काठमाडौं- चिकित्साशास्त्र अध्यययन संस्थान (आइओएम)बाट सम्बन्धन प्राप्त गण्डकी मेडिकल कलेजका दुई चिकित्सा विषयका शिक्षकलाई अनुभव र योग्यताविना नै प्राध्यापक बनाइएको भन्दै पद खारेजीको माग गरिएको छ।
कलेजका अर्थोपेडिक्स चिकित्साका डा रविन्द्र श्रेष्ठ र एनेस्थेसियाका डा टुमाया घलेको सन्दर्भमा विवाद उत्पन्न भएको हो। अनियमित ढंगले भएको पदप्रमाणिकरण र बढुवाका खारेजीका लागि आइओएमलगायत विभिन्न सरोकारवाला निकायमा उजुरी दिएको डक्टर्स सोसाइटी नेपाल पोखराका चिकित्सक डा विकास नेपालले बताए।
त्रिवि सेवा आयोगले शिक्षक नियुक्तिका आधार कार्यसम्पादन मूल्यांकन तथा कार्यक्षमता अंक विभाजन तथा सिफारिससम्बन्धी व्यवस्था गरेको छ। २०५२ को दफा २ मा सहप्राध्यापक पदका लागि आवश्यक न्यूनतम योग्यता र डिन कार्यालयले पनि न्यूनतम आधारविपरीत देखिएको छ।
नियमाअनुसार सह प्राध्यापक पदोन्नति हुन एमबिबिएस वा सो सरह उत्तीर् णगरी क्याम्पस/महा-विद्यालयमा सम्बन्धित विषयमा कम्तीमा १२ वर्ष पढाएको अनुभवन प्राप्त र एमडी डिग्रीपछि ३ वर्ष पढाएको हुनुपर्ने व्यवस्था छ।
डा नेपालले डा श्रेष्ठ र डा घले दुवैको सन्दर्भमा लेखरचना र ५ वर्ष शिक्षण गरेको शर्त नहेरी प्राध्यापक बनाएको र यसमा विभिन्न पदाधिकारीको मिलेमतो रहेको आरोप लगाए।
डा श्रेष्ठको सन्दर्भमा २०७० जेठ २१ गतेदेखि उपप्राध्यापक र २०७२ असार ३० गते प्राध्यापक भएको आइओएमको रेकर्डमा उल्लेख छ।
डक्टर्स सोसाइटी अफ नेपालका नाममा परेको उजुरीमा एमबिबिएस उत्तीर्णपछि कम्तीमा १२ वर्ष पढाएको र एमडीपछि ३ वर्ष पढाएको अनुभव नपुगेको उल्लेख छ। चिकित्सकद्वयको ५ वर्ष शिक्षण पेसामा नभएको र दुवै त्यस समयमा फेवासिटी अस्पतालमा काम गर्दै आएको अवस्थामा कसरी सिधै प्राध्यापक पद दिइयो? भनी प्रश्न गरिएको छ।
डा नेपालले यसमा डिन कार्यालयको बदमासी र अनियमिता भएको भन्दै तुरुन्त छानविनको माग गरिएको बताए।
