विश्व स्वास्थ्य

कोरोनाका संक्रमितका लागि प्रभावकारी औषधि पत्ता लगाएको बेलायती अनुसन्धाताको दाबी

एजेन्सी- बेलायतका अनुसन्धाताहरूले कोभिड-१९ संक्रमितहरूका लागि डेक्सामेथासोन नामक औषधिले धेरै मद्दत गर्ने बताएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपी न्युजले उल्लेख गरेको छ। यो औषधिले पहिलोपटक संक्रमितलाई निको हुन धेरै मद्दत गर्ने विभिन्न तथ्य फेला परेको उनीहरूले बताएका हुन्। 

मंगलबार एक सूचना जारी गर्दै अनुसन्धाताहरूले यसबारेमा छिट्टै नै सार्वजनिक गर्ने बताएका छन्। उनीहरूले तुलनात्मक रूपमा ‍र्‍यान्डम्ली २ हजार १ सय ४ संक्रमित (यो औषधि प्रयोग गर्न दिइएका) र अन्य ४ हजार ३ सय २१ संक्रमित (सामान्य उपचार गरिएका) हरूमाथि अध्ययन गरिएको उल्लेख गरेका छन्।

‘यो सम्पूर्ण रूपबाट स्वागतयोग्य नतिजा हो’ अनुसन्धान प्रमुख अक्सफोर्ड युनिभर्सिटीमा कार्यरत पिटर होर्बीले भने‚ ‘गम्भीर प्रकारका बिरामी र श्वासप्रश्वाससम्बन्धी समस्या भएका मानिसमा यो औषधिको राम्रो प्रभाव परेको छ। डेक्सापेथासोन अरूभन्दा सस्तो भएकाले पनि विश्वस्तरमा संक्रमितको ज्यान जोगाउनका लागि सजिलै उपलब्ध गराउन सकिन्छ।’

यो अध्ययनले केही महिनाअघि कोरोना संक्रमितमा मलेरियाको हाइड्रोक्सीक्लोरोक्विन नामक औषधिको कुनै पनि प्रभाव नपर्ने घोषणा गरेको थियो। यो औषधि बेलायत‚ स्कटल्यान्ड‚ वेल्स‚ नर्दन आयरल्यान्डलगायत देशका कोरोना संक्रमितमा अनुसन्धान गरिएको थियो।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने