काठमाडौं- कोभिड-१९ प्रभावित जिल्लामै पर्छ, प्रदेश १ को सर्लाही। यो जिल्लामा १ हजार ३ सय ९४ जना व्यक्ति कोरोना भाइरसबाट संक्रमित भइसकेका छन्। सर्लाहीका संक्रमितहरुको उपचार जिल्लामा रहेका विभिन्न कोभिड अस्पतालमा हुँदै आएको छ।
सर्लाहीको मलंगवास्थित सर्लाही जिल्ला अस्पताल कोभिडका बिरामीको उपचार गर्ने एक प्रमुख अस्पताल हो। सर्लाही जिल्ला अस्पतालको कोभिड अस्पतालका फोकल पर्सन डा रवि शाहका अनुसार अहिलेसम्म सर्लाही अस्पतालमा ३ सय ५१ जना संक्रमित भर्ना भइसकेका छन्। ३ सय ४२ जना संक्रमित निको भएर घर फर्किसका छन् भने ८ जना संक्रमित मात्रै उपचाररत रहेको अस्पतालको तथ्यांक रहेको छ।
नेपालमा कोरोना देखिने बित्तिकै सरकारले कोरोना उपचारको निमित्त सर्लाही जिल्ला अस्पताललाई पनि तोकेको थियो।
त्यही बेला तयारी स्वरुप स्वास्थ्य मन्त्रालयको निर्देशनमा सर्लाही जिल्ला अस्पतालले छुट्टै २५० बेडको कोरोना आइसोलेसन केन्द्र निर्माण गरेको थियो। अस्पतालका कर्मचारीलाई कोरोना सम्बन्धी जानकारी दिनुका साथै उपचारमा कसरी खटिने भनेर तालिम दिइएको डा शाह बताउँछन्।
उनका अनुसार अस्पतालमा पहिलो संक्रमित गत वैशाख १२ गते भर्ना भएका थिए। त्यसपछि निरन्तर अस्पतालमा संक्रमितको चाप बढ्न थाल्यो। ‘सुरुवाती चरणमा भारतबाट कामदार फर्कने संख्या बढेसँगै अस्पतालमा पनि बिरामीको चाप बढ्न थाल्यो। असारसम्म भारतबाट आएर क्वारेन्टाइनमा बसेका शंकास्पद व्यक्तिको पिसिआरमा कोरोना पोजेटिभ आएर अस्पतालमा भर्ना हुने गर्थे। त्यो बेलामा अस्पतालको आइसोलेसनमा २ सयभन्दा बढी संक्रमित पनि भर्ना भएको डा शाहको अनुभव छ।
उनका अनुसार साउनदेखि भने सर्लाही जिल्लाकै व्यक्तिमा कोरोना संक्रमण भएर अस्पताल आउने गरेका छन्। उनी भन्छन्, ‘पछिल्लो समय जिल्लाकै संक्रमित बढी आउने गरेका छन्, ३१ जना यही जिल्लाका संक्रमित अस्पतालमा भर्ना भएका छन्।’
सुरुसुरुमा कोभिड र ननकोभिड बिरामीको उपचार गर्न कर्मचारीको अभाव हुने गरे पनि अहिले भने कर्मचारीको अभाव नभएको रवि सुनाउँछन्। उनी भन्छन्, ‘सुरुवाती चरणमा कर्मचारीहरुलाई पालोपालो उपचारमा खटाउने गरेको थियौँ। अस्पतालमा संक्रमितको चाप बढेसँगै सरकारले चिकित्सक, नर्स, स्वस्थ्यकर्मी, कार्यालय सहयोगी गरेर ४० जनाको टिम भर्ना गरिदियो। त्यसपछि भने कोभिड हेर्ने र ननकोभिड हेर्ने चिकित्सक छुट्टाछुट्टै रहेका छन्।’
संक्रमितलाई खाने, बस्ने र उपचार गर्ने जिम्मा अस्पताल आफैंले लिएको छ।
अहिलेसम्म अस्पतालमा भर्ना भएका संक्रमितमा लक्षण नभएकाले कुनै पनि समस्या भोग्नु परेको छैन। चिकित्सकले दिनको दुई पटक संक्रमितको बेलाबेला चेक जाँच गर्ने, आवश्यक औषधि दिने र बेलाबेलामा ज्वरो नाप्न लगाउने गरेका छन्।
अस्पतालले संक्रमितलाई बिकप्लेक्स र भिटामिन सी दिनुका साथै आयुर्वेदका विभिन्न रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि दिने गरेको डा शाहले बताए।
सुरुवाती चरणमा अस्पतालले संक्रमितको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई होटलमा क्वारेन्टाइनमा राख्ने गरेको भए पनि आजभोलि भने आफ्नै कोरोना अस्पतालमा छुट्टै बस्ने व्यवस्था गरेको छ। संक्रमितको उपचारमा खटिएका एक जना स्वास्थ्यकर्मी संक्रमित भएका थिए। अहिले उनी पनि निको भएर काममा फर्किसकेका छन्।
पछिल्लो समय संक्रमितको संख्या घटेसँगै अस्पतालले २०० बेडको आइसोलेसन मात्र सञ्चालनमा ल्याएको छ। डा रविका अनुसार सुरुवाती चरणमा अस्पतालले भोग्नु परेको मुख्य चुनौती भनेको स्वास्थ्यकर्मीले प्रयोग गर्ने सुरक्षा कवच पिपिईको अभाव हो।
उनी भन्छन्, ‘सरुुसुरुमा स्वास्थ्यकर्मीहरुले लगाउने पिपिईको अभाव थियो। त्यो बेलामा अस्पतालमा बिरामीको चाप पनि अत्यधिक थियो। एउटा आइसोलेसनमा २ सय जना संक्रमित भर्ना भएका थिए। पिपिईको अभावले तीन जना चिकित्सक आइसोलेसन वार्डमा जानुपर्नेमा एक जना मात्र गएर काम चलाउनुपर्ने अवस्था थियो।’ अहिले पिपिईको अभाव नभएको तर गुणस्तरका पिपिईको भने अझै पनि कमी रहेको उनले बताए।
गम्भीर लक्षण भएका संक्रमित भर्ना नभएकोले अस्पताललाई अक्सिजन आवश्यकता परेको छैन। लक्षण भएका र अक्सिजन चाहिने बिरामी आए अस्पतालले थेग्न सक्ने अवस्था नरहेको रवि बताउँछन्।
‘अहिलेसम्म लक्षण भएका बिरामी आएका छैनन्। यदि संक्रमण समुदायमा फैलियो र अक्सिजन चाहिने संक्रमित अस्पतालमा आए भने त्यो बेलामा अस्पतालले अहिलेकै साधन स्रोतले थेग्न सक्ने अवस्था छैन’, उनले भने, ‘अस्पतालमा पर्याप्त मात्रामा अक्सिजन सिलिल्डर छैनन्। र, औषधि पनि पर्याप्त छैन,’ उनी भेन्टिलेटर र औषधिको व्यवस्था गर्नेतर्फ समयमै सरोकारवाला निकायले ध्यान दिनुपर्नेमा जोड दिन्छन्। ‘नत्र यही अवस्था रहने हो भने भोलिका दिनमा भयावह अवस्था पनि आउन सक्छ,’ उनले चेतावनी दिए।
उनी तीनै तहका सरकारबीच आवश्यक समन्वय नहुँदा समस्या देखिएको बताउँछन्।
डा शाह भन्छन्, ‘अहिले सरकार काठमाडौंमा मात्र केन्द्रित भएको छ। यदि जिल्लामा लक्षण भएका संक्रमित देखिए भने के गर्ने? भनेर सरकारको तयारी छैन। अहिले पनि भारतबाट आउनेको संख्या रोकिएको छैन। प्रदेश २ मा भएका जनकपुर अस्पताल र वीरगञ्ज पनि भरिभराउ छन्।’
भोलिका दिनमा जटिल अवस्था नआओस् भन्नका लागि अहिलेदेखि नै सरकारले जिल्लामा रहेका अस्पताललाई तयारी अवस्थामा राख्नुपर्ने उनको सुझाव छ। ‘त्यसो हुन सक्यो भने मात्रै हामीले कोभिड–१९ नियन्त्रण गर्न सक्छौं। अहिले कोरोनाका लागि निर्माण गरिएको संरचना भोलिका दिनमा अरु रोगको उपचारमा पनि प्रयोग हुन्छ,’ उनले भने।