डा अरुण सापकोटा र डा पदम नेपाली
नेपालको राजनीति र समाज अहिले नयाँ नक्सा, नागरिकता विधेयक, बजेट भाषण र कोरोनामा केन्द्रित देखिन्छ। पक्कै पनि राष्ट्रियतासँग गाँसिएको कुरा, देशको भविष्यको आधार र संसारलाई पिरोलेको कोरोनाको बारेमा छलफल हुनु, यी कुराले प्राथमिकता पाउनु जायज हो।
यसैबीच महामारीको बेला जोखिम मोलेर ड्युटीमा खटिएका डाक्टरमाथि आफ्ना आफन्तलाई बचाउन नसकेको आरोपमा दुर्व्यवहार र कुटिपट भएका घटनाहरु प्रशस्तै भएका छन्।
पछिल्लो पटक काठमाडौंको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा घटेको घटनालाई प्रतिनिधि घटनाको रुपमा मात्र लिनुपर्छ। तर यस्ता घटनाले देशका कथित ठूला मिडिया हाउसमा खासै स्थान पाउँदैनन्। जुन विडम्बनाको विषय हो।
प्रत्येक व्यक्तिको जीवनसँग प्रत्यक्ष सरोकार रहेको स्वास्थ्य सम्बन्धित जनशक्तिको मनोबल गिराउने, दुर्व्यवहार गर्ने र भीडले नै दोषी प्रमाणित गर्ने क्रम बढ्दै जानु समाजकै लागि प्रतिउत्पादक हुनसक्छ। यस्तो कुरामा नागरिक समाज, बुद्धिजीवी र प्रेस चुपचाप बस्नु झन् ठूलो भूल हुनेछ। यस्तो समस्या केवल चिकित्सकको मात्र हो भन्ने सोचिन्छ भने त्यो गलत बुझाइ हो।
यहाँ हामीले धेरै कुरा विश्लेषण गर्नुपर्ने देखिन्छ। किन यस्ता घटना बारम्बार घट्ने गर्छन्? समस्या कहाँ हो? कोको दोषी छन्? यो वातावरण फेरि अर्को चोटी आउन नदिन के गर्नु जरुरी छ? डाक्टरले के बुझ्न जरुरी छ, बिरामी पक्षले के बुझ्न जरुरी छ र समाज र मिडियाले के बुझ्न जरुरी छ? यी सब कुराको उत्तर खोजिनुपर्छ। यहाँ केबल एउटा घटनालाई हामीले सम्हाल्यौं भनेर खुसी हुँदै रमाउनुको केही अर्थ छैन। यो समस्याको निरुपणको निम्ति दीर्घकालीन उपाय खोज्नु जरुरी छ।
प्रश्न १: किन यस्ता घटना बारम्बार घट्ने गर्छन्?
मान्छे जन्मेपछि मर्छ र मरणका विभिन्न कारण हुन सक्छन्। केके हुन सक्छन्, हामी सबैलाई थाहा भएकै कुरा हो। हामीले एउटा सामान्य कुरा बुझ्न जरुरी छ, त्यो हो सुविधासम्पन ठाउँमा प्राय: मृत्यु अस्पतालमा हुन्छ। अब मृत्यु अस्पतालमा भयो भनेर जहिले डाक्टरको लापरबाही हुन्छ त? हुँदैन। ल मानौँ बिरामीका आफन्तले लापरबाही भन्लान्, पीडा र आवेगमा आएको प्रतिक्रिया स्वाभाविक रुपमा लिन सकिन्छ तर तेस्रो पक्ष मिडियाले पनि लापरबाही भनेर शीघ्रातिशीघ्र समाचार सम्प्रेसन गर्नु गलत हो। मिडियाको यस्तो कार्यले जनतामा गलत नजिर स्थापित भएको छ।
मिडिया समाजको एउटा जिम्मेबार निकाय हो, उसले आफ्नो जिम्मेवारी बोध गर्नुपर्छ। हल्ला र एउटा पक्षले भनेको भरमा भन्दा पनि सम्बन्धित विषयका विशेषज्ञसँग सरसल्लाह गरेरमात्र समाचार सम्प्रेषण गर्नुपर्छ। एउटा चिकित्सक मात्र नभएर सम्बन्धित १० जनासँग सोध्न सकिन्छ। सम्बन्धित निकाय नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एसोसिएसनसँग बुझ्नुपर्छ तर विशेषज्ञको रायबिना यस्ता विषयलाई हलुका रुपमा लिन मिल्दैन।
लापरबाही हो कि मेडिकल विज्ञानकै कमजोरी हो? अथवा औषधिको साइड इफेक्ट हो कि भवितव्य पो हो? अर्थात् मेडिकल साइन्सले रोक्नै नसक्ने स्वभाविक मृत्यु त हैन? यी निकै गम्भीर प्रश्न हुन्, यिनीहरुलाई हलुका रुपमा लिने हो भने भोलिका दिनमा यसले तपाईंको परिवारदेखि लिएर सबैलाई पिरोल्छ।
अर्को पक्ष भनेको बिरामीको आफन्त बनेर आर्थिक लाभ र बार्गेनिङका लागि घुसपैठ गर्ने गुण्डाहरुको हालिमुहाली हो र उनीहरुलाई राजनीतिज्ञले प्रश्रय दिनु हो। यसका प्रशस्त उदाहरण विगतका घटनाले प्रष्ट पारेकै छन्।
काठमाडौंका सबैजसो अस्पतालमा दुर्घटना हुँदा आफन्त बनेर बार्गेनिङ गर्ने उही मानिसहरुको झुण्ड रहेको कुरा खुलिसकेको छ। यस्ता समूहले पहिला बिरामी पक्षलाई उकास्ने, आफैं आफन्त बनेर मुठभेडमा उत्रिने, पहिले घटेका केही घटनाका उदाहरण दिएर न्याय खोज्नुपर्छ भन्दै माहोललाई तताउने, अस्पताल प्रशासनलाई भने झन् धेरै क्षति हुनबाट बचाउन हामी लागौं, अलिअलि पैसा दिएर यो कुरा अन्त्य गरौं भनेर कुरा ल्याउने र अन्त्यमा अस्पताल प्रशासन र बिरामी पक्षबीच समझदारी गराउने र दुवै तर्फबाट मुद्दा मिलाएकोमा केही निश्चित रकम असुल्ने गरेका छन। चिकित्सकहरु भने उनीहरुको स्वार्थको लडाईंको शिकार हुन्छन्।
प्रश्न २ : समस्या कहाँ हो?
एउटा कारण हस्पिटल आफैं हो भने अरु कारण भने बिरामीका आफन्त र चिकित्सक। सबैको आफ्नोआफ्नो दोष छ। दोष कहिले एउटाको बढी त कहिले अर्कोको हुने मात्र हो। हस्पिटलको दोषमा पर्याप्त स्वास्थ्य उपकरण र सामग्री नहुनु, राम्रालाई भन्दा हाम्रालाई स्थान दिनु, चिकित्सकलाई लामो समयसम्म ड्युटीमा खटाउनु, रेसिडेन्ट भएको विभागमा मेडिकल अफिसर नराखी तालिमको नाममा लगातार ३६ घन्टासम्म काममा खटाउनु, इमर्जेन्सी सेवामा पर्याप्त डाक्टर नराख्नु, अस्पतालको सेवा प्रवाहमा आइपर्ने बाधा अड्चनलाई ख्याल नगरी जबर्जस्ती चिकित्सकलाई मात्र पेल्नु आदि पर्छन्।
बिरामीका आफन्तको मूल समस्या भनेको सोच हो। बिरामी अस्पताल पुगेपछि बच्नु नै पर्छ, डाक्टरले कुनै पनि हालतमा बचाउनु नै पर्छ, डाक्टरहरु २४ घण्टा नै बिरामीको छेउमा हुनुपर्छ, पैसा तिरेको छ त्यसैले डाक्टर भनेका हाम्रा कमैया हुन्, हामीले जे भन्छौं त्यही मान्नुपर्छ, हाम्रो चित्त बुझ्नुपर्छ, सब पैसा तिरेर पढेका हुन् र यिनीहरु पैसाको भरमा डाक्टर भएका हुन्, यिनीहरुलाई केही आउँदैन भन्ने सोच हो। समयमै अस्पताल नपुर्याई रोग जटिल भएको, रोग देखिएपछि पनि अन्तिमसम्म घरेलु उपचारमै रहेर अस्पताल लागेपछि छिनभरमै जादु गर्न सकिँदैन भन्ने कुरालाई गहिरोसँग मनन गर्नुपर्ने हुन्छ।
चिकित्सकको दोष भनेको बिरामी पक्षलाई रोगको बारेमा बुझाउन नसक्नु या सो पक्षलाई मतलब नगर्नु, कसै-कसैले झर्किएर बोल्नु, रोग, भोक र पीडाले आक्रान्त बिरामी र उनीहरुको आफन्तको मर्म र पीडालाई महसुस नगर्नु, सिनियर चिकित्सकले प्राय: सबै काम मेडिकल अफिसर या रेसिडेन्टको हातमा छोड्नु र आफ्नो उपस्तिथि नजनाउनु, बिरामी पक्षको अगाडि आफूभन्दा जुनियरलाई गाली गर्नु, तँलाई केही थाहा छैन भनी निरुत्साहित गर्नु, कतिपय अवस्थामा अस्पताल सञ्चालक र व्यवसायीको दबाब र प्रभावमा पर्नु आदि रहेका छन्। तीतो सत्य यो हो कि, यस्ता घटनाहरुमा हामी चिकित्सकहरुको व्यवहार पनि कतै न कतै जिम्मेवार हुन्छ।
प्रश्न ३: को-को दोषी छन्?
माथि उल्लेख गरिएका तीन पक्षबाहेक अर्को दोषी मिडिया हो। मिडिया आफैं वकिल र न्यायाधीश बन्नु नै मुख्य समस्याको पाटो हो। डाक्टरको कुरा, अस्पतालको कुरा, मेडिकल विज्ञानको कुरा कुनै अधिकारिक छानबिन नभई समाचारमा 'लापरबाही' भन्ने शब्द लेख्न हतार गर्नाले समाजलाई नै गलत दिशातिर डोर्याएको छ। मेडिकल विज्ञानमा मृत्यु सामान्य प्रक्रिया हो कि लापरबाही हो वा मानवीय त्रुटि हो भन्ने कुराको निर्क्योल कुनै एउटा मात्र चिकित्सकले गर्न सक्दैन। यसमा त विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरुको समूहको अनुसन्धान आवश्यक पर्छ। यस्तो कुराको निर्क्योल कुनै पत्रकारले गर्न सक्ने भन्ने प्रश्न नै रहन्नँ।
प्रश्न ४: यो वातावरण पटक-पटक आउन नदिन के गर्न जरुरी छ?
सबैभन्दा पहिला त डाक्टरले राम्रोसँग काम गर्ने वातावरण राम्रो बनाउनुपर्ने देखिन्छ। यसको लागि राज्यले केही प्रावधानहरुको व्यवस्था गर्न जरुरी छ। हरेक समाजमा अराजक तत्व हुन्छन्। तीबाट डाक्टर साथसाथै स्वास्थ्यकर्मीलाई जोगाउन स्वास्थ्य सेवालाई आर्मी र पुलिससरह विशेष सेवा घोषणा गर्नुपर्छ। र, हाल चर्चामा रहेको ‘जेल विथआउट वेल’ लाई तुरुन्तै लागू गर्नुपर्छ।
अहिले कसैले ड्युटीमा रहेका सुरक्षाकर्मीलाई हातपात गरे, सिधै जेल चलान हुने प्रावधान जस्तै: ड्युटीमा भएका स्वास्थ्यकर्मीमा हातपात भएमा ती व्यक्तिहरुलाई सिधै जेल चलान गरी आवश्यक कारबाही अगाडि बढाउने प्रावधान हुनुपर्छ। यो कानुन नआउनुको पछाडि ठूलो राजनीति छ। त्यस्ता अराजक समूहलाई राजनीतिक पार्टीहरुले नै प्रश्रय दिएको बुझिन्छ। यस्तो प्रावधान छिमेकी देश भारतमा लागू भइसकेको छ।
अस्पतालले आफ्ना कमीकमजोरी सच्याउन जरुरी छ। अस्पतालमा उपचार सम्भव हुने केसहरु मात्र लिनुपर्छ। डाक्टरलाई सकेसम्म लगातार ८ घण्टाभन्दा बढी ड्युटीमा खटाउन बन्द गर्नुपर्छ। डिउटीमा सिनियर डाक्टरलाई पनि उपस्थित गराउने परिपाटी बसाल्नुपर्छ। कुनै पनि डाक्टरले दैनिक ८ घण्टाभन्दा बढी काम गर्न नपाउने नियम पनि ल्याउनुपर्ने देखिन्छ। र, साथै ८ घण्टा काम गरेर पनि जीवन चल्ने खालको सेवासुविधाको व्यवस्था गर्नुपर्छ।
डाक्टर चाहे जुनियर हो या सिनियर, ऊ लामो समयसम्म काम गर्दा मानसिक र भौतिक दुवै किसिमले तनाव र थकानमा हुन्छ र उसबाट गलत निर्णय हुने सम्भावना धेरै हुन्छ। विभिन्न देशमा जुनियर डाक्टर र रेसिडेन्टहरुलाई काममा खटाउन पाउने समयसीमा तोकिएको छ। जस्तै:
- संयुक्त राज्य अमेरिका: ८० घण्टा प्रतिहफ्ता
- युरोपियन युनियन: ४८ घण्टा प्रतिहफ्ता
- नर्वे: ४५ घण्टा प्रतिहफ्ता
- डेनमार्क: ३७ घण्टा प्रतिहफ्ता
- भारत: ४८ घण्टा प्रति हफ्ता (सर्वोच्च अदालतले सन् २०१३ मा तोकेको हो, तर १००-१२० घण्टा प्रतिहफ्तासम्म खटाइएको देखिन्छ)
तर हाम्रो देशमा भने त्यस्तो कुनै प्रावधान नै छैन। सेवाप्रवाहलाई चुस्तदुरुस्त पार्न यस्तो नियम आवश्यक देखिन्छ। गल्ती हुनसक्ने सम्भावना भएमा छानबिन गर्ने र दोषी डाक्टरलाई कारबाही गर्ने या कारबाहीको लागि एनएमसीलाई पत्राचार गर्ने गर्नुपर्छ।
डाक्टरले आफूबाट पर्याप्त उपचार नहुने देखेपछि सम्बन्धित विशेषज्ञसँग परामर्श गर्ने, रोग र बिरामीको अवस्थाको बारेमा आफन्तहरुसँग पर्याप्त छलफल गर्ने, उपचारका विधिहरु प्रष्ट पार्न कोशिस गर्नुपर्छ।
बिरामी पक्षले यो बुझ्न जरुरी छ कि सबै बिरामीलाई अस्पताल पुर्याउँदैमा ज्यान बच्दैन। डाक्टर भगवान होइन। तर कुनै पनि डाक्टरले उसको हातमा आएको बिरामी मरोस् भने चाहँदैन, बचाउन हरसम्भव प्रयास गर्छ। संयमता अपनाउन जरुरी छ। आफ्नो प्रियजनको ज्यान जाँदा कष्ट त हुन्छ तर आबेगमा आएर अरुमाथि हात हाल्दैमा त्यो ज्यान फर्केर आउँदैन। यदि साँच्चै डाक्टरले हेलचेक्र्याईं गरेको जस्तो लाग्छ भने कानुनी उपचार खोज्नुपर्छ। जसले गर्दा डाक्टरको लापरबाही प्रमाणित भयो भने त्यो डाक्टरबाट तपाईंले अरु सयौं प्राण जोगाउनु हुनेछ।
प्रश्न ५: समाज र मिडियाले के बुझ्न जरुरी छ?
अहिले यो महामारीमा त सायद एउटा सानो बच्चाले पनि डाक्टर को हुन्, के गर्दा रहेछन् भन्ने केही मात्रामा बुझेको होला र आमाबाबुलाई ठूलो भएपछि म पनि डाक्टर बनेर कोरोनाबाट मान्छेलाई बचाउँछु भन्छ होला। पक्कै पनि हाम्रो समाजलाई डाक्टर को हो, के गर्छन् र उनीहरुलाई कस्तो नजरले हेरिनुपर्छ भन्ने थाहा छ।
अहिले त सहरमा हरेक टोलमा २-४ जना डाक्टर छन्। प्राय: परिवारमा १-२ जना डाक्टर छन्। डाक्टरले के कसरी काम गर्छन्, उनीहरुको तलब कति छ, उनीहरु कति खट्छन्, कति समय लगाएर पढेका हुन्छन् भन्ने समाजका सबैलाई थाहा छ। डाक्टरलाई हातपात गर्ने गाउँ या दूरदराजका मान्छेहरु होइनन्, यहीं सहरका पढेलेखेका मान्छे अग्रसर हुन्छन्।
कुन मानोविज्ञानले कसरी काम गरेको छ यस्ता घटना हुन भनेर नियाल्न जरुरी देखिन्छ। के समाजको अस्पताल र डाक्टरमाथि धेरै नै अपेक्षा भएर सायद त्यो अपेक्षा डाक्टर र अस्पतालले पूरा गर्न नसकेर होकि? यथार्थलाई आत्मसात गर्नुपर्ने देखिन्छ समाजले।
बिरामीको मृत्यु हुनुमा धेरै पक्षहरु हुन्छन्। केबल उपचारलाई मात्र दोष दिन मिल्दैन। हो, लापरबाही भएको हुनसक्छ तर त्यसका लागि कानुनी उपचार छ। नेपाल मेडिकल काउन्सिलजस्ता उजुरी दिने निकाय छन्। छिमेकीले जग्गा मिच्यो भने तपाईं उसलाई कुट्न जानुहुन्न। सुरुमा वार्ता गर्नुहुन्छ, कुरा मिलेन भने अदालत जानुहुन्छ। त्यसरी नै कानुनी राज्यमा एउटा सभ्य नागरिकले आफूमाथि अन्याय भएको महसुस भएमा कानुनी उपचार खोज्ने हो न कि हुलदङ्गा।
भनिन्छ, मिडियाले समाज रुपान्तरण गर्न सक्ने तागत राख्छ। हाम्रो परिपेक्ष्यमा केही मिडिया बाहेक धेरैले समाजलाई सुसूचित गर्नुको साटो भ्रम फैलाउने काम गरेको देखिन्छ। मिडियाले यो बुझ्न जरुरी छ भने उसको एउटा नराम्रो शब्द चयनले समाजमा आगो दन्किन सक्छ। त्यसैले संयमित भएर उक्त समाचारले समाजमा ल्याउने तरङ्गलाई ख्याल गर्नुपर्ने देखिन्छ।
(लेखकहरु बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आवासीय चिकित्सक हुन्।)