अमृता शर्मा
महिनावारी प्राकृतिक प्रक्रिया हो। यो समयमा महिलाको योनीबाट ३–४ दिनसम्म रगत बग्छ। महिनावारीको समयमा महिलाहरु साविकभन्दा शारीरिक, मानसिक एवं भावनात्मक हिसाबले कमजोर भएका हुन्छन् र सरसफाइको आवश्यकता पनि बढी पर्छ।
सरसफाइ, मानसिक तथा शारीरिक स्वास्थ्य तथा अन्य विभिन्न पक्षमा सहयोग गरेर महिलालाई सुरक्षित र स्वच्छ महिनावारी एवं गर्भाधारण गराउने अवस्था सिर्जना गर्नु नै मर्यादित महिनावारी हो। महिनावारीको विषयमा सही वकालत गरी समाजलाई सुसज्जित र महिलामैत्री बनाउनु नै सम्पूर्ण मानवको उत्तरदायित्व हो।
हामी धर्मका अन्धभक्त भएर जीवनशैली अपनाउँदै आएका छौं। हिन्दु धर्म अनुसार महिनावारी हुँदा बग्ने रगतलाई अशुद्ध रगतको रुपमा लिइन्छ। फलस्वरुप महिनावारीको समयमा महिलालाई फोहोर ओछ्यान तथा असुरक्षित स्थानमा राख्ने गरिन्छ। यस्तो कुप्रथाका कारण वर्षौंदेखि हाम्रा चेलीहरु जंगली जनावरको आक्रमणका साथै जनावरसँग पनि तुलना गर्न नमिल्ने बलात्कारीको सिकार हुँदै आएका छन्। अत्यन्त चिसोमा बस्नुपर्ने हुनाले मृत्युको समेत सामना गर्नुपरेका घटना थुप्रै भेटिएका छन्।
माहिनावारीकै कारण आजको एक्काइसौं शताब्दीमा पनि महिलामाथि यस्तो घोर अपहेलना हुनुको लज्जाको विषय हो। हाम्रो देश विकासको क्षेत्रमा अरु देशभन्दा २०० वर्ष पछाडि पर्नुको कारण पनि यही हो। यस्तो विकराल अवस्थालाई ख्यालै नगरी हामी समाज रुपान्तरणमा केही पहल गर्न सक्दैनौं भने हामीलाई सामाजिक प्राणीको दर्जा दिनुको औचित्य नै हुँदैन।
अब महिनावारी नारीको मात्र विषय नभई सम्पूर्ण राष्ट्रको विषय बनाउनु परिवर्तनशील सोचको पहिलो खाका हो। ती दर्दनाक अवस्थामा रहेका गाउँहरुमा सर्भेक्षण गर्नु अनि त्यहाँका महिला स्वयंसेविका, वडा प्रमुख तथा सबै निकायसँग समन्वय गरेर महनिावारीको विषयमा छलफल, गोष्ठी गर्नुपर्छ। जुन गोष्ठीमा त्यहाँका महिला मात्र नभएर हजुरबुबा, बुबा, दाइभाइ, सम्पूर्ण व्यक्तिको महिनावारी सम्बन्धी सोच बदल्नु निकै महत्वपूर्ण छ।
यस्ता कार्यक्रममा महिनावारीको सामान्य प्रक्रियामा महिलामा आउने शारीरिक तथा मानसिक परिवर्तन, सरसफाइको आवश्यकता तथा पोषिलो खाना जस्ता विषयलाई बुझाउन निकै जरुरी छ। किनकी हामी परिवारमा बस्छौं। परिवारका दाजु, बुबा, भाइहरुले यी समस्या बुझेनन् भने महिलामैत्री परिवारको कल्पना गर्नु पनि मुर्खता हुन्छ।
आजका बालबालिका भविष्यका कर्णधार हुन्। यो काँचो माटोलाई सुरुदेखि नै राम्रो आकार दिन सकियो भने हामी पक्कै पनि समाजलाई जरैदेखि सुधार गर्न सक्छौं।
बालबालिकाको उमेर सँगसँगै शारीरिक र मानसिक परिवर्तन हुन्छ। किशोरावस्थामा पुग्दा महिनावारी सम्बन्धी ज्ञान कक्षाका छात्रछात्रा दुवैलाई दिनु निकै जरुरी छ। महिनावारी के हो? यसमा केके हुन्छ? सरसफाइ गर्दा के कसरी गर्ने? पोषिलो खानेकुराको बारेमा ज्ञान उनीहरुको पाठ्यक्रममा राख्नाले बालबालिकाको मानसपटलमा सकारात्मक सोच र सहयोगीपनको विकास हुन्छ। यतिमात्र नभई विद्यालयमा महिनावारीको समयमा आवश्यक पर्ने प्याडको व्यवस्था, हात धुने साबुनपानी र आवश्यक पर्दा औषधि र सरसल्लाहको लागि सौहाद्र्रपूर्ण वातावरण तयार गर्नु मर्यादित महनिावारीको पहलमा इँटाहरु थप्दै जानु हो।
हाम्रो समाजमा विद्यमान छाउपडीको कुरा गर्दा गाउँ र सहर दुवैमा यसको छाप कायम नै छ जस्तो लाग्छ, मात्र अवधारणा फरक मात्र हो। घरमा एउटी छोरी भएको कारणले महिनावारीको समयमा भान्साकोठाबाट आफूलाई मन लागेको कुरा खान पाउँदैनन्। मठ–मन्दिर अनि घरकै पूजा कोठाको ढोका पनि उनका लागि बन्द हुन्छ। चाडपर्वहरुमा एउटै कोठामा रोएर बस्न बाध्य हुन्छिन्। सो अवस्थामा उनको ७ वर्षे भाइले उनलाई देखेर नहुँदा आफूलाई शक्तिशाली ठान्छ। अनि त्यहीँबाट सुरु हुन्छ लैंगिक विभेद।
यति मात्र होइन, सामाजिक एवं राजनीतिक जीवनमा महिनावारीको विषयमा गहन कुराहरु लिएर सबैको वाहवाह पाउने अभियानकर्ताहरुले नै तीजको पञ्चमीमा महिनावारीको पाप कटाउन पूजा लगाउनु र भगवानको प्रसाद लिन अनकनाउनु मर्यादित महनिावारीलाई अँगाल्न हच्किनु अनि परिवर्तनलाई स्वीकार गर्न नसक्नु हो। अब हामीले यी सूक्ष्म तथा ठूला भारी बोकेका परिवर्तनलाई आफ्नै घरबाट प्रयोगमा ल्याउन सकेनौं भने मर्यादित महिनावारी ठूलाठूला भाषण र कागजका पानाहरुमा मात्र सीमित रहन्छन्।
हामी पूर्वीय सभ्यता अनुसारका लुगाफाटा, अंग्रेजी जीवनशैली जिउन कति लालयित छौं। तर महिनावारीको विषयमा केकस्ता सहयोग गर्न सकिन्छ भन्ने अत्तोपत्तो नै छैन। विकसित देशहरुमा महनिावारीको समयमा बिरामी बिदा दिएर महिलालाई अझ शक्तिशाली बनाउन जोड गरिरहेका छन्। तर हाम्रो देशमा घर, अफिस जहाँ पनि महिलालाई कामको बोझ बोकाइन्छ। हरेक महिना उनलाई चाहिने हेरविचारको व्यवस्था हाम्रो कल्पनामा मात्र सीमित रहेको छ।
नियमित काम, महिनावारीको अछुतोपन, घृणित व्यवहार जस्ता यावत कुराहरुलाई सकिनसकी बोकेर अगाडि जाँदा हामी महिला भएर गर्वका साथ बाँच्न सकिरहेका छैनौं। यस्तो परिस्थितिलाई नसच्याउँदासम्म कसरी बन्ला त मर्यादित महिनावारी? त्यसैले यस्ता विषयलाई देशकै एजेण्डा बनाएर छलफल गर्नु नितान्त जरुरी छ। जबसम्म कूल जनसंख्याको आधा प्रतिशत ओगटेका महिलाको स्वास्थ्य स्थिति, समस्याहरुलाई औंल्याउँदै परिवर्तनका खाका तयार गरी कार्यान्वयन गरिँदैन, तबसम्म मर्यादित महिनावारी बन्नै सक्दैन।
सार्वजनिक स्थल, घर, होटल, विद्यालय, तथा कार्यस्थल सबै ठाउँमा महिनावारीको सरसफाइका लागि आवश्यक पर्ने सामग्री र अनुकूल वातावरण तयार गर्ने बित्तिक्कै महिलाको अवस्थामा आमूल परिवर्तन आउँछ भन्ने कुरामा म सय प्रतिशत विश्वस्त छु।
हाम्रो देशलाई कता लैजाने भन्ने दिशानिर्देश ऐन–कानुन र संविधानले गर्छ। त्यसैले महिलाको हकअधिकार र महिनावारीको विषयलाई लिएर कुसंस्कार, कुरीति अँगाल्नेहरुलाई जरिवाना र सजाय अनि सकारात्मक परिवर्तन फैलाउनेलाई सम्मान र सद्भाव गरेमा हामी महिनावारी सम्बन्धी भएका कुरीतिलाई जरैदेखि उन्मुलन गर्न सक्छौं।
संविधानको धारा १६, जहाँ प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार छ। मलाई लाग्छ, महिलाले यो अधिकार पाएका छैनन्। त्यसैले अधिकारका लागि सम्बन्धित निकायमा आवाज उठाउनु निकै आवश्यक छ। यति मात्र नभई महिनावारी सम्बन्धमा समजमा देखिएका रुढीवादी कुसंस्कार, कुरीति, अन्धविश्वास सम्बन्धी धारणा र अभ्यासहरुलाई निरुत्साहित गर्न हातमा हात जोडेर सबै देशबासी अगाडि बढ्नु पर्छ। महिनावारीको समयमा चाहिने आधारभूत सेवा र सुविधाको विस्तार, उपलव्धता र पहुँच बढाउनमा स्वास्थ्यकर्मी, विद्यालय, समाजसेवी तथा अन्य निकायले गहन भूमिका खेल्नु पर्छ।
एउटी महिलाले आफ्नो जीवनकालमा ६ देखि ७ वर्ष महिनावारीमै बिताउँछिन्। जीवनको ६–७ वर्षलाई अपहेलना, दुखाइ, घृणा र कष्टमा बिताउन बाध्य बनाउनु सामाजिक अपराध होइन र? अन्ततः यस्तो अवस्थामा महिलाको स्वास्थ्य, सरसफाइको उचित हेरचाहमा जोड दिन हरेक व्यक्तिले आफ्नो स्थानबाट सकारात्मक पहल गर्दै गयौं भने महिनावारीलाई मर्यादित बनाउने सुनौलो अभियान पूरा गर्न सक्छौं।