काठमाडौं- लकडाउनको तीन महिनामा २५ जना स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएको पाइएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले गरेको मानव अधिकार अनुगमनमा लकडाउनको तीन महिनामा २५ जना स्वास्थ्यकर्मी दुर्व्यवहारमा परेको पाइएको हो।
कोरोना महामारीको समयमा अग्रपंक्तिमा रहेर काम गर्नुपर्ने स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार हुँदा पनि प्रहरी प्रशासनबाट समयमै सुरक्षा प्रदान नगरिएको भन्दै इन्सेकले आलोचना समेत गरेको छ।
स्वास्थ्यकर्मीमाथि आक्रमण तथा दुर्व्यवहारका घटनामा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन इन्सेकले माग गरेको छ।
क्वारेन्टाइनमा राम्रो व्यवस्था नभएको, हजारौंको संख्यामा भारतबाट आएका नेपालीलाई उचित व्यवहार नगरिएको, स्वास्थ्य उपचारमा लापरबाही गरिएको उक्त अनुगमनका क्रममा पाइएको छ। इन्सेकले चैत ११ देखि असार १० गतेसम्म अनुगमन गरेको थियो।