अनुप पाण्डे
कुनै पनि प्रकोप र संकट पश्चात मानिसमा देखिने प्रमुख समस्या भनेको मानसिक समस्या हो। २०७२ सालको महाभूकम्प पश्चात धेरै मानिस यो समस्याबाट ग्रसित बनेका थिए। त्यसैगरी हाल देखिएको कोरोना भाइरस (कोभीड- १९)को प्रकोपले पनि यो समस्या जन्माउने निश्चित प्राय छ।
मानिसहरुमा महामारीको बारेमा सामान्य डर र चिन्ता हुनु स्वभाविक नै हो। तर यदि त्यो लामो समयसम्म रहिरह्यो भने त्यसले मानसिक समस्या निम्ताउन सक्छ। पहिले गरिएका अध्ययन-अनुसन्धान अनुसार रोगको संक्रमणको बारेमा बच्चा र वयस्कहरुमा भावनात्मक रुपमा बढी चिन्ता प्रकट हुने गरेको पाइएको छ। यस्तो बेलामा सामान्य तनावलाई सामना र व्यवस्थापन गर्दै आफ्नो अनि आफ्नो नजिकको व्यक्ति साथै समुदायको हितमा काम गर्नु पर्दछ।
तनाव उत्पन्न हुँदा यसलाई कसरी समाधान र व्यवस्थापन गर्ने भन्ने प्रत्येक व्यक्तिको स्वभाव, आफू रहेको ठाउँ अथवा पृष्टभूमिले निर्धारण गर्दछ। अहिलेको अवस्थामा तनावलाई शक्तिमा परिणत गरि, यदि तपाईंको समुदायमा संक्रमण फैलिसकेको छ भने थप फैलिन नदिनको लागि पहल गर्न सकिन्छ र फैलिसकेको छैन भने रोकथाम तिर लाग्नु बुद्धिमानी हुन जान्छ।
संकटको घडी मा तनाव साथै अप्ठेरोमा पर्न सक्ने मुख्य मानिसहरु को को हुन सक्छन त?
- मुख्य रुपमा बालबालिका, बृद्ध-बृद्धा र दिर्घ रोगी।
- रोगोसंग प्रत्यक्ष सामना गर्ने व्यक्ति जस्तै डाक्टर र अन्य स्वास्थ्यकर्मी।
- लागुपदार्थको सेवन गर्ने मानिस तथा मानसिक सन्तुलन ठिक नभएका बिरामीहरुमा अवस्था झन् जटिल देखिन सक्छ।
संकटको समयमा निम्न लिखित तनाव देखिन सक्छन्-
-आफ्नो स्वास्थ्य र आफ्नो प्रियजनको स्वास्थ्यको बारेमा चिन्ता हुनु।
-निद्रा वा खाने बानिमा परिवर्तन आउनु।
-सुत्न अप्ठेरो हुनु तथा कुनै कुरामा ध्यान केन्द्रित गर्न नसक्नु।
-दीर्घ रोगीहरुको अवस्था अझ बिग्रदैं जानु।
यस्तो अवस्थामा आफ्नो अनि साथी-भाई तथा परिवारको ख्याल गर्दा आफुमा पर्न सक्ने मानसिक तनाव कम हुन जान्छ। यदि परिवारमा पुराना मानसिक रोगी छन् भने उनिहरुको विशेष ख्याल गर्नुपर्दछ। जसले गर्दा रोग अझै जटिल हुनबाट जोगाउन सकिन्छ। संकटको घडीमा एकले अर्कालाइ मद्दत गर्दा पुरै समुदाय नै बलियो तथा तनावमुक्त बन्न सक्छ।
तनावबाट मुक्त हुन निम्न कुरामा ध्यान दिन सकिन्छ -
- सामाजिक संजालमा आएका अपूर्ण र अविश्वसनिय समाचारहरु हेर्न र सुन्न बन्द गर्ने।
- आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्दै शारीरिक व्यायम तथा ध्यान गर्ने।
- स्वस्थ र सन्तुलित भोजन गर्ने साथै धुम्रपान र मध्यपानबाट टाढै रहने।
- पर्याप्त मात्रामा सुत्ने।
- आफुलाई मन पर्ने र उर्जाशिल क्रियाकलापमा समयको सदुपयोग गर्ने।
- साथी-भाई तथा आफ्नो नजिकको मान्छेहरुको निरन्तर सम्पर्कमा बस्ने जसले गर्दा एक्लोपनबाट छुटकारा पाउन सकिन्छ।
यति हुँदाहुँदै पनि धेरै दिनसम्म तनाव व्यवस्थापन हुन सकेन भने आवश्यक स्वास्थ्य उपचारको लागि मनोचिकित्सक संग परामर्श लिन सकिन्छ।
तनाव व्यवस्थापनको लागि आभिभावकहरुले अपनाउनु पर्ने कुरा
-बच्चाबच्ची तथा किशोर किशोरीहरुले सिक्ने भनेकै अग्रजहरुबाट हो त्यसैले संकटको समयमा अभिभावकले अपनाउने तनाव व्यवस्थापनको तरिका बच्चाबच्चीको लागि राम्रो उदाहरण बन्न सक्छ।
-प्रकोपको बारेमा कुरा गर्न आफ्ना छोराछोरीसंग पर्याप्त समय छुट्याउनुहोस्। साथै उनीहरुको जिज्ञासाको समाधान गर्नुहोस्।
- उनीहरुलाई सुरक्षित भएको आभास गराउनु होस् साथै अरुलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने बारे सिकाउनुहोस्।
- बच्चाबच्ची तथा किशोर किशोरीलाई अफबाह फैलाउने समाचार तथा सामाजिक संजालको दुरुपयोगबाट जोगाउनुहोस्।
- नियमित दिनचर्याको तालिका बनाएर सृजनसिल क्रियाकलापमा लाग्ने, आराम गर्ने साथै रमाइलो गतिविधिको लागि समय छुट्याउनुहोस्।
- बालबच्चा तथा उनका नजिकका साथीहरुलाई प्रकोपको अवस्था एवं तनाव व्यवस्थापनको बारेमा आभिभावकले आश्वस्त पार्न सक्दछन्। त्यसैले संकट समाधान गर्न र तनाव व्यवास्थापन गर्न अभिभावकको जिम्मेवारी एकदमै आवश्यक छ।
-(पाण्डे थाइल्यान्डको महिडोल विश्वविद्यालय सिरिराज अस्पतालमा पिएचडी अध्यनरत छन्।)