डा अखण्ड उपाध्याय
अथक परिश्रम र दिन–रात नभनी गरेको दुःखको लगभग अन्त्य गर्ने दिन नजिकिँदै थियो अर्थात् एमबिबिएस अन्तिम परीक्षाको अन्तिम दिन थियो। त्यसै बेला चीनमा कोरोना संक्रमितको संख्या उकालो लाग्दै थियो।
सरकारले देशभरि सम्पूर्ण परीक्षा स्थगन गर्नु भनेको दिन अर्थात् मिति २०७६ चैत ०६ गते बिहीबारको दिन एउटा प्राक्टिकल परीक्षा बाँकी थियो र कलेजले त्यो परीक्षा नरोकेर सकाइदियो, भनौँ मैले एउटा ठूलो भारी बिसाएँ। अनि सुरु भयो देशमा लकडाउन। कोरोनाकै कारण चैतबाट सुरु हुनुपर्ने इन्टर्नसिप रिजल्ट नआएर बन्द थियो। करिब ४ महिनापछि रिजल्ट आयो। त्यो बीचमा देशमा संक्रमितको संख्या दिनहुँ उकालो लागिरहेको थियो।
रिजल्ट राम्रो भयो अनि इन्टर्नसिप पाटन अस्पतालमा सुरु हुने सूचना कलेजबाट आएपछि ढुक्क भइयो अर्थात् अब डाक्टर बनेर काम गर्न पाइन्छ भन्ने भयो। र, असार २१ गतेबाट सुरु भयो इन्टर्न।
हाम्रो अस्पताललाई सरकारले कोभिड अस्पतालको रुपमा परिणत गराएको थियो। आन्तिरिक आम्दानीबाट सञ्चालन भएको प्रतिष्ठानलाई लकडाउनको समयमा पूर्ण रुपले अन्य सेवा बन्द गर्नुपर्दा जति घाटा लागेको थियो त्यसै कारण पनि लकडाउनकै बीचमा सुरक्षाका साथ ओपिडी पनि सञ्चालन गरिरहेको थियो। राजधानीकै अन्य अस्पतालले बिरामी भर्ना गर्न र हेर्न नमानेको बेला पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवा दिइरहेको थियो।
कोरोना संक्रमण चुलिइरहेको बीचमा अस्पतालमा मेरा सिनियर, सरहरु, रेजिडेन्ट दाइदिदीहरु, मेडिकल अफिसरहरु, नर्स दिदीबहिनीहरु र अन्य सम्पूर्ण स्वास्थ्यकर्मी अनि प्रशासन लगायत अस्पतालका सम्पूर्ण कर्मचारी आफ्नो कर्तव्य ठानी काम गरिरहेको देख्दा आफूलाई पनि ढुक्क लागिरहेको थियो।
कोरोना कहरमा पहिलो पोष्टिङ मेडिसिन डिपार्टमेन्टबाट सुरु भयो। मेडिसिनले नै कोरोनाका बिरामी राख्ने आइसियु, आइसोलेसन हेरेको थियो भने अन्य डिपार्टमेन्टले पनि आइसोलेसन र वार्डका बिरामी हेर्ने गरेको थियो। जे होस, यस अस्पतालमा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मी निरन्तर रातदिन नभनी ओपिडिदेखि कोरोनाको वार्डसम्मका बिरामीको सेवामा खटिइरहेका थियौँ।
अस्पतालमा कोभिड आइसियुमा बेड खाली थिएन। लक्षण सहितका बिरामीले बेड भरिएका थिए। आइसोलेसन र वार्ड पनि त्यस्तै थियो। अस्पतालले नर्मल वार्डदेखि कोभिड वार्डसम्मकालाई सेवा दिइरहेको थियो। संक्रमितको संख्या हरेक दिन साँझ ४ बजेपछि हुने मन्त्रालयको बिफिङसँगै बढ्दा घरबाट आमा–बाले फोन गरेर आज पनि बिरामी बढेछन्, ख्याल गरेस् है छोरा भन्दा मन भारी हुन्थ्यो। भर्खर डाक्टर भएको छोरो, प्रोफेसनमा भर्खर छिरेको कति जानेको होला कति नजानेको होलास्, सिक्नु पनि पर्छ तर ख्याल गरेस् बाबु, कोरोनाबाट बचेस् है भन्नुहुन्थ्यो। म भने बाआमालाई ढुक्क बनाउने प्रयास गर्थें तर सायद आमाबाको मन न हो, हरेक दिन फोन गरिरहनुहुन्थ्यो।
मेडिसिन वार्डबाट ड्युटी भएको मेरो पहिलो दिन रेजिडेन्ट दाइ र सरसँग कोभिड वार्ड जाने भएँ। हामिलाई अनिवार्य गरिएको थिएन तर मिलाएर जानु भन्ने कुरा भएकोले मैले जाने निधो गरें अनि रातिको करिब ८ बजे कोभिड वार्डमा छिर्नुभन्दा पहिले पिपिई लगाउन दाइले सिकाइदिनु भयो र भन्नु भयो– अब यो लगाएपछि भित्र हातले चस्मा मिलाउने अथवा भाइजर खोल्ने केही गर्नहुन्न।
करिब १०–१५ मिनेटमा फुल पिपिई लगाएँ अनि भित्र कोभिड वार्डमा छिरें। भित्र गएको करिब ५ मिनेटमा मैले लगाएको पावरवाला चस्मामा वाफ जम्मा हुन थाल्यो र आँखा धमिलो देख्न थालें। त्योसँगै बाहिरबाट लगाएको अर्को सुरक्षात्मक चस्मामा पनि वाफ छाउन लाग्यो। अब आँखा हेर्न गाह्रो हुन थालेपछि, चस्माको माथिल्लो सानो ढिक जहाँ बाफ थिएन, त्यहाँबाट हेर्न थालें। वार्डको राउन्ड, आइसोलेसनको राउन्ड सकेर माथि आइसियुमा पुग्दासम्म आखाँले प्रष्ट हेर्न गाह्रो थियो भने टाउको निहु¥याएर ढिकबाट हेर्दा आँखालाई प्रेसर परिरहेको थियो।
आइसियुभित्र हेर्दा मोनिटरको आवाज अनि अक्सिजन मास्क लगाएर बसेका बिरामी देख्दा एकछिन बाहिर मास्क लगाउँदा गाह्रो हुन्छ भन्दै मास्कलाई चिउँडो अथवा घाँटीमा लगाएर हिँड्नेहरुलाई सम्झें। अस्पतालको नर्मल ओपिडीमा मास्क लगाउनु न भन्दा झर्कने बिरामीलाई सम्झें।
म पहिलो दिन पिपिई लगाएर छिरेकोलाई यति समस्या छ, अझ महिनौँदेखि उही पिपिईमा घन्टौँ पानीसम्म नखाई बिरामीको सेवामा खटिने नर्स दिदीहरुलाई सम्झें, आफ्ना समस्यालाई लुकाएरै बिरामीको सेवामा खटिएको सम्झें अनि बिरामीको सेवामा खटिएका रेजिडेन्ट दाइदिदीहरु अनि सरम्यामहरु त्था हरेक दिन कोभिड वार्डको फोहोर व्यवस्थापनमा पिपिई लगाएर घन्टौँ पोछा लगाउने दिदीहरु सम्झें र भित्रभित्रै नमन गरें।
यता मेरो चस्मा पूरै वाफ भएर पानी चुहिरहेको थियो अनि आँखा धमिलो भए पनि देखिरहेको थिएँ। दाइले मोनिटरमा भाइटल भन्दा नजिकै गएर टाउको जोतेरै भए पनि हेरेर भाइटल लेख्यौँ। मलाई जस्तै समस्या दाइलाई पनि भइरहकको थियो। भित्र आइसियुमा बिरामीहरु मृत्युसँग लडिरहेका थिए। हरेकको एक्स–रे हेर्दा मैले मेरो पढाइका यी ५–६ वर्षसम्म नदेखेको फोक्सोको संक्रमण अर्थात् पूरै सेतो देख्दा मेरो एकछिन सात्तो गएको थियो।
इटाली लगायतका देशको अवस्था टिभीमा हेर्दा हल्का रुपमा लगेको म अहिले आफ्नै आँखाले बिरामीको एक्स–रे देख्दा छक्क परेको थिएँ। दाइलाई सोधें, यस्तो संक्रमण छ, के ठिक हुन्छ र दाइ? दाइले भन्नुभयो, प्रयास गर्ने त हो। केही बिरामीको मुटुको धड्कन कम थियो, कसैको बढी तर समग्रमा भन्दा भेन्टिलेटरबाट श्वास फेरिरहेका बिरामीहरुको अवस्था चिन्ताजनक थियो।
यसै मेसोमा सुरुवातबाट संक्रमितको सेवामा खटिनुभएकी एक जना नर्स दिदीलाई सोधें, कस्तो लागेको छ हजुरलाई यसरी काम गर्दा। अनि डर लाग्छ कि नाई? नर्स दिदीको जवाफ थियो, डक्टर, यसरी पनि काम गर्नुपर्छ भन्ने सोचेकै थिइनँ। घन्टौँ पिपिई लगाएर पानी समेत नखाई, दिसा–पिसाब नगरी काम गर्दा त गाह्रो भइहाल्छ। अझ त्योभन्दा पनि यसरी काम गरेर घरमा जाँदा परिवारसँग बस्न डर लाग्छ। करिब २–३ महिना भयो मैले परिवार भेटेर कुरा नगरेको। अझ महिनावारी हुँदाको समयमा पिपिई लगाएर घन्टौँ काम गर्दाको समस्या त सम्झन पनि नपरोस् झैं हुन्छ।
वास्तवमै अहिलेको समयमा स्वास्थ्यकर्मीहरुले आफ्नो कामलाई पेसा नठानेर सेवा ठानेको सोच्दा अनुपयुक्त पक्कै नहोला। काम मात्र ठानेको भए यो डरलाग्दो अवस्थामा होमिन कसैलाई मन हुँदैन।
नर्स दिदी भन्दै हुनुहुन्थ्यो, आजकल चाडपर्व अनि जन्मदिनको जमघट हुन्छ घरमा तर म भने यहाँ हरेक क्षण आउने मुस्किल घडीको लागि तयार हुनुपर्छ। अझ भन्नुपर्दा अरु सबै बिर्सेर बिरामीको सेवा सम्झनुपर्छ तर बिडम्वना यति गर्दागर्दै पनि न त राज्यले हाम्रो मर्का बुझ्छ न त अस्पताल प्रशासनले। तै पनि सेवा भनेर पछि चाहिँ हटेका छेनौँ।
यति भन्दा भित्रबाटै नमन गर्न मन लाग्यो तिनीहरु जो अहोरात्र खटिएका छन्। रातको करिब १२–३० बजेतिर रेजिडेन्ट दाइले १४ जना बिरामीको अपडेट बाहिर टिपाउनुपर्छ, फाइल ल्याउ भन्नुभयो। अनि २ बजेसम्ममा सबै अपडेट अर्थात् अहिलेको बिरामीको स्थिति, चलाएको औषधि उसको भाइटल सबै टिपायौं। अनि अब हामी बाहिर निस्कने तर्खर गरिरहँदा दाइलाई सोधें, दाइ यसरी काम गर्दा गाह्रो हुन्न भनेर। उहाँले भाइ महिनौँ भयो राम्ररी नसुतेको, हरेक दिन यसरी नै खटिइरहेको छौँ, योभन्दा अझ भयावह स्थिति आयो भने अझ कस्तो हुन्छ सोच त भन्दा म केही बोलिनँ।
मेडिकल अधिकृत, कन्सल्ट्यान्ट अनि अन्य स्वास्थ्यकर्मी सबैको पीडा उस्तै थियो। अझ म जस्ता ६१ जना इन्टर्न भर्खर आएका थियौँ, हाम्रो पीडा छुट्टै थियो। तर सबै खटिएको देख्दा अस्पताल परिसरमा छिरेपछि डर भने लाग्दैनथ्यो। जुन कर्म अँगालेको थिएँ, त्यो कर्मबाट विमुख हुनु पाप हो भन्ने लाग्थ्यो अनि मनमा डर थिएन कोरोनाको। तर बचेर सेवा गर्नुपर्छ भनेर नै अस्पतालले दिएको मास्क र भाइजरको प्रयोगले केही सुरक्षित महसुस भने गराएको थियो।
जे होस, कोभिड वार्डमा काम गर्न पिपिई लगाएर घन्टौँ खटिनुको पीडा वर्णन गरी सकिँदैन, अझ त्यसले दिने अन्य तनाव त सायद स्वास्थ्यकर्मी बाहेकले सम्झन पनि गह्रैपर्छ होला।
रातको करिब साढे २ बजे दाइ र म वार्डको काम सकेर पिपिई फुकाल्न झ¥यों। पिपिई लगाउन जति सजिलो छ, त्यो भन्दा गाह्रो र बढी सजग फुकाल्नमा हुनुपर्ने रहेछ। केही गरी नजानेर फुकालेमा संक्रमण सर्ने सम्भावना बढी हुने रहेछ। पहिलो पटक भएको हुनाले रेजिडेन्ट दाइले सिकाएको अनुसार हातमा स्यानिटाइजर लगाउँदै टोपीबाट सुरु गरेको बुटसम्म फुकाल्दा प्रत्येक पटक ह्यान्ड स्यानिटाइज गर्दै सबै पिपिई फुकालेर बाहिर निस्कें अनि ऐनामा अनुहार हेरें, पिपिई फुकाल्दा पहाडले थिचेको ज्यान बाहिर निस्केको झैं हुने रहेछ।
अनुहारमा बसेको मास्कका धर्का अनि हातमा लगाएका ५–६ जोडी पञ्जाको गर्मीले बनेको सेतो धर्का, यी सबै मेरो सेवाको फल ठानेर लामो श्वास तानें अनि हेरें बाहिर। त्यो रुममा भित्र सरसफाइको काम गर्ने दिदीहरु सुत्नु भएको थियो। सोचें, यसरी खटिनेको समस्या आज पनि यो समाजले बुझेको छैन।
हामी रुममा सुत्न पुग्दा करिब साढे ३ बजेको थियो। रेजिडेन्ट दाइले गुड नाइट भनिरहँदा मैले जिस्केर दाइ गुडमर्निङ भन्ने बेला भइसक्यो भन्दा मुसुक्क हाँसेर हुन त फेरि ५ बजे उठेर त्यही कोभिड वार्ड जानुपर्छ भन्दै हुनुहुन्थ्यो।
म आएर सुत्दा ४ बजेको थियो अनि बिहान ६ बजे उठेर नित्यकर्म गरेर करिब ७ बजेतिर यता मेडिसिन वार्डमा भएका बिरामीको मर्निङ नोट लेख्दै थिएँ, घरबाट फोन आयो– हिजो रातभरि तिमीलाई फोन गरेको स्विच अफ रहेछ। यता आमालाई झाडापखाला लागेर बेहोस भएपछि अस्पतालमा भर्ना गरिएको छ। मैले सोच्न केही सकिनँ अनि अहिले कस्तो छ भनेर सोध्दा ठिकै छ भन्नुभयो।
सानिमासँगको फोन राखेर जिल्ला अस्पतालमा काम गर्ने मेडिकल अधिकृत बहिनीलाई फोन गरें अनि सोधें, आमालाई कस्तो छ? उनले भनिन्– हिजो आउँदा बिपी ८०–६०, पल्स १७० थियो, डिसओरियन्टेड हुनुहुन्थ्यो। राति फ्लुइड चढाएपछि अहिले बिपी १००र८० छ तर कहिले ९०र८० हुन्छ पल्स ९० छ, ओरिएन्टेड नै हुनुहुन्छ।
त्यसपछि बल्ल ढुक्क भएर सोचें, यता कोभिड वार्डमा बिरामीको बिपी र स्याचुरेसन घटेकोमा दाइसँग बसेर व्यवस्थापन गरिरहेको म उता आमा बिरामी हुँदा समयमै थाहासम्म पाउन सकिनँ। सायद यस्तै अवस्था सबै स्वास्थ्यकर्मीको होला।