काठमाडौं– नेपालमा कोरोना भाइरसको पहिलो संक्रमित भेटिएको करिब चार महिनापछि अर्थात् जेठ ५ गते गुल्मी जिल्ला अस्पतालमा पहिलो संक्रमित भर्ना भएका थिए।
अहिलेसम्म सो अस्पतालमा कोरोनाका ७१ शंकास्पद व्यक्ति भर्ना भएका छन् भने तीमध्ये २२ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा उत्तम पच्याले जानकारी दिए।
डा पच्याका अनुसार संक्रमितमध्ये एक जनाको मृत्यु भएको छ। उनी क्यान्सरका बिरामी थिए। दुई जना संक्रमितको जटिल स्वास्थ्य अवस्था आएको कारणले अस्पतालले बुटवल रिफर गरिदिएको छ। १ जना अस्पतालमा उपचारत रहेका छन्। अन्य संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गुल्मी जिल्लामा ३ सय ५० भन्दा बढी व्यक्ति संक्रमित भएका छन्।
सरकारले गुल्मी जिल्लाका संक्रमितको उपचारको निमित्त गुल्मी जिल्ला अस्पताललाई तोकेको थियो। त्यसलगत्तै अस्पतालले आफ्नो तयारी सुरु गर्न सुरु गर्यो।
अस्पतालले संक्रमितको उपचारको निमित्त छुट्टै भवनमा २० शय्याको आइसोलेसन तयारी अवस्थामा राख्नुका साथै सम्पूर्ण स्टाफहरु पनि तयारी अवस्थामा राखेको थियो।
मेसु डा पच्या भन्छन्, ‘विश्वव्यपी महामारी नेपालमा पनि भित्रिसकेको थियो, त्यसैले अन्य अस्पतालले जस्तै हाम्रो अस्पतालले पनि तयारी सुरु ग¥यो। अस्पतालले २० शय्याको आइसोलेसन बनाएको थियो। विश्व स्वास्थ्य संगठनको र सिडिसीको मापदन्डा हेरेर कोरोना संक्रमितको उपचारमा कसरी खटिने, बिरामीको हेरचार कसरी गर्ने र पिपिई कसरी लगाउने भनेर सम्पूर्ण स्टाफ तयारी अवस्थामा थिए।’
संक्रमितको उपचारको निमित्त अस्पतालले दुई जना चिकित्सक र दुई जना नर्सको टोली छुट्याएको थियो। अस्पतालले संक्रमितको उपचारमा खटिएका चिकित्सकलाई बस्ने व्यवस्था अस्पतालले निर्माण गरेको आइसोलेसन भवन गरेको छ।
उनी भन्छन्, ‘अस्पतालमा १८ जना कर्मचारी छौं। अस्पतालले अन्य रोगको उपचार पनि गर्नुपर्ने हुन्छ। त्यसैले एक पटकमा ४ जना स्टाफलाई संक्रमितको उपचारमा खटाएका छौं। उहाँहरु पालोपालो उपचारमा खटिनुहुन्छ।’
अस्पतालमा भर्ना भएका पहिलो संक्रमित बुटवलमा भर्ना भएकाको सम्पर्कमा आएका व्यक्ति थिए। उनको पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो। कोरोना पोजेटिभ आउँदा उनी निकै डराएका थिए। अस्पतालमा भर्ना भएका उनलाई चिकित्सकले सम्झाउन निकै गाह्रो परेको मेसु डा पच्या सुनाउँछन्।
उनी भन्छन्, ‘पहिलो पटक भर्ना हुनु भएका संक्रमित एउटा संस्थामा आवद्ध हुनुहुन्थ्यो। उहाँ कहिले पनि कतै नगएकोले मलाई कोरोना कसरी स¥यो भनेर निकै चिन्तित देखिनुहुन्थ्यो। डराउनु पनि भएको थियो। उहाँको मनोबल निकै कमजोर भएकोले चिकित्सकलाई सम्झाउन निकै परेको थियो।’
अस्पतालले संक्रमितको लक्षण देखिएका र नदेखिएकाहरुलाई अस्पतालले छुट्टाछुट्टै वार्डमा राखेर उपचार गर्दै आइरहेको छ।
आइसोलेसनमा भर्ना भएका लक्षणविहीन संक्रमितहरुलाई बेलाबेलामा ज्वरो नाप्न अस्पतालले डिजिटल थर्माेमिटर उपलब्ध गराएको छ। चिकित्सक, नर्सले उनीहरुलाई बेलाबेलामा ज्वरो नाप्न लगाउनुका साथै अस्पतालले उनीहरुलाई चिकित्सकको निगरानीमा राखेको छ।
अस्पतालले लक्षण देखिएका संक्रमितलाई विशेष ध्यानमा राखेर उपचार गरेको छ। यदि संक्रमितलाई अक्सिजन दिनु पर्यो र स्लाइन लगाउनुपर्यो भने वा औषधि दिनु परेमा चिकित्सक, नर्स आफैंले दिने गरेको अस्पतालले जनाएको छ। यदि उनीहरुको स्वास्थ्य स्थिति बिग्रँदै गयो भने अन्य अस्पतालमा रिफर गर्नुपर्ने कारणले गर्दा लक्षण भएका संक्रमितलाई विशेष ध्यान दिएर निगरानीमा राख्नुपर्ने डा पच्या बताउँछन्।
अस्पतालले सपोर्टिभ म्यानेजमेन्ट टिम बनाएर बिरामीहरुको रोगको लक्षण हेरेर उनीहरुको उपचार गरिरहेको छ। सुरुसुरुमा इमर्जेन्सीमा आएकाहरुलाई आरडिटी गरेर मात्र उपचार गर्ने गरेको डा पच्या सुनाउँछन्।
स्थानीय सरकारसँग समन्वयन र सपोर्टिभ म्यानेजमेन्ट टिम बनाएर उपचार गरेकोले कोरोना संक्रमितको उपचार गर्न सहज भएको डा पच्या बताउँछन्।
उनी भन्छन्, ‘स्थानीय सरकारको सहयोगमा सपोर्टिभ टिम बनाएर संक्रमितको उपचार कसरी गर्ने, लक्षण भएका र नभएकाहरुलाई कसरी हेरचार गर्ने यदि संक्रमितको मृत्यु भइहालेमा कसरी शवको व्यवस्थापन गर्ने भनेर योजना बनाएर काम गरेकोले उपचार गर्न सहज भएको हो।’
संक्रमित उपचार गर्ने क्रममा अस्पतालले भोग्नु परेका चुनौती भनेको संक्रमितलाई एक आइसोलेसनबाट अर्का आइसोलेसनमा पठाउन निकै गाह्रो हुने हो।
अस्पतालका मेसु डा पच्याका अनुसार जति नै सुरक्षाका उपायहरु अपनाए पनि संक्रमितलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान एम्बुलेन्स चालकलाई फोन गर्दा अनेक बहाना बनाउने गर्छन्।
‘संक्रमितलाई एक आइसोलेसनबाट अर्को आइसोलेसनमा पठाउनु पर्यो भने निकै गह्रो हुन्छ। सम्पूर्ण सुरक्षाका उपाय अपनाए पनि एम्बुलेन्स चालकले बिरामी बोक्नै मान्दैनथे,’ संक्रमितलाई आइसोलेसन पठाउदा भोग्नु परेको समस्या सुनाए।
अस्पतालले भोग्नु परेको अर्को चुनौती भनेको पिसिआर रिपोर्ट ढिला आउँदा संक्रमितमा पर्न गएको समस्या हो। ‘अस्पतालमा पिसिआर मेसिन छैन। पिसिआर गर्न भैरहवा पठाउनुपर्छ। पिपिसआरको रिपोर्ट ढिला आउने हुँदा गाह्रो हुन्छ। उनी भन्छन्, ‘कहिलेकाहीँ त संक्रमितको डिस्चार्ज गर्ने बेला हुँदासम्म रिपोर्ट नआउँदा डिस्चार्ज गर्ने कि नगर्ने भन्ने दोधार हुन्थ्यो।’
विश्वभरि नै पिपिई अभाव भएको बेलामा गुल्मी अस्पतालले पिपिई, स्यानिटाइजर, मास्कको अभाव दिएन। उत्तमका अनुसार स्थानीय सरकार, विभिन्न संघसंस्था र व्यक्तिगत तर्फबाट सहयोग आएकोले अहिलेसम्म पिपिईको अभाव हुन नपाएको हो।
सुरुवाती चरणमा पिपिई लगाएर काम गर्न गाह्रो भएको भए पनि विस्तारै काम गर्दै जाँदा सहज महसुस भएको उत्तम बताउँछन्।
उत्तमलाई हरेक पालिकामा आइसोलेसन वार्ड स्थापना गर्नुपर्छ जस्तो लाग्छ। उनी भन्छन्, ‘थोरै बेडको भए पनि हरेक पालिकाले आइसोलेसन बनायो भने सहज हुन्छ।’ उनका अनुसार गुल्मीमा केही पालिकाहरुले यसको सुरुवात गरिसकेका छन्।
धेरै जना स्वास्थ्यकर्मीहरु आफ्नो परिवार छोडेर संक्रमितको उपचारमा खटिएका छन्। त्यसैले सबै स्वास्थ्यकर्मीलाई सम्मान गरेर उनीहरुको मनोबल बढाउन र संक्रमितलाई घृणा नगर्न डा पच्या आग्रह गर्छन्।
उनी भन्छन्, ‘चिकित्सक आफ्नो घरपरिवार छोडेर दिनरात संक्रमितको उपचारमा खटिन्छन्। उनीहरुलाई सम्मान गर्नुपर्छ, जसले गर्दा उनीहरुको मनोबल बढोस्। समाजमा कोरोना संक्रमितलाई घृणा नगरी आइसोलेसनमा बस्न सहज वातावरण मिलाउनुपर्छ। अनि मात्र कोभिडको यो लडाईंमा सफलता पाउन सकिन्छ।’