काठमाडौं– सिन्धुलीकी २५ वर्षीया अन्जु थापा ७ महिनाकी गर्भवती थिइन्। गर्भावस्थामा जटिल समस्या आउनसक्ने भएकोले उनी केही महिनादेखि माइतीघर धादिङमा बस्दै आएकी थिइन्।
उनले बेलाबेलामा स्वास्थ्य जाँच गर्दा अस्पतालले गर्भमा रहेको बच्चाको अवस्था सामान्य रहेको बताएका थिए। भदौ ३१ गते एक्कासि उनको पेट दुख्नुका साथै हल्का रक्तास्राव पनि भयो। उनका श्रीमान् उत्तम घिमिरे काठमाडौंमा बस्थे। उनले तुरुन्तै श्रीमतीलाई काठमाडौं बोलाए र असोज १ गते थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको इमर्जेन्सीमा भर्ना गरे। अस्पतालले अन्जुलाई अस्पतालमा नै राखेर उपचार गर्न सुरु गर्यो।
उपचारकै क्रममा अस्पताल ल्याइएको ५ दिनपछि अर्थात् सोमबार बिहान अन्जुले बच्चा जन्माइन्। बच्चा जन्मिसकेपछि चिकित्सकले ६ सय ग्रामभन्दा कम तौल भएको र २४ हप्तामै जन्मिएकोले अहिलेसम्म यस्ता शिशु बाँचेको कुनै रेर्कड नभएको भन्दै आफूलाई एउटा कागजमा हस्ताक्षर गर्न लगाएको उत्तमले बताए।
उनले भने, ‘बच्चा सानो र समय नपुगी जन्मिएकोले चिकित्सकले पनि बच्चा बाँच्दैन भन्नुभयो, त्यसैले चिकित्सकले भनेअनुसार नै उहाँहरुले भनेको कागजमा हस्ताक्षर गरिदिएँ।’
बच्चा जन्मिसकेपछि ड्युटीमा खटिएका नर्सहरुले एउटा टालोमा बेरेर बाटामा राखेर हात धुने बेसिनको छेउमा बच्चा राखिदिए। त्यो बेला नै वार्डमा भएका सबै जनाले यो बच्चाको श्वास चल्दै छ भनेका थिए।
उत्तम सोमबार बिहान ११ बजेतिर हेर्न जाँदा पनि बच्चा रोइरहेको र हातखुट्टा पनि चलेको देखे। उनले तुरुन्त ड्युटीमा भएका नर्सलाई खबर गरे। नर्सहरुले पनि बच्चाको श्वास चल्दै गरेको देखेपछि तुरुन्त ड्युटीमा भएका चिकित्सकलाई खबर गरे।
त्यो बेला दिउँसोका चिकित्सक फेरिएका रहेछन्। उनले बच्चाको श्वास चल्दैछ भनेर तुरुन्त आइसियुमा लैजान निर्देशन दिए।
सोमबार दिउँसो ४ बजे शिशुलाई आइसियुमा भर्ना गरियो। उत्तम भन्छन्, ‘अस्पतालले हेलचेक्र्याईं गर्यो। हामीले चिकित्सकले भनेपछि प्रत्याउनै पर्यो। उहाँहरुले अहिलेसम्म यस्तो बाँचेको रेकर्ड छैन, बाँच्दैन भन्नुभयो, हामीलाई पनि हो जस्तो लाग्यो। तर बच्चा ज्यँदै रहेछ।’
प्रसूति गृहकी बच्चा विभागकी प्रमुख डा कल्पना सुवेदी उपाध्यायले यस्तो बच्चा अहिलेसम्म बाँचेको रेर्कड नभएकोले बच्चा जन्मनासाथ आफूहरुले आमाबुबालाई बच्चा हस्तान्तरण गराएको बताइन्।
उनले भनिन्, ‘हाम्रो अस्पतालमा ४ वटा भेन्टिलेटर छन्। त्यो बेला खाली थिएन, त्यसैले बच्चा जन्मनासाथ हामीले बच्चाका आमाबुबालाई यस्तो सानो समय नपुगी जन्मेको शिशु बाँचेको रेर्कड छैन। तर पनि तपाईंहरु शिशु बचाउन चाहनुहुन्छ भने अन्य अस्पतालमा लगेर भेन्टिलेटरमा राख्नुस् भनेको थियौँ।’
भेन्टिलेरमा लैजानुभन्दा पहिला शिशुका बुबाले शिशु नबाच्ने भएपछि हामी किन अन्य ठाउँमा लैजाने भन्दै हस्ताक्षर गरेको डा कल्पनाले जानकारी दिइन्।
डा कल्पनाका अनुसार अहिले बच्चालाई हाई प्रेसर पम्प दिएर आइसियुमा उपचार हुँदै छ। बच्चाको अवस्था निकै कमजोर रहेको र बेलाबेलामा पम्प दिएपछि मात्र शरीरमा अक्सिजन आउने अन्यथा शरीरमा अक्सिजनको मात्र घट्दै जाने गरेको डा कल्पना बताउँछिन्। ‘यस्तो बच्चा बाँच्ने एक प्रतिशत चान्स हुन्छ, बाँच्यो भने मिराकल भयो, अन्यथा बाँच्ने चान्स निकै कम हुन्छ,’ उनी भन्छिन्।