गणेशबहादुर बिष्ट सुमन
म यो लेख तयार पारिरहँदा कोभिड संक्रमणको चरम उत्कर्ष बिन्दुमा काम गर्दैछु। संक्रमणको पछिल्लो अवस्था हेर्दा कोरोना भाइरस समुदाय स्तरसम्म फैलिसकेको छ स्पष्ट हुन्छ। मृत्यु हुने संक्रमितको संख्या पनि ह्वात्तै बढ्को छ।
धेरैले कोभिड-१९ सामान्य रोग भन्ने गरेको सुनिन्छ। कतिपयले सामाजिक सञ्जालमा भिडियोहरु पनि पोष्ट गरेका छन्। मेरा अफिसका प्रमुख समेत कोरोना भाइरसको प्रभाव र असरप्रति विश्वश्त भएका छैनन्। यस्ता कतिपय विद्वानहरुको भनाइ हेर्ने हो भने कोरोनाले मर्ने मानिसको संख्याभन्दा कयौं गुना बढीको मृत्यु अन्य रोगका कारणले हुने गर्छ।
हुन पनि सडक दुर्घटनाबाट प्रतिवर्ष १० लाख ३५ हजार मानिसको मृत्यु हुदो रहेछ भने प्रति दिनको हिसाब गर्दा ३७०० मानिस सडक दुर्घटनाबाट मृत्यु भएको तथ्यांक छ। त्यसैले पनि ती मानिसहरुको तर्क पनि एकातिर ठिक हो जस्तो लाग्छ।
बानेश्वरमा आम जनताले स्वास्थ्यकर्मीलाई घरबाट लखेटे। स्वास्थ्यकर्मीहरु अपराधी नै भएजस्तो व्यवहार भयो। स्वास्थ्य क्षेत्रमा काम गर्नेहरु जति लखेटिने अवस्था र अराजक जति मोज गर्ने नागरिक हुने भए देशको मापन कस्तो हुन्छ होला भनी म अहिले सोच्दै छु। खुसी हुने देशमा नेपाल कति नम्बरमा पर्ला। २४ घण्टा डायफर लाएर समेत काम गर्ने कुन नेपाली होला। गरी खानेको हालत के हुन्छ भनेर कहीँ जानु पर्दैन, बानेश्वर घटना हेरे पुग्छ। हाम्रो भाग्य र दुर्दशा यस्तै छ, बाँकी मोज गर्नेहरुलाई सलाम।
हामी सबैलाई थाहा छ, कोभिड-१९ एक कोरोना भाइरसबाट हुने सरुवा रोग हो। डडेल्धुराको अमरगढी नगरपालिकाको कोभिड संक्रमण बारेमा यहाँ केही चर्चा गरौं। यो नगरपालिकामा करिब ११०० जनाको पिसिआर जाँच गर्दा ४१ जना व्यक्ति कोरोना पोजेटिभ भएका छन्। ७ महिनाको दूधे बालकदेखि ६० वर्षका नागरिकसम्ममा पोजेटिभ देखिएको छ। हाल देखिएका पोजेटिभ केसहरु सबै भारतबाट आएका कामदारहरु हुन्। अहिलेसम्म एक जना अरबबाट आएका व्यक्ति मात्र भारत बाहेक अन्य देशबाट आएका कोरोना पोजेटिभ छन्। कोभिड महामारीका बेलामा एक कोरोना पोजेटिभको पीडालाई घटना अध्ययनका रुपमा लेख्दैछु। सम्बन्धित यक्तिको अनुमति लिएर लेखेको विषयले सबैलाई सचेतनामूलक शिक्षा दिनेछ भन्ने विश्वासमा छु।
ललित भण्डारी अमरगढी नगरपालिका १० मा जन्मे हुर्केका निम्न आय भएका परिवारका व्यक्ति हुन्। उनी सानै उमेरका हुँदा बुबाआमाको कुनै भाइरसयुक्त रोगको कारण मृत्यु भयो। घरका ३ भाइ सबै अलग भए। घरमा उत्पादन र आयअर्जन गर्ने कोही पनि थिएन। खेतीबारी गर्ने जमिन ३ रोपनी ३ भाइको भाग हाल्दा करिब १ रोपनी भाग पर्यो। आम्दानीको स्रोत नहुँदा गुजारा समेत नचल्ने स्थिति देखियो। नेपालमा कामको खोजीमा निकै भौंतारिँदा पनि कुनै काम नपाउने स्थिति बन्यो।
पीडामाथि पीडा थपिँदै गयो। ३ वर्ष पहिला कामको सिलसिलामा उनी भारतको तामिलनाडु प्रस्थान गर्छन् श्रीमतीका साथ। होटेलमा नोकरी गर्छन्। गुजरा राम्रैसँग चलिराखेको हुन्छ। अचानक गत मार्चमा भारतभरि कोरोनाको प्रभाव निकै जकडिएर आउँछ। २ महिना कामविहीन डेरामा बस्छन्। होटेल मालिकले नोकरीबाट निकालिदिन्छ, तलब दिँदैन। पीडा झन् बल्झिन्छ।
मे अन्तिम महिनामा त्यहाँबाट घरका लागि हिँड्छन्। बस बुक गराएर त्यहाँ रहेका सुदूरपश्चिमका नेपाली घर आउँछन्। विद्यालयमा बनाएइका क्वारेन्टाइनमा सबैलाई खानपिनको व्यवस्था सहित राखिन्छ। ललित १४ दिन क्वारेन्टाइनमा बस्छन्। जेठ २५ गते सबै भारतबाट आएका दाजुभाइ, दिदीबहिनीको पिसिआर जाँच गराउँछौं। कति भन्न मिल्छ कति भन्न मिल्दैन थाहा छैन। सरकार पोजेटिभहरुको नाम र ठेगाना गोप्य राख्न निर्देशन दिन्छ तर आवश्यकता अनुसार लेख्नुपर्ने हुन्छ। परिवारका सदस्यहरुमध्ये ललित, उनकी श्रीमती र उनका ७ महिनाकी छोरीलाई कोरोना पोजेटिभ भयो।
कोरोना पोजेटिभ भए पनि कुनै लक्षण भने देखिएन। तीन जना पोजेटिभ भएको भन्ने जानकारी गाउँलेहरुले थाहा पाए। सबैको उनीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन थाल्यो। सबै गाउँलेहरु सावधान त भए, तर त्यो परिवारसँग यस्तो व्यवहार गर्न थाले कि, मानौं उनीहरु कुनै ठूलै अपराध गरेर गाउँ छिरेका हुन्। खाना दिने तरिका फरक भयो। पधेंरोमा पानी लिन जाँदा पनि हेप्ने अनि समाजका हरेक गतिविधिमा लान्छानायुक्त व्यवहार हुन थाल्यो। सबैको खुसी एकाएक हरायो। केही कोरोनाको चेत भएका आफ्ना सहकर्मीहरुले भने सान्त्वना दिई नै रहे। पोजेटिभ भएको तेस्रो दिनदेखि १४ दिनसम्म आइसोलेसनमा राखियो। कुनै लक्षण थिएन। १४ दिनपछि फेरि पिसिआर जाँच भयो। नतिजा नेगेटिभ भयो। सबैको खुसी पुनः फर्कियो। अहिले परिवारका सबै जना घरमा दु:खसुखको जीवन व्यतित गर्दैछन्।
नेपालका हरेक व्यक्तिलाई कोरोनाको पीडाले सताएको छ। कोरोनाका कारण शारीरिक र मानसिक तनाव निकै हुने गर्छ। ललित भण्डारी बसेको क्वारेन्टाइनमा बसेकी वडा न १ की महिलाले जेठ महिनामा क्वारेन्टाइनबाट घर गएर झुण्डिएर आत्महत्या गरिन्। आत्महत्याको कारण के हो भन्ने खुलेको नभए पनि कोभिडका कारणले उत्पन्न भएको मानसिक पीडा र खस्केको आर्थिक उत्पादनले उनका सपना सबै भताभंग भए भनी आकलन गर्न सकिन्छ। उनी २८ वर्षकी थिइन्, विवाह समेत भएको थिएन। आमाछोरी बम्बैबाट घर फर्केका थिए।
त्यस्तै जेठ महिनामा गन्यापधुरा गाउँपालिकामा क्वारेन्टाइनमा नै महिलाको मृत्यु भयो।
यी घटनाहरुले हामीलाई सिकाउने एकै कुरा हो, धनसम्पत्तिदेखि सबै कुरा गुमाइसकेपछि यदि आत्मसम्मान समेत नपाएपछि मानिस आत्महत्या गर्न प्रेरित हुन्छ। यहाँ यस्तै भएको हो। धनसम्पत्ति केही रहेन। गुजारा चलाउन मुस्किल भयो। गाउँका पुराना रैथानेहरुले आत्मसम्मानमा ठेस पुर्याइरहे। भेदभाव र लान्छाना मात्रै लागि रह्यो। सहने जतिले कोरोना र समाजलाई जिते नसक्नेले आत्महत्या गरे। त्यसैले हाम्रो कार्य अन्तर्गत सामाजिक सद्भावका लागि सचेतना अभियान र पटकपटक जाँचको डायरालाई फराकिलो बनाउदै अगाडि बढ्नुपर्ने हुनसक्छ। हामीले कुनै पनि कोरोना संक्रमित व्यक्ति अछुत होइनन् र कुनै पाप गरेर आएका पनि होइनन् भनी सम्झाउन सक्नुपर्छ।
अमरगढी नगरपालिकाले २०७६ मंसिर महिनामा नै नगरपालिका भित्रका हरेक नागरिकलाई पोषिलो खाना खान, साबुनपानीले हात धुन, शुद्ध पानी पिउन, चर्पीको प्रयोग गर्न र फोहर व्यवस्थापन गर्न अनिवार्य गरिसकेको छ। अमरगढीको नीति र कानुनी डायराले गर्दा सबै मानिस सजग छन्। यदि हात धुन, शुद्ध पानी पिउन, चर्पीको प्रयोग गर्न र फोहर व्यवस्थापन गर्न कसैले आलटाल गरेमा उसले नियमित पाउनुपर्ने सुविधाहरु कटौती गर्ने र जरिवाना तिर्न लगाउने समेतका कानुनहरु निर्माण गरिएको छ। कोरोनाको संक्रमणको अवधिमा आम मानिसलाई चेतना प्रदान गर्नु अनिवार्य देखिएको छ। ग्रामीण जनताले कोरोना संक्रमण न्यूनीकरण गर्न आफैंले भूमिका खेल्नुपर्ने हुन्छ।
हरेक मानिस सामाजिक र आर्थिक कारणले पछाडि परेको वा पारिएको हुन्छ। यद्यपि उनीहरु भित्रको मनोविज्ञान सफा कन्चन पानी जस्तै हुनसक्छ। प्रत्येक मानिसलाई कोरोना संक्रमणबाट मुक्ति दिलाउन समाज र टोलमा रहेका महिला स्वास्थ्य स्वयंसेविकाको अग्रणी भूमिका देखिएको छ। भारतबाट आएका व्यक्तिहरुको प्रारम्भिक तथ्यांकको स्रोत पनि महिला स्वास्थ्य स्वयंसेविका नै हुन् भन्ने कुरा बिर्सनु हुँदैन। भारतबाट आएका सम्पूर्ण नागरिकलाई जाँचको दायरामा ल्याउन सक्ने साहस पनि महिला स्वास्थ्य स्वयंसेविकाले नै गरेका थिए। अहिले अमरगढी नगरपालिका कोरोना भाइरसको स्ट्याबल अवस्थामा छ भन्न सकिन्छ।
हाम्रो समाज संरचनावादी समाज हो। समाजका हरेक क्रियाकलाप र गतिविधिको तथ्यांक समाजका हरेक व्यक्तिलाई थाहा हुन्छ। भेदभाव सबैभन्दा बढी हुने ग्रामीण समाजमा नै हो। कोभिड-१९ को अवधिभर समाजका हरेक मानिस कोरोना भाइरस संक्रमण र त्यसको प्रभावबारे सजग रहे।
ललित भण्डारी बस्ने वडा पूर्ण पोषणमैत्री वडा घोषणाको तयारीमा छ। करिब ३०० घरधुरी भएको वडा न १० मा २०० घरधुरीले पोषणमैत्री वडामा हुनुपर्ने सबै सर्तहरु पूरा गरेका छन् भने बाँकी घरधुरी भाँडा सुकाउने चाङ निर्माणको अभियानमा छन्। वडाका सबै गाउँहरुमा प्रतिपरिवार एक हात धुने बाल्टी अमरगढी नगरपालिकाले वितरण गरेको छ। र, बाँकी प्रक्रिया नपुगेका परिवारहरुलाई प्रक्रिया पुर्याई सामग्री वितरण गरिने छ।
अमरगढी कोभिड-१९ फ्री नगरपालिका र पोषणमैत्री वडा हुँदै पोषणमैत्री नगरपालिका घोषणाको कार्य कदापि रोकिने छैन र रोकिनु हुँदैन। त्यस अभियान समाजलाई रुपान्तरण गरी नै रहने छ। हामी अमरगढी नगरपालिकालाई सरसफाइका दृष्टिले सरसफाइयुक्त, मानसिक सचेतनाका दृष्टिले उच्च सचेतन समाज र कोरोना भाइरसका दृष्टिले कोरोना भाइसर फ्री बनाउन लागि परेको छौं।
(विष्ट अमरगढी नगरपालिका, डडेल्धुराका स्वास्थ्य शाखा प्रमुख हुन्।)