प्राडा ढुण्डीराज पौडेल
परीक्षणको आधारमा संख्यात्मक रुपमा अहिलेसम्म कोरोना पोजिटिभहरु कम देखिएका छन्। केही दिनदेखि भारतबाट दशौं हजार नेपालीहरुले नेपाल प्रवेश गरेको हुनाले स्थिति सोचेभन्दा भयावह हुन सक्छ। भारतमा अवको केही हप्ता अत्यन्तै संवेदनशील रहेको अनुमान गरिन्छ। जसको प्रत्यक्ष प्रभाव नेपालमा पर्नेछ।
यी पंक्तिहरु लेख्दासम्म भारतमा ५६२ पोजिटिभ र ९ जनाको मृत्यु भएको छ।भारतमा अन्यत्रको भन्दा संक्रमण दर न्यून छ। कोरोनाको अन्तर्राष्ट्रिय मृत्युदर जर्मनीमा ०.५, चिनमा दुई प्रतिशत जति र इटालीमा यो प्रतिशत १० नाघ्ने संभावना छ। त्यसैले इटालीकै जस्तो नियति भोग्नु भयावह हुनेछ। त्यसैले युद्धस्तरको पूर्वतयारी अपरिहार्य बनेको छ।
सरकारले आफ्ना सुरक्षा संयन्त्रलाई परिचालन गरी ब्यक्तिहरुको आवागमन रोक्न सक्छ। तर यो कार्यमा एकल सरकारी प्रयास मात्रै काफी छैनन्। अझै पनि रोग फैलिन नदिन जुन स्तरको लकडाउन हुनुपर्ने हो, त्यो हुन सकेको छैन। लकडाउन सँगै रोगको संक्रमण बढ्न गए आवश्यक पर्ने अन्य ब्यबस्थापनमा ब्यापक सहभागीताको खाँचो पर्छ। इटालीमा घरमा मर्ने आफ्नी बहिनीको शव उठाउन नसकी असहाय भएका एक कलाकारको आर्तनाद श्रव्यदृष्यमार्फत् सम्प्रेषित भएको थियो। लकडाउन बाध्यताबश पनि उल्लंघन भएको छ। अटेरीका कारणले लकडाउनको अवज्ञा भएको छ। सरकारले सवको सहयोग लिइ सिमानामा रहेका नेपालीहरुको उद्धार र व्यवस्थापन गर्नुपर्ने हुन्छ।
विशेष गरी हरेक दैनिक उपभोगका वस्तुहरु खरिद गर्नुपर्ने शहरी क्षेत्रमा लकडाउन गर्दा नागरिकहरुका दैनिक आवश्यक वस्तुहरुको व्यवस्थापन गर्ने काम निकै चुनौतीपूर्ण छ। जति वस्तुहरुको अभाव चुनौतीपूर्ण छ। त्यत्तिकै दैनिक ज्यालादारीमा जीवन गुजारा गर्नुपर्ने न्युन आर्थिक अवस्था भएकाहरूको व्यवस्थापन यो अवस्थामा जटिल छ। यो कहिलेसम्म लकडाउन गर्ने र अहिले एकिनसाथ भन्न सकिन्न। खुला सिमानासँग जोडिएको भारतको अवस्थामा पनि निर्भर रहने गर्छ। त्यसैले आर्थिक मन्दी र रोजगारीका अवसरहरु गुम्न गएको अव्स्थामा निराशाले विद्रोह जन्मिन सक्छ। त्यसैले अल्पकालीन उपाय बाहेक दीर्घकालीन रुपमा सहरमा अभाव हुन नदिन र रोग पनि फैलिन नदिन हाम्रो ग्रामिण वस्ति ईलाका एवं खेतीयोग्य जमिनको सदुपयोग गर्नुपर्ने छ।
परीक्षण
कोरोनाको नियन्त्रण गर्ने उपायमा व्यापक परीक्षण अति महत्वपूर्ण हुन्छ। चीन, दक्षिण कोरिया उदाहरण छन्। नेपालमा अहिलेसम्म जुनस्तरमा कोरोनाको परीक्षण हुनुपर्ने हो। त्यो हुन सकेको छैन। अहिलेसम्म उपयुक्त परीक्षणको व्यवस्थापन समेत हुन सकेको छैन। मोफसलमा झनै परीक्षण किटको अभाव छ।
हजारौं परिक्षण कीट तयार पार्न आवश्यक छ। तालिम दिई उपयुक्त परिक्षण व्यापक रुपमा सञ्चालन गर्न आवश्यक छ।
व्यक्तिगत सुरक्षा कवच
सुरक्षा कवच बिना नै परीक्षण गर्दा पाकिस्तानका एक २८ वर्षीय चिकित्सक उसामा रियाजको ज्यान गयो। हातमा पञ्जा नभएको कारण इटालीका एक चिकित्सकको ज्यान गयो। त्यसैले अब ढिला नगरौं। सयौं चिकित्साकर्मीहरु संक्रमित छन्। तुरुन्तै लडाइँको अग्रिम मोर्चामा रहेका स्वास्थ्यकर्मीहरुलाई कुनैपनि मूल्य चुकाएर ब्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराऔं।
ज्वरो क्लिनिक र कोरोना उपचार
सुरक्षा सहित कर्मचारी, औषधि , उपकरण र भेन्टिलेटर सहितको कोरोनाको छुट्टै उपचार केन्द्र या अस्पतालको आवश्यकता पर्छ। अहिले खोलिएका कोरोना केन्द्रीत अस्पतालका भवनहरु मात्रै काफी छैनन्।
आकस्मिक सेवाको व्यवस्थापन
सव अस्पतालमा आएका आकस्मिक समस्या परेका बिरामीहरु, गर्भवती, सुत्केरी, चोटपटक लागेका, आकस्मिक सल्यक्रिया चाहिनेहरुको विशेष व्यवस्थापन हुनुपर्छ।
नियमित चिकित्सा सेवा सुरक्षित वातावरणमा प्रवाह गर्ने, सम्पर्क स्थापित गर्ने माध्यम कायम हुनुपर्छ।
वृद्धवृद्धालगायतका दीर्घ रोगीहरुलाइ सम्पर्कबाट टाढा राखौं। सूचना र जनचेतना मार्फत ब्यक्तिहरुको सावधानी र व्यवहारमा परिवर्तन गर्न आवश्यक छ।
प्रत्येक उपयोगमा सही तरिकाले साबुन पानीले राम्रो संग हात धुनु रोगबाट बच्ने सर्वोत्तम उपाय हो।
आफ्नो सम्पर्कमा आएको प्रत्येक व्यक्ति संक्रमित हुन सक्छन्। कम्तिमा तीन फिटको दुरिमा रहौं। मास्क नलगाइ मुखतिर फर्केर कुरा नगरौं।
खोकी लागेको ज्वरो आएको सास फेर्न गाह्रो भए अरुको अगाडि मास्क नलगाइ नजाऔं। त्यस्तो व्यक्ति नजिक नजाऔं।
अब हामी नेपालीको नमस्कार गर्ने संस्कृति उपयुक्त रहेछ। तर अरुसँग कुरा गर्दा हातले छुने, कोट्याउने नगरौं। नाक र मुख किटाणुका दृष्टिले सबैभन्दा बढी प्रदुषित रहेकाले
हातका औंलाहरु नाक र मुख तिर नलैजाऔं। आवश्यक नपरी कतै न छुऔँ।
छुन परे छुनु अघि र पछि साबुन पानीले राम्रो सँग हात धोऔं।
चुरोट, अन्य सूर्तीजन्य वस्तुहरु, गुट्खा, सुपारी आदि जस्ता हानिकारक वस्तुहरुको अम्मल छोडौं। रोगका विरुद्धको प्रतिरोध क्षमता बढाउन पानी, उपलब्ध दूध फलफूल, तरकारी
गेडागुडी एवं माछा मासु अण्डा राम्रोसँग पकाएर खाउँ।
अवको केही महिना हाम्रा लागि जीवन मरणको सवाल बन्न सक्। घरमै बसी योगासन र व्यायम गरौं। उच्च क्यालोरी एवं कोलेस्टरोलयुक्त खानेकुरा नखाऔं। तनावबाट बचौं।