुख्य केन्द्रविन्दु बन्न सक्छ।
(स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत अधिकारी हाल अमेरिकाको येल विश्वविद्यालयमा हेल्थ पोलिसी अध्ययनरत छन्।)