कोभिड-१९ भिडियो

कोरोना भाइरस समुदायस्तरमा फैलिएको हो? काठमाडौंका कुन ठाउँ बढी प्रभावित छन्? [भिडियो वार्ता]

लकडाउन खुलेपछि मानिसहरु सतर्क हुनुपर्ने ठाउँमा झन् हेलचेक्र्याइँ बढ्यो

नेपालमा कोरोना संक्रमित र मृतकको संख्या बढ्दो छ। गएको ६ महिनाको अवधिमा संक्रमितको संख्या २० हजार नाघिसकेको छ। पहिले लक्षण नभएका संक्रमित भेटिन्थे भने हाल लक्षण भएका संक्रमित भेटिन थालेका छन्। विभिन्न विज्ञहरुले कोरोना समुदायस्तरमा फैलिएको समेत बताउँदै आएका छन्। 
कोरोना महामारी नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेमध्ये एक हो, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा। यस महाशाखाले समुदायस्तरमा कोरोना फैलिएको छ÷छैन भनेर अध्ययन समेत गरेको थियो। के नेपालमा कोरोना संक्रमण समुदायस्तरमा फैलिएको हो ? कोरोना महामारी नियन्त्रणका लागि यस महाशाखाले के कस्तो काम गरिरहेको छ ? लगायत विषयमा स्वास्थयखबरकी कल्पना पौडेलले महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेसँग कुराकानी गरेकी छिन्। 


कोरोना भाइरसको महामारी नियन्त्रणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कसरी काम गर्दैछ ?
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा भनेको रोग नियन्त्रणका लागि प्रमुख जिम्मेवारी लिएको महाशाखा हो। सामान्यतया विभिन्न प्रकोप तथा महामारी नियन्त्रणका लागि हामीले काम गर्ने हो। तर अहिले देखिएको कोरोना महामारी नियन्त्रणका लागि हाम्रो महाशाखा मात्र नभई स्वास्थ्य मन्त्रालय सहित अन्य विभिन्न मन्त्रालय जुटिरहेका छन्। 

हाम्रो आफ्नै संरचना छ। सर्भिलेन्स, घटनाको अध्ययन, कन्ट्याक ट्रेसिङ गर्ने र उसले गर्दा अन्यलाई संक्रमण नहोस् भन्ने हाम्रो उद्देश्य हो। सर्भिलेन्स सिस्टम हामीसँग पहिलेदेखि छ। त्यसलाई हामी अर्लि वार्निङ रिपोटिङ सिस्टम भन्छौ। यो सिस्टमबाट हामीलाई विभिन्न रोग बारे जानकारी आउँछ। 

१ सय १८ सेन्टिनल साइटहरु छन्। यी साइटहरुबाट हामीलाई विभिन्न महामारीजन्य रोगहरु जस्तै, डेंगु, इन्फ्लुएन्जा, झाडापखाला लगायत रोगहरुको जानकारी आउँछ। हरेक दिन साँझ ६ बजे यसको अपडेट हुन्छ। 

नेपालमा पहिलो संक्रमित भेटिदा म शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकको रुपमा कार्यरत थिए। चीनबाट फर्किएका एक युवामा कोरोना भेटिएको थियो। ती युवाको नमूना परीक्षणका लागि हामीले हङकङ पठाएका थियौं।

ती युवाको नमूना हङकङ पठाइरहँदा हामीले केही तयारी सुरु गरिसकेका थियौं ?
त्यस्तो तयारी केही गरेका थिएनौं। ती युवा शुक्रराज अस्पतालमा आउँदा यहाँका डाक्टर, नर्स कुनै पनि स्वास्थ्यकर्मीलाई कोरोना भाइरसबारे खासै जानकारी थिएन। त्यसैले पनि त्यो समय त्यस्तो कुनै तयारी गरेका थिएनौं। 

मास्क सबैको लगाएका थियौं। तर अहिले कोरोना संक्रमितका बिरामीलाई उपचार गर्दा गरिने खालका कुनै पनि प्रक्रिया अपनाएका थिएनौं। पछि ती युवामा कोरोना पुष्टि भएपछि हामीलाई चिन्ता भयो। किनभने ती युवाको उपचारमा करीब १५ जना जति स्वास्थ्यकर्मीहरु खटिएका थिए। पछि पिसिआर परीक्षण गर्दा कुनै पनि स्वास्थ्यकर्मीमा संक्रमण देखिएन। 

अहिले देशभर विभिन्न प्रयोगशालामा कोरोना परीक्षण हुन्छ। हरेक प्रयोगशालाहरुबाट हामीलाई रिपोर्ट आउँछ। पोजेटिभ केसहरुको हामीले विश्लेषण गछौं। हाम्रो महाशाखा अन्तर्गत एउटा कन्ट्रोल रुम हुन्छ। यो टिममा ४ देखि ६ जना हुनु हुन्छ। उहाँहरुले त्यो पोजेटिभ रिपोर्टहरु कुन जिल्लाबाट आएको, महिला र पुरुष, यो पहिले आएको रिपोर्ट हो या नयाँ हो लगायत कुराहरु हामीले हेर्नुपर्छ। 

यी सबै कुराहरु विश्लेषण गरीसकेपछिको जानकारी हामीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पठाउँछौं। स्वास्थ्य मन्त्रालयले यसमा अरु तथ्यांकहरु थप गरेर सवा ४ बजे ब्रिफिङ गर्छ। 

यसपछि हामी विश्लेषा गछौं। हाम्रो केस म्यानेजमेन्ट टिम छ। यो टिमले बिरामीको उपचार गर्ने होइन। तर संक्रमित व्यक्तिहरु कहाँ–कहाँ छन्, उनीहरुलाई अस्पतालमा कसरी पुर्‍याउने भन्ने काम हुन्छ। 

केस म्यानेजमेन्ट टिम सबै जिल्लामा छन् त ?
महाशाखा अन्तर्गत भएको कन्ट्रोल रुमको टिमले यहाँ भएको सबै जानकारी जिल्लामा पनि पठाउँछ। विशेषगरी हामीले सामाजिक विकास मन्त्रालयमा पठाउँछौं। मन्त्रालयले सम्बन्धित स्थानमा खबर गर्छ। 

प्रयोगशाला रिपोर्टमा संक्रमित व्यक्तिको नाम, उमेर र सम्पर्क नम्बर हुन्छ। संक्रमित व्यक्तिलाई सम्पर्क गरेर प्रदेश सरकारले सम्बन्धित स्थानमा समन्वय गरेर अस्पतालमा लैजानेदेखि अन्य व्यवस्थापनको काम हुन्छ। काठमाडौं उपत्यकाको हक भने केस म्यानेजमेन्ट टिमले यसको सबै हेर्नुपर्ने हुन्छ। 

कोरोना महामारी नियन्त्रण्मा यस महाशाखाले कति जनशक्ति खटाएको छ ?
हामीले यसकै लागि भनेर छुट्टै कर्मचारी खटाएका छैनौं। तर केही समयअघि कन्ट्याक ट्रेसिङका लागि पाँच जनाको टोली प्रत्येक प्रदेश एक महिनाका लागि पठाएका थियौं। त्यसपछि हामीले पठाएका छैनौं।

हामी चार वटा रोग उन्मूलनमा लागिरहेका छौं। जस्तै, मलेरिया, हात्तिपाइने, कुष्ठरोग, कालाजार रोगको उन्मूलनमा छौं। यही कामका लागि खटिएका जनशक्तिहरु नै पुरा बन्द गरेर अहिले कोरोना नियन्त्रणका लागि खटिरहेका छन्। 

६ महिनादेखि यी कामहरु बन्द छन्। निश्चित समयभित्र यी रोगहरुलाई उन्मूलन गर्ने हामीले अन्तर्राष्ट्रिय प्रतिवद्धता गरेका छौं। तर त्यो कामलाई पनि अहिले असर पुगेको छ। तीनै व्यक्तिलाई हामीले कोरोना नियन्त्रणमा खटाएका छौं। हामीसँग अहिले २५ जना हुनुहुन्छ। 

हामीले स्वास्थ्य सेवा विभाग अन्तर्गतको अरु कर्मचारीलाई पनि कन्ट्याक ट्रेसिङको तालिम दिएका छौँ। सुरुमा हामीले कन्ट्याक ट्रेसिङका लागि २० वटा टिम बनायौं। एक इपिडिमियोलोजीष्ट अथवा यसको तालिम गरेको, प्रयोगशालाका, जनस्वास्थ्य अधिकृत र चिकित्सक राखेर टिम बनाउथ्यौँ र परिचालन गर्‍थ्यौँ। तर अहिले संक्रमितको संख्या २० हजार नाघिसकेको छ। यो २० वटा टिमले गर्न सक्ने कुरा भएन। स्वास्थ्य मन्त्रालयले सिआइसी टिम बनाएको छ। देशभर नै १ हजार ७५ गठन गर्ने कार्यविधि बनाएको छ। त्यही अनुसार अहिले करीब ५ सय जति टिम गठन समेत भइसकेका छन्। 

देशभर कोरोना संक्रमितको संख्या २० हजार नाघिसकेको छ। हामी अहिले कोरोना संक्रममणको कुन चरणमा छौं ?

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणको तीन वटा चरणहरु हुन्छन्। पहिलो चरणमा छिटफुट संक्रमित भेटिनु हो। दोस्रो चरण भनेको क्लस्टर अफ केसेस हो। संक्रमितहरु समूहहरुमा भेटिनु। एक ठाउँमा धेरै भेटिन्छन् तर धेरै फैलावट हुँदैन। तेस्रो चरण भनेको समुदायमा संक्रमण फैलिनु र नियन्त्रण बाहिर जानु हो। यसमा कन्ट्याक ट्रेसिङ गर्न कठिनाई समेत हुन्छ। 

यी सबलाई आधार मानेर हेर्दा हामी अहिले क्लस्टर अफ केसेस अर्थात् दोस्रो चरणमै छौं। पहिले हामीले सबै तथ्यांकहरु जिल्ला स्वास्थ्य कार्यालयबाट लिन्थेउ। अहिले विभिन्न पालिका तथा नगरपालिकाले प्रदेशको सामाजिक विकास मन्त्रालयलाई दिन्छ। अनि मन्त्रालयले अन्य निकायलाई दिने गर्छ। यसले गर्दा पनि कहिले काही पुरा तथ्यांक हामीसँग आउँदैन।

तर हामीसँग भएको जानकारी र तथ्यांकका आधारमा भन्नुपर्दा ९७ प्रतिशत संक्रमितहरु विदेशबाट आएको पाइयो। जुन अधिकांश क्वारेन्टाइनबाट पुष्टि भएका हुन्। बाँकी ३ प्रतिशत मात्र स्थानीय स्तरको देखियो। 

अहिले त क्वारेन्टाइनमा रहने व्यक्तिको संख्या पनि घट्दै गएको छ। तर संक्रमितको संख्या भने बढ्दो छ। संक्रमितको संख्या कसरी बढ्दैछ त भन्ने विषय अहिले हाम्रो लागि ठुलो चुनौतीको विषय पनि हो। 

अहिले पर्सामा मृतक र संक्रमितको संख्या बढीरहेको छ। त्यहाँ विभिन्न कलकारखानामा काम गर्न भारतबाट आएकाहरु छन्। हामीले रोक्दा रोक्दै पनि विभिन्न नाकाबाट आइरहेका छन्। यसले गर्दा पनि हामी असुरक्षित भएका छौं।

लकडाउन खुलेपछि मानिसहरु सतर्क हुनुपर्ने ठाउँमा झन् हेलचेक्र्याइँ गरिरहेका छन्। यसले झनै जोखिम बढाएको छ। यो भाइरसको प्रकृति हेर्दा यो तुरुन्त जानेवाला छैन। हामीसँग भ्याक्सिन पनि छैन। यसको भ्याक्सिन तयार हुन पनि समय लाग्ने देखिन्छ। त्यसकारण सतर्क हुनुपर्छ। हेलचेक्र्याइँ गर्नुहुन्न्।

पछिल्लो समय भेटिएका संक्रमितहरुमा लक्षण देखिन थालेको छ। यसलाई कसरी बुझ्नु भएको छ ?
करीब तीन हप्ता पहिले ९९ दशमलव ७ प्रतिशत व्यक्तिहरुमा लक्षण थिएन। केही संक्रमितहरुलाई मात्र अक्सिजन दिनुपर्ने थियो। अहिले बीचको अवधिमा काठमाडौंमा लगभग २०/२५ प्रतिशतलाई लक्षण देखियो। वीरगञ्जमा पनि त्यस्तै देखियो। 

अहिले काठमाडौं छिर्नेमा अधिकांशहरु पर्सा, सप्तरी या भारतका विभिन्न ठाउँबाट आएकाहरु छन्। लकडाउन खुल्यो अब काम गर्नुपर्छ भन्दै धेरैजसो काठमाडौं आएका छन्। यहाँको मानिसहरुलाई कम देखियो। तर सेकेण्डरी ट्रान्समिसन देखिएको छ। 

अहिले समूहगत या भनौं क्लष्टर संक्रमण देखिएको कारण के हो ?
समूहमा संक्रमण देखिने संभावना भएकाले नै सरकारले जिमखाना, विद्यालय खोल्नु हुँदैन भनेको हो। यो श्वासप्रश्वासको माध्यमबाट सर्ने भएकाले समूहमा र भीडभाडमा सर्ने संभावना धेरै हुन्छ। 

प्रहरी, आर्मी, होस्टेलको संरचना एउटै खालको हो। त्यसैले हामीले भन्दै आएको सावधानीका उपायहरु अपनाउनु अति आवश्यक छ। यो भ्याक्सिन कहिले बन्छ भन्दा पनि पहिला हामी आफैं रोगबाट कसरी बच्ने भनेर सर्तक हुनुपर्छ।

कन्ट्याक ट्रेसिङ भनेको के हो र यो कसरी गरिन्छ ?
कन्ट्याक ट्रेसिङ भनेको स्वाब मात्र लिने हो भन्ने धेरैको बुझाई छ। स्वाब त लिने नै हो। तर त्यो भन्दा पहिले केस इन्भेष्टिगेसन अर्थात् घटनाको अनुसन्धान हुन्छ। 

कोही व्यक्ति संक्रमित हुनभयो भने उहाँसँग जाने या सम्पर्क गर्ने। अनि कहाँबाट आएको, स्रोत के हो, कहाँ बस्नु भएको हो, उनीसँग सम्पर्कमा आएका व्यक्तिहरुको बारेमा पत्ता लगाउनु पहिलो काम हो। यसरी नै केस इन्भेष्टिगेसन गछौं, जसलाई हामीले प्राइमरी कन्ट्याक भन्छौं। 

प्राइमरी कन्ट्याक पत्ता लगाइसकेपछि हामीले स्वाब संकलन गछौं। स्वाब संकलन तत्काल नभई कम्तीमा पाँच दिनपछि गछौं। त्यसपछि कन्ट्याक फलोअप गछौं। जसमा हरेक दिन उहाँहरुको स्वास्थ्य अवस्था बुझ्ने गछौं। यो सबै प्रक्रिया अलि धेरै गाह्रो छ। कुनै बेला संक्रमितले नाम अर्कै लेखिदिने या नम्बर गलत देखिने पनि गर्नुहुन्छ। यस्तो भयो भने हामीलाई ती व्यक्तिहरु पत्ता लगाउन गाह्रो हुन्छ। 

यो बाहेक कन्ट्याक ट्रेसिङको चुनौती भनेको हामीसँग सीमित जनशक्तिहरु मात्र छन्। हामीले सबैलाई समेट्न सक्दैनौ। भनेको समयमा ठाउँमा हिड्न सकिदैन। 

अहिले त राम्रोसँग कन्ट्याक ट्रेसिङ हुन नसक्दा नै जति संक्रमणलाई रोक्न सकिन्थ्यो, झन् बढी फैलिया भन्ने ओरोप पनि छन् नी ?
यो आरोप यहाँ मात्र होइन, संसारभर लाग्ने आरोप हो। यो धेरै गाह्रो छ। यसमा स्रोत र साधनको कुरा हो भने व्यक्ति आफैं पनि सचेत हुनुपर्‍यो। 

सुरुवाती दिनमा गाह्रो भएको थियो। त्यो बेला तयारी पनि कम थियो। किनभने रोग नै नयाँ थियो। तर अहिले हामीले १ सय ७५ कन्ट्याक ट्रेसिङका टिम बनाइसकेका छौं। तालिम पनि दिएका छौं। बजेट पनि छुट्याएका छौं। सुरुको दिनमा धेरै जटिलता थियो। तर अहिले हामीले मिलाउँदै पनि गइरहेका छौं। 

कन्ट्याक ट्रेसिङ स्वास्थ्य मन्त्रालय, स्थानीय सरकार या महाशाखाको मात्र नभई सबै नागरिकको दायित्व पनि हो। समुदाय नै मिल्न सक्यो भने हुने कुरा हो। नत्र यो पूर्ण रुपमा सफल हुन्छ भन्न सकिदैन।

संक्रमितसँगै मृतकको संख्या पनि बढीरहेको छ। कोरोना संक्रमणकै कारणले मृत्यु भएकाको संख्या कति छन् ?
हालसम्म मृतकको संख्या ५७ पुगेको छ। जसमध्ये ३७ जना जतिमा कुनै न कुनै स्वास्थ्य समस्या देखिन्छ। केहीको झाडापखाला भएर मृत्यु भएको पनि देखियो। मृतकहरुको अवस्था हेर्ने हो भने उमेर बढी भएकाहरु बढी देखिन्छन्। उमेर कम भएकाहरु पनि छन्। तर धेरै उमेर भएकाहरु बढी छन्। धेरैजसो ५० वर्ष माथिकै हुनुहुन्छ। दीर्घरोगीहरु बढी छन्। ८० प्रतिशतभन्दा बढीमा कुनै न कुनै समस्या भएको देखिन्छ। 

काठमाडौं उपत्यकामा ट्राभल हिष्ट्रि नभएका व्यक्तिमा पनि कोरोना देखियो। कोरोना संक्रमण समुदायमा गएको हो की हैन भनेर यहाँहरुले अध्ययन पनि गर्नु भएको थियो।

त्यसको नतिजा के आयो ? के समुदायमा फैलिएकै रहेछ त ?
पहिले १२ जना व्यक्तिहरुमा कुनै ट्राभल हिस्ट्रि थिएन। काठमाडौंको नख्खु, भैसेपाटी, कपन, टोखा, शंखमूल लगायत भक्तपुर र पाटनमा विभिन्न नमूना संकलन गरेर हे¥यौं। हामीले करीब १० हजार जनाको नमूना संकलन गर्दा टोखामा मात्रै ३ जना संक्रमित भेटिए। जसमध्ये दुई जना बाहिरबाट आएका थिए। यसले पनि अहिले समुदायस्तरमा कोरोना फैलिएको छैन भन्ने विषयलाई स्पष्ट पार्छ। तर यतिले मात्र समुदायस्तर कोरोना फैलिएको छ÷छैन भनेर भन्न सकिदैन।

त्यसैले हामीले अर्को हप्तादेखि सेरो प्रिभलेन्स सर्भे गर्दैछौं। यसले एन्टीबडी हेर्छ। हप्ताभित्र कतै नगएको व्यक्तिको रगत लिएर एलैजा भन्ने विधिबाट नमूना लिन्छौं। यसको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा हुन्छ। यो सर्भे गरिसकेपछि मात्र कोरोना समुदायको कुन स्तरमा छ भनेर भन्न सकिन्छ। 

काठमाडौं उपत्यकाको कुन ठाउँ बढी प्रभावित देखिन्छ ?
बुढानिलकण्ठ, कपन, शंखमूल, कालीमाटी, नख्खु, गोदावरी, भक्तपुरका विभिन्न ठाउँहरु सबैजसोमा छिटफुट छन्। अहिलेको अवस्थामा धेरैजसो बाहिरबाट आएका व्यक्तिहरु देखिए। अहिले यो ठाउँ भन्नेर छुट्याएर बस्ने अवस्था छैन। किनभने जोखिम सबै ठाउँ तिर छ। 

अन्त्यमा यहाँको सुझाव के छन् ?
कोरोना नियन्त्रण भएर लकडाउन खोलिएको होइन। हाम्रो बाध्यता हो। किनभने यो लकडाउन बेलामा धेरैले आत्महत्या गरेको भन्ने खबरहरु पनि आए। गएको समय र अहिले हेर्ने हो भने यसको दर पनि बढेको छ। दैनिक ज्यालादारी गरेर खाने व्यक्तिहरु बढी प्रभावित भए। 

त्यसैले लकडाउन भनेको हामीले तयारीका लागि समय मागेको हो। अस्पतालमा भेन्टिलेटर छ की छैन, स्वास्थ्यकर्मीलाई तालिम दिने लगायत अन्य काम गर्न हामीले समय लिएका हौं। त्यसैले तयारी गरिएको र संक्रमितको संख्या केही घटेकाले हामीले लकडाउन खोलेका हौं। तर यो नियन्त्रणमा आएका होइन। यो अझै केही समयसम्म नियन्त्रणमा आउँदैन। त्यसैले अहिले हेलचेक्र्याइँ गर्नुभन्दा पनि सावधानी अपनाउनु आवश्यक छ। यसमा सरकारको मात्र नभई सबै नागरिकको जिम्मेवारी पनि हो। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने