दीपा पाैडेल
प्युठान- जिल्ला अस्पताल प्युठानमा फिजियोथेरापी सेवा सुरु भएको छ।
जिल्ला अस्पतालमै फिजियोथेरापी सेवा सुरु भएपछि नसा तथा हाडजोर्नीका समस्या भएका बिरामीको उपचारमा सहज हुने विश्वास गरिएको छ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अमृत पन्थीले फिजियोथेरापी सेवाको अभावमा बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता अन्त्य हुने विश्वास रहेको बताए। उनले भने ‘फिजियोथेरापी सेवा देशभरका जिल्ला अस्पतालहरुमा सायदै पहिलो हो। यसले हाडजोर्नी समस्या भएका बिरामीलाई सहज रुपमा सेवा दिन सकिने विश्वास छ।’
सामाजिक विकासमन्त्री सुर्दशन बरालले प्युठान जिल्ला अस्पतालको सेवा सुधारका लागि आफु प्रतिवद्ध रहेको बताए। प्युठान अस्पतालबाट प्रदान गर्ने सेवा सुविधाहरु विस्तारै वृद्धि हुदैं गईरहेको समेत उल्लेख गरे। मन्त्री बरालले अस्पतालका लागि भौतिक पुर्वाधार सुधारका साथै दरबन्दी अनुसारको दक्ष जनशक्ति व्यवस्थापनका लागि आफुले प्रदेश र केन्द्र स्तरसम्म पहल गर्ने बताए।
कोभिड–१९को जोखिमबाट बच्च सुरक्षित भएर सेवा प्रवाह गर्न पनि मन्त्री बरालले स्वास्थ्यकर्मीलाई आग्रह गरे।
अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्यले अस्पतालको विकासका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए।
प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले ५० शय्या स्तर वृद्धि भएको जिल्ला अस्पतालको भौतिक संरचना निर्माणका लागि आवश्यक जग्गाको व्यवस्थापन गरिसकेको भन्दै छिट्टै निर्माण प्रक्रिया सुरु गर्ने जानकारी दिए।
वि.सं. २०४५ सालमा स्थापना भएको जिल्ला अस्पतालले पछिल्लो समय आफ्ना सेवा सुविधाहरु बढाउँदै लगेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अमृत पन्थीको भनाई छ।
अस्पतालले प्रदान गर्दै आएको सेवा सुविधा र अन्य जानकारीको अभिलेख राख्न वेबसाइट समेत सुचारु गरेको छ।
त्यस्तै अस्पतालले आईतबार देखि नै अटोमेटेट एनालाइजरको समेत प्रयोग सुरु गरेको छ । जसकाकारण प्रयोगशाला परिक्षणको रिपोर्ट प्राप्त गर्न घण्टौ समय कुर्नु पर्ने समस्याको समाधा नहुने डा पन्थीको भनाई छ।