कोभिड-१९ विशेष

क्वारेन्टाइन किन र कसका लागि?

डा खगेन्द्र ओली

३१ डिसेम्बर २०१९ देखि चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) ले यतिखेर विश्वलाई नै आच्छुआच्छु पारेको छ। भाइरस महामारीको रुपमा फैलिएपछि संसारभर ‘क्वारेन्टाइन’ शब्दको प्रयोग अत्यधिक भएको पाइन्छ। तर नेपालमा भने क्वारेन्टाइनका बारेमा अझै पनि थुप्रै भ्रम र अफवाह जारी छ। यही क्वारेन्टाइनको अप्रेसन गर्ने प्रयास हो यो आलेख।

क्वारेन्टाइन शब्द वेनसन भाषाबाट लिइएको हो। यसको अर्थ ४० दिन भन्ने हुन्छ। इशापूर्व सातौं शताब्दीमा नै क्वारेन्टाइनको अभ्यास भएको पाइन्छ। इशापूर्व सातौं शताब्दीमा मोसाको व्यवस्थाअनुसार बाइबलको पुस्तक लेवी १३ अध्यायमा छाला सम्बन्धी संक्रमण भएका मानिसलाई संक्रमण फैलनबाट बचाउन सात दिनसम्म अलग राखी उपचार गर्ने प्रचलन थियो।

यदि सात दिनसम्म पनि केही सुधार नभएमा त्यसलाई फेरि सात दिनसम्म अलग राखेर हेर्ने गरिन्थ्यो। यदि रोग निको भएमा त्यस व्यक्तिलाई समाजमा घुलमिल गर्न छुट थियो। निको नभएमा फेरि सात दिनसम्म अलग राखिन्थ्यो। यसरी हेर्दा प्राचीन समयदेखि नै महामारीजन्य रोगहरुमा मानिसलाई रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन नदिन संक्रमित र शंकास्पद व्यक्तिहरुलाई परिवार समाजबाट केही समय अलग गरी उपचार गर्ने प्रचलन विश्वभर रहेको पाइन्छ। 

सन् १३४८ देखि १३५९ सम्म युरोपमा प्लेग रोग फैलिँदा शंकास्पद मानिसहरुलाई रोग फैलन नदिन अलग्गै राखेर उपचार गरेको पाइन्छ। दक्षिणपूर्वी युरोपको क्रोएसियाले यहाँ आउने जहाजका मानिसलाई एक टापु (आइल्यान्ड) ३० दिनसम्म अलग्गै राख्थे, यस समयलाई ट्रेन टाइम भनिन्थ्यो। पछि सन् १४४८ मा यसलाई बढाएर ४० दिन बनाइयो। त्यहीबाट क्वारेन्टाइन शब्दको सुरुवात भयो। यसरी हेर्दा क्वारेन्टाइन शब्दको अर्थ ४० दिन हुन्छ। त्यसैगरी, विश्वका ठूला महामारी प्लेग, एलो फिवर, हैजा आदिमा पनि मानिसलाई क्वारेन्टाइनमा राखेर रोग फैलनबाट बचाइएको थियो। 

नेपालमा विसं १८५७ मा जंगबहादुर राणाले कुष्ट रोगीहरुलाई काठमाडौंको खोकनामा अलग राखेर उपचार गर्ने व्यवस्था मिलाएको पाइन्छ। त्यसैगरी विसं १९८० मा चन्द्रशमशेर उनकी श्रीमतीलाई टिवी रोगले सताउँदा काठमाडौंको टोखा जंगलको बीचमा टिवी उपचार गर्ने घर बनाएर केही समय त्यहीं बस्ने व्यवस्था मिलाएका थिए। जसलाई स्वास्थ्य निवास भनिन्थ्यो। आज त्यही स्वास्थ्य निवासमा आर्मी अस्पताल बनेको छ। 

नेपालको परिप्रेक्षमा क्वारेन्टाइनको राम्रो प्रयोग भएको पाइन्छ। विसं १९९० मा कोलेराको महामारी भएको बेलामा जुद्धशमशेरले टेकुमा कोलेरा उपचार गर्ने छुट्टै स्थानको व्यवस्था मिलाएका थिए। त्यो स्थान मानव वस्तीबाट अलग थियो। त्यहाँ कसैको मृत्यु भएमा आर्यघाट लान पाइँदैनथ्यो। त्यस्ता लासलाई त्यहीं जलाउने व्यवस्था मिलाइएको थियो। त्यही संस्था विकसित भएर अहिले राष्ट्रिय जनसंख्या प्रयोगशाला र टेकु अस्पताल भएका छन्। 

यसरी इतिहास पल्टाएर हेर्दा हाम्रो देश नेपालमा पनि विभिन्न महामारीको समयमा संक्रमणलाई रोक्न क्वारेन्टाइनको प्रयोग सफल रुपमा रहेको पाइन्छ। यति मात्र होइन, विश्वका विभिन्न जाति र धर्म मान्ने समुदायले समेत विशेष समयमा मानिसहरुलाई सरुवा रोग लाग्नबाट बचाउन र फैलन नदिन अलग राखेर उपचार गरेको प्रमाणहरु पाइन्छ। 

साधारणत कोरोना भाइरसले संक्रमण गरेको ६ दिनसम्म कुनै पनि लक्षण नदेखिन सक्ने र ६ दिनपछि ८ दिन भित्रमा लक्षण देखाउन सक्ने तर, पूरै १४ दिनसम्म रोग सार्न सक्ने भएकाले १४ दिन देखि १७ दिनसम्म क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको हो। 

हाल नेपालको क्वारेन्टाइनको अवस्था
 
विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गरेका क्वारेन्टाइनहरु सायद नेपालमा कमै होलान्। विश्वको विकसित देशहरुले समेत थेग्न नसकेको यो जटिल परिस्थितिमा अल्पविकसित देशहरुले सबै मापदण्ड पूरा गरेका क्वारेन्टाइन बनाउन सम्भव पनि नहोला। तर मध्यम स्तरको बनाउने कुरामा पनि धेरै कमिकमजोरी भएका छन्। 

नेपालका कतिपय ठाउँमा क्वारेन्टाइनमा बस्दा जेल जीवन वा हिरासतजस्तै लागेर वितृष्णा जाग्यो र कति मानिसहरु त्यहाँबाट भागेका समाचार नआएका भने होइनन्। कतिपय मानिस अज्ञानताले गर्दा क्वारेन्टाइनभित्र पनि विनामाक्स समूहमा बसेर गेम खेल्ने, रमाइलो गर्ने गरेको पाइयो। एक जनाले खैनी माँडेर दस जनासम्मलाई वितरण गरेकोसमेत पाइयो। यसले गर्दा सम्पूर्ण क्वारेन्टाइनमा नै क्रस इन्फेक्सन हुने चान्स बढेर गयो। यसले गर्दा क्वारेन्टाइन नै खतरामा पर्ने सम्भावना रह्यो।

यदि नेपालमा भाइरस म्युटेड हुने थिएन भने यसले धेरै मानिसको ज्यान लिने खतरा प्रवल थियो। संक्रमणको यति जोखिम हुँदाहुँदै पनि क्वारेन्टाइनको फितलो व्यवस्थापनले गर्दा कतिपय ठाउँमा महिलाहरु हिंसापीडित हुन पुगे भने कति ठाउँमा त बलात्कृत समेत भए। यसले क्वारेन्टाइनको मर्म र भावनालाई कुठाराघात ग¥यो।

क्वारेन्टाइन कतै पनि सामाजिक भएको पाइएन। यो फगत ठूलै अपराध गरेर आएका मानिसहरुलाई राख्ने सुधार केन्द्रजस्तो मात्र हुन गयो। क्वारेन्टाइन राख्ने सवालमा मानिसको चेतनाको कमीले गर्दा कतिपय ठाउँहरुमा ठूलो वाधा–विरोधहरु पनि भए। मानिसहरुले आफैंले आफूलाई चिन्न सकेनन्। र, यदि आफू पनि संक्रमित भइयो भने कहाँको क्वारेन्टाइनमा बस्ने भनेर सामान्य तरिकाले समेत चिन्तन गर्न सकेनन्। यसो हुनुका प्रमुख कारणमध्ये विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा भएका भ्रमात्मक समाचार पनि एक हुन्। 

यो समय हाम्रो लागि सिकाइको समय पनि हुन पुग्यो। कोरोनाको कहरबाट हामीले प्रत्येक वडामा कम्तीमा एउटा सामुदायिक भवन बनाउनैपर्छ भन्ने पाठ सिक्यौं। यदि सामुदायिक भवन हुन्थ्यो भने अहिलेजस्तो अव्यवस्थित र विवादित विद्यालयमा क्वारेन्टाइन राख्न पर्दैनथ्यो। 

अन्त्यमा, अब सबै स्वास्थ्यकर्मीलाई कोरोनाको विषयमा तालिम दिएर गाउँगाउँमा मानिसहरुलाई जनचेतना जगाउने खालका कार्यक्रम गर्न जरुरी छ। स्वास्थ्यकर्मीसँगै सामाजिक मनोविमर्शकर्तालाई पनि परिचालन गर्नुपर्छ, जसले फाटेका मनमा मल्हमपट्टी लगाउने ती मनलाई सिलाउने काम गर्छन्। यसले समाजमा क्वारेन्टाइनको डर, त्रास र बाध्यताबस भोग्नु परेको पीडाबाट मुक्ति दिन्छ अनि आत्महत्या र डिप्रेसनको समस्यालाई समेत कम गर्छ।

कतिपय ठाउँमा क्वारेन्टाइनमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत कोभिड–१९ पोजेटिभ भएका मानिसलाई समाजले हेर्ने दृष्टिकोण र गर्ने असामाजिक व्यवहारले उनीहरुमा एक प्रकारको भावनात्मक असर देखिएका छन्। त्यस विषयमा कसैको ध्यान गएको देखिन्न। यस्ता विषयलाई बेलैमा हल गर्न जरुरी छ। बेलैमा समाधानको उपाय नखोजे यसको असरले दूरगामी मानसिक समस्या ननिम्त्याउला भन्न सकिन्न। 

त्यसैगरी, अब आउने दिनहरुमा कोरोनाको कहर कति दिनसम्म रहन्छ भन्ने कुरा अहिलेसम्म विज्ञहरुबाट यकिन हुन नसकेको अवस्थामा विद्यालयहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिरहन व्यावहारिक नभएको हुँदा होम क्वारेन्टाइन वा क्वारेन्टाइनको नवीनतम अवधारणा ल्याउन जरुरी छ। जसमध्ये होम क्वारेन्टाइन पनि एक विकल्प हुन सक्छ।

शंकास्पद व्यक्तिलाई सिधै आफ्नो घरको कोठामा अलग्गै बस्ने व्यवस्था गरेर राख्ने, १४ दिनपछि निश्चित ठाउँबाट नै स्याम्पल कलेक्सन गर्ने व्यवस्था मिलाउने र पोजेटिभ भएका र उपचार जरुरी भए अस्पतालमा रेफर गर्ने नत्र घरमा नै स्वास्थ्यकर्मीको निगरानीमा सुरक्षित राख्ने व्यवस्था मिलाउँदा राम्रो र वैज्ञानिक हुनसक्छ। जुन परिवारमा पर्याप्त कोठाहरुको व्यवस्था छैन, उनीहरुलाई स्पेसल टेन्टको व्यवस्था गर्न सकिन्छ। यसो गरेमा क्वारेन्टाइनको खर्चसमेत कम गर्न सकिन्छ। 

अब कोभिड–१९ सँग डराएर, निराश भएर होइन, उच्च मनोबलका साथ देशमा भएका सबै निकायले काँधमा काँध मिलाई सावधानी अपनाएर विकल्पहरुको खोजी गर्नु र त्यसलाई सही व्यवस्थापन गर्नुका साथै कोरोनाबाट बच्ने सबैभन्दा भरपर्दो उपाय भनेको सामाजिक दूरी कायम गर्नु नै हो। त्यसैले सम्पूर्ण जनताले यसो गर्न सकेमा मात्र कोरोना विरुद्धको लडाईंमा मानव जातिको जीत हुनेछ। 

(डा ओली इटहरीस्थित इन्खा पोलिक्लिनिक प्रालिका निर्देशक हुन्।)
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने