टिप्स/जानकारी

कोभिड–१९ बाट जोगिन खोज्दा डेंगु त निम्त्याइ रहेका छैनौं?

सुजन पौडेल

विश्व नै कोरोना महामारीको चपेटामा छ। नेपालमा पनि संक्रमण दिन दुई गुणा रात चौँ गुणाको हिसाबले बढिरहेको छ। नेपालमा कोरोना संक्रमितको संख्या पाँ हजार भन्दा माथि पुगिसकेको छ। चैत्र ११ गते देखि सुरु भएको बन्दाबन्दी अर्थात् लकडाउन जेठ ३२ गते सम्म लम्बाइएको छ। अन्तराष्ट्रिय हवाइ उडान असार १५ सम्म स्थगन गरिएको छ। 

यो महामारीबाट बच्नको लागी सबैभन्दा सरल र सहज उपाय भनेको साबुन पानीले कम्तीमा २० सेकेण्ड मिचिमिचि हात धुने र सामाजिक दुरी कायम गर्ने नै हो। तर हामी कोरोनाको संक्रमणबाट जोगिन खोज्दा कतै हामी त निम्त्याइ रहेका छैनौं? 

यो लकडाउनको अवधिमा म मेरो हजुरआमा र बुवा ३–४ वटा अस्पताल पुगेँ। सबै अस्पतालमा पुग्दा अस्पतालको गेट नजिकै साबुन पानीले हात धुनको निम्ती धारा र साबुन राखिइको थियो। तर हात धोएर खेर गएको पानी व्यवस्थापन गरेको भने कतै देखिएन। 

खेर गएको त्यो पानी कि त भुईमा छताछुल्ल थियो कि त अलिक पर गएर आल भएर बसेको थियो। कतिपय ठाउँमा त धोएर आउँदा लगाएको जुत्ता, चप्पल नै हिलो हुने अवस्था थियो। आहाल परेको ठाँउ यसो हेर्दा नै अनेक झिङ्गा त्यहाँ भन्किरहेको देखिन्थ्यो। के यस्ता क्रियाकलापहरुले अस्पताल पुगेका मनिसलाइ डेंगु लगायत अन्य पानीजन्य संक्रमणहरु नहोला भन्न सकिन्छ ?

अस्पताल बाहेक अहिलेको अवस्थामा हाम्रो घर, आँगन, टोल, छर–छिमेकमा रहेका पानी जम्ने टिनका डब्बाहरु, टायर ट्युब, खाली ड्रमहरुमा र सार्वजनिक धाराहरुमा पानी जमेको छ या छैन भन्ने विषयलाइ पनि ध्यान दिरहेका छौ त ? याद राख्नुस्, यस्ता ठाउँहरुले लामखुट्टेलाई अझ सशक्त रुपमा विकास हुन महत्वपूर्ण भूमिका खेल्छ। 

जमेको पानी र डेंगुको सम्बन्ध 
एडिस एजेप्टाई र एई अल्बोपिक्टस जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट मानिसमा डेंगको संक्रमण हुन्छ। समयमै उपचार पाए यो रोग सहजै निको हुन्छ तर यसले जटिल रुप लिए बिरामीको मृत्यु समेत हुन सक्छ। 

सामान्यतया १५ देखि ३५ डिग्रीको तापक्रममा लामखुट्टेको वृद्धि विकास हुन्छ। यो गर्मी मौसम डेंगुको लामखुट्टेको वृद्धि विकासका लागि उपयुक्त समय हो। डेंगुको भाइरस फैलाउने लामखुट्टेका लागि भने २२ देखि ३४ डिग्रीसम्मको तापक्रम निकै अनुकूल मानिन्छ। 

वर्षायाम, उपयुक्त तापक्रम र ह्युमिडिटी भएकाले डेंगुको प्रकोप बढ्न अझ मद्दत गर्दछ। जथाभावी खुल्ला रुपमा पानी जम्न दिनु भनेको डेंगुको जोखिम झन बढाउनु हो। किनकी जमेको पानीहरुमा लामखुट्टेले अण्डा पार्ने र लामखुट्टेलेको सङख्या वृद्धि हुने गर्दछ। इन्डोनेसियाको शहरमा भएको एक अध्ययनले पनि खुल्ला रुपमा जमेको र पूर्ण रुपमा नढाकिएको पानीमा डेंगु संक्रमणको जोखिम दोब्बर निम्ताएको देखाएको छ। 

नेपालमा डेंगुको हालको अवस्था
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार पछिल्लो ६ महिनामा डेंगुका ८२ जना संक्रमित भेटिएको छ। हालसम्म २६ जिल्लामा डेंगु फैलिएको छ। 
रुपन्देहीमा ३५, म्याग्दीमा १२, कास्कीमा १०, काठमाडौंमा ७, सुनसरी र ललितपुरमा ४/४ जना डेंगुका संक्रमित भेटिएका छन्। कपिलवस्तु र मोरङमा ३/३, बागलुङ, कैलाली, धनकुटा, नुवाकोट र धादिङमा २/२ जना, मकवानपुर, गोरखा, तनहुँ, नवलपरासी, पाल्पा, नवलपरासी पश्चिम, डडेल्धुरा, बाँके, दाङ, रामेछाप, उदयपुर र झापामा १/१ जना संक्रमित भेटिएको छ।

गत वर्ष महामारीको रुप लिएको डेंगुबाट ६८ जिल्लाका १६ हजार मानिस बिरामी भएका थिए। जसमध्ये ६ जनाको मृत्यु भएको थियो। 

डेंगुको लक्षणहरु
-   ज्वरो आउने
-   टाउको दुख्ने
-   आँखाको गेडी दुख्ने 
-   हाडजोर्नी तथा मासंपेशी दुख्ने
-   झाडापखाला लाग्ने
-   रक्तश्राव हुने
-   बिमिरा आउने लगायत लक्षण देखापर्ने।

डेंगुबाट बच्ने उपायहरुः
-   लामखुट्टेको टोकाइबाट बच्ने। 
-   लामखुट्टेको वृद्धि र विकासमा नियन्त्रण गर्ने। 
-   घर, आँगन, कौशीको सधै सरसफाइ गर्ने। 
-   पानी जम्ने ठाउँहरु, टिनका डब्बाहरु, टायर ट्युब, खाली ड्रमहरुमा र सार्वजनिक धाराहरुमा पानी जम्न नदिने। 
-   पानीको नाला, टिन ,ड्रम, टायर, ट्युव आदिमा हप्ताको २ पटक डढेको मोबिल वा मट्टितेल छर्कने।
-   पानीको ट्यांकीहरु समय समयमा खाली गरी सफा गर्ने र ढकन लगाएर राख्ने।
-   गमला, फुलदानीमा रहेको पानी हप्तामा २ पटक फेर्ने र पानी सुक्न दिने। 
-   पानी सुक्न नदिने खालका फुल भए डढेको मोबिल वा मट्टितेल छर्कने।
-   खाली भाँडाकुँडा घोप्टाएर राख्ने। 
-   पुरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने।
-   सुत्दा झुल प्रयाग गर्ने। 
-   लामखुट्टेको टोकाइबाट बच्न मल्हम लगाउने। 

यो जटिल घडिमा हामी कोभिड–१९ को सामना गर्दा गर्दै अन्य संक्रमणहरु पनि देखिन थालिसक्यो। यस्तो अवस्थामा स्थिति झन् भयावह बन्न सक्छ। त्यसैले सम्बन्धित निकायबाट उचित कार्य, अस्पतालहरुमा खेर गएको पानीको व्यवस्थापन र व्यक्तिगत तवरबाट सरसफाइका सूचकहरु बेलैमा अपनाउनुपर्छ। तब मात्र डेंगुको संक्रमणबाट जोगिन सकिन्छ। नभए कोरोनासँगै डेंगुले पनि महामारीको रुप नलेला भनेर भन्न सकिदैन। 

(पौडेल जनस्वास्थ्यकर्मी हुन्)

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने