डा सञ्जयप्रसाद गुप्ता
भ्रम १ः ब्रेसेस लगाउदा दाँत कमजोर हुन्छ।
यथार्थः ब्रेसेसले दाँत मिलाएपछि फोहोर नअड्किने र सफा गर्न बढी सजिलो हुँदा दाँतको स्वास्थ्य अझ बढी मजबुत हुन्छ। मिलाउने क्रममा जराहरुमा कुनै प्रकारको असर नगर्ने हुँदा दाँत कमजोर हुँदैन।
भ्रम २ः अर्थोडोन्टिक उपचार गर्न बच्चाको दाँत सबै झर्नुपर्छ।
यथार्थः अर्थोडोन्टिक उपचारमा दाँत मिलाउने मात्र नभई यसले जवडाको हड्डी बढ्ने अनुपात मिलेको छैन भने बच्चा बढ्ने उमेरमै ग्रोथ मोडुलेसन पद्धतिबाट उपचार गर्नुपर्छ, जुन दाँत साटिइसक्दा सो उमेर (८ देखि १२ वर्ष) पार गरिसकेको हुन्छ। पछि आउने दाँत त्यो ठाउँमा नआएमा पनि बच्चाको दाँत समयमा नसाटिन सक्छ। तसर्थ अर्थोडोन्टिक विशेषज्ञसँग ६–७ वर्षकै उमेरमा सल्लाह लिनु उपयुक्त हुन्छ।
भ्रम ३ः ब्रेसेस लगाउँदा दाँत दुख्छ र खाना खान गाह्रो हुन्छ।
यथार्थः उपचारको सुरुको २–३ दिन शरीरले बाह्य वस्तुसँग एडप्ट गर्न समय लाग्ने हुँदा अलिक असजिलो भए पनि विस्तारै सामान्य भएर आउँछ र दाँत नदुख्नुको साथै खान पनि सजिलो हुँदै जान्छ।
भ्रम ४ः ब्रेसेसको उपचार गराउने क्रममा दाँत निकाल्दा आँखा कमजोर हुन्छ।
यथार्थः हड्डी सानो र दाँतको आकार ठूलो भएको खण्डमा सोही ठाउँमा मिलाउन र अनुहार राम्रो देखिन दाँत निकाल्नु पर्नसक्छ र सो अवस्थामा आँखा कमजोर हुँदैन। तर सबै बिरामीमा दाँत निकाल्नै पर्छ भन्ने हैन।
भ्रम ५ः ब्रेसेस लगाउँदा दाँत हल्लिने हुन्छ।
यथार्थः दाँतलाई ब्रेसेसको मद्दतले सार्ने क्रममा एकातिर हड्डी थपिने र अर्कोतिर हड्डी घट्ने हुँदा अलिक हल्लिए जस्तो भए पनि यसले कालान्तरमा केही समस्या गर्दैन।
भ्रम ६ः बयस्क र अधबैंसे उमेरमा ब्रेसेसको उपचार गर्न मिल्दैन।
यथार्थः किशोरावस्थामा हड्डीको अवस्था कमलो भएकोले दाँत चाँडै मिलेर आउने हुन्छ। यदि दाँतको वरिपरिको हड्डीको अवस्था राम्रो छ भने जुनसुकै उमेरमा पनि यो उपचारको लाभ उठाउन सकिन्छ।
भ्रम ७ः दाँत मिलाउने क्रममा ब्रेसेस बाहिर देखिने हुँदा नराम्रो देखिन्छ।
यथार्थः दाँत मिलाउने धेरै प्रकारको पद्धतिमध्ये देखिने खालको मेटल ब्रेसेस एउटा हो तर यस बाहेक दाँत रङको कम देखिने सेरामिक ब्रेसेस, बाहिरबाट नदेखिने दाँतको भित्र राख्ने लिंगुुअल ब्रेसेस र ब्रेसेस नै नराखी एलाइनर पद्धतिबाट पनि दाँत मिलाउन सकिन्छ।
भ्रम ८ः यो उपचार गर्दा दाँत मिल्ने तर अनुहार नराम्रो देखिन्छ।
यथार्थः यो उपचार सुरु गर्नुअघि दाँतको नाप, मुख भित्र–बाहिरका तस्बिरहरु र एक्स–रेको मद्दतले बिरामीको दाँतको टोकाइ मिलाउन र अनुहारलाई पनि राम्रो देखिने अनुसारले अर्थोडोन्टिक प्लानिङ हुने हुँदा दाँत मिल्नुका साथै अनुहारमा पनि राम्रो परिवर्तन देखिन्छ।
भ्रम ९ः ब्रेसेस लगाउँदा ब्रस गर्न मिल्दैन।
यथार्थः ब्रेसेस लगाउने बिरामीमा फोहोर अड्किने समस्या अझ बढी हुने हुँदा ब्रस दिनमा २–३ पटकसम्म गर्नुपर्छ। त्यसो गर्दा ब्रेसेसलाई केही फरक पर्दैन।
भ्रम १०ः ब्रेसेसले दाँत मिलाइसकेपछि जस्ताको तस्तै हुन्छ।
यथार्थः ब्रेसेसले मिलाउने क्रममा दाँतको स्थान परिवर्तन भएको हुन्छ। त्यसैले दाँतको वरिपरिको हड्डी र फाइवरहरु अर्गनाइज नभएसम्म दाँत मिलेर ब्रेसेस निकालिसकेपछि पनि केही दिनसम्म रिटेनरको प्रयोग गर्दा दाँत पहिलेको ठाउँमा नजाने हुन्छ।
भ्रम ११ः ब्रेसेसले मिलिसकेको दाँत बुद्धि बंगारा आउँदा बिग्रन्छ।
यथार्थः उहिलेको अनुसन्धानहरुले पछि आउने बंगाराले मिलेको दाँतलाई केही असर नगरेको हुनाले मिलिसकेको दाँत बिग्रँदैन।
(डा गुप्ता उप–प्राध्यापक तथा अर्थोडोन्टिक विशेषज्ञ हुन्।)