वीरेन्द्रबहादुर बुढा
बालबालिकालाई ६ महिनासम्म अनिवार्य रुपमा आमाको दूध चुसाउनु पर्छ। आमाको दूधले बच्चाको शारीरिक र मानसिक वृद्धि विकास गर्छ। विश्व स्वास्थ्य संगठनले त बच्चालाई २ वर्षसम्म अनिवार्य रुपमा आमाको दूध चुसाउन सिफारिस गरेको छ।
हाम्रो समाजमा आमाको बिगौते दूध फाल्ने चलन पनि छ। तर यसलाई भुलेर पनि फाल्नु हुँदैन। यो दूधमा विशेष प्रकारका रोग प्रतिरोधात्मक तत्व र भिटामिनहरु हुन्छन्, जसले बालबालिकालाई अनेक रोगबाट बचाउनुका साथै रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता प्रदान गर्छ
बच्चालाई ६ महिनासम्म ठोस खाना र पानी केही पनि खुवाउनु पर्दैन। आमाकै दूधले खानेकुरा र पानीको मात्रा पूरा गर्छ। नवजात शिशु आमाको दूधकै भरमा ६ महिनासम्म तन्दुरुस्त हुन्छ। आमाको दूधमा त्यस्तो शक्ति छ, जुन मानवनिर्मित दूधमा छैन। यसले बच्चालाई मात्र होइन, यसले आमालाई पनि उत्तिकै फाइदा गर्छ।
स्तनपानको महत्त्व
– आमाको दूध बालबालिकाको लागि अमृत समान हो।
– यसले बालबालिकाको जीवन रक्षा गर्छ।
– यो सधैँ सफा र सुरक्षित हुन्छ।
– यसमा बालबालिकालाई आवश्यक पर्ने पर्याप्त पानी र खनिज तत्व हुन्छ।
– आमाको दूधमा झाडापखाला तथा श्वासप्रश्वास सम्बन्धी संक्रमणहरु विरुद्ध लड्ने प्रतिरोधात्मक तत्वहरु रहेको हुन्छ।
– यो सधैं तयारी अवस्थामा र उपयुक्त तापक्रममा उपलब्ध हुन्छ।
– बालबालिकाको लागि यो पूर्ण खाना हो।
– आमाको दूधमा बालबालिकालाई ६ महिना पूरा नभएसम्म आवश्यक पर्ने सम्पूर्ण पोषक तत्वहरु प्रर्याप्त मात्रामा हुन्छ।
– यसले बालबालिकाको उपयुक्त वृद्धि तथा विकास हुन मद्दत गर्छ।
– यो बालबालिकाले सजिलै पचाउन सक्छन्।
– यसमा रहेका पोषक तत्वहरु शरीरले राम्ररी सोस्न सक्छ।
– आमाको दूधले एलर्जी विरुद्ध रक्षा गर्छ।
– दूधमा रहेको प्रतिरोधात्मक तत्वले बालबालिकाको आन्द्राको रक्षा गर्छ र हानिकारक तत्वहरुलाई रगतसम्म पुग्न दिँदैन।
– यसले गिजा र दाँतको विकास गर्न सहयोग गर्छ तथा दूध चुसाइले अनुहारको मांसपेसीको विकास गर्न सहयोग गर्छ।
– आमासँग पटकपटक टाँसेर राख्ने गरेमा स्नेहपूर्ण सम्बन्ध हुन्छ, जसले बालबालिकाको मानसिक, शारीरिक तथा सामाजिक विकास गर्न पनि सहयोग गर्छ ।
– ६ महिनापछि पनि शिशुको पोषणको धेरै आवश्यकता पूरा गर्छ।
आमाको लागि स्तनपानको महत्व
– बालबालिका जन्मने बित्तिकै आमाको दूध चुसायो भने सालनाल छिट्टै बाहिर निस्कन्छ किनभने बालबालिकाले दूध चुस्दा पैदा हुने उत्तेजनाले पाठेघर खुम्चन्छ र बालबालिका जन्माएपछि बढी रगत बग्ने खतरालाई घटाउँछ।
– बालबालिका जन्मने वित्तिकै उसलाई आमाको दूध चुसाएमा स्तनबाट धेरै दूध आउन सहयोग गर्छ। तुरुन्तै र पटकपटक दूध चुसाउनाले स्तन गानिनबाट रोकथाम हुन्छ।
– आमाको कामको भारलाई घटाउँछ।
– पानी उमाल्न इन्धन जुटाउने, दूध बनाउने आदि काम गर्नु पर्दैन।
– आमाको दूध जुनसुकै बेला र जहाँ पनि खुवाउन सकिन्छ।
– यो सधैं सफा, पोषिलो र ठिक तापक्रमको हुन्छ।
– प्रोपर रूपमा दूध चुसाउँदा परिवार नियोजनको कार्य पनि गर्छ।
बोतल फिडिङ
आमाको दूध खुवाउन छोडेर बोतलको दूध खुवाउनु भनेको बालबालिकालाई मार्नु भन्ने बुझिन्छ। त्यसैले सकेसम्म बोतल फिडिङ गर्नुहुँदैन। गर्नैपर्ने भए फार्मेसीमा बोतल किन्दा राम्ररी हेरेर सही बोतल छनोट गर्नु उपयुक्त हुन्छ।