११ दिन बित्यो,
उनी अस्पतालमै छन्,
त्यो खाट अझै उनकै छ;
भिजेका पानी-पट्टीले निधार चिस्याउँदा-
उनका आँसुले नयन भिजिदिन्छन्।
त्यो आँसु पुछ्न,
बडाका आदर्शले जान्दैन।
अनि बेवास्ता गर्न,
मेरो नैतिकताले मान्दैन।
आज म फेरि उनलाई देख्छु,
लखतरान उनको शरीरले
उठ्ने जमर्को गर्छ;
खाटको डन्डीमा बाँधेको सलमा
उनी हात बटार्छन्;
अनि आँट बटुल्छन्;
फेरि, सकी-नसकी उठ्दा
पेटको बीचमा चिरेका घाउले,
विवशता उनको झन कोतर्छन्।
अर्को दिन-
मेरो मनमा फेरि
प्रश्न उही-
उनी लाचार अस्पतालको बेडमा पल्टेको देख्दा,
उनको मुहारले बिर्सेको हाँसोबीच
मेरा आँखा अडिन्छन्।
ती अनुहारमा-
हाँसोका रेखा देखिन छोडिसके!
खित्का छोडी हाँसेका उनी कहिले होलान् ?
जमिनमा टेक्न बिर्सेका पैतालाबीच,
सर्लक्क उनको शरीर अडिने कहिले होला ?
म भविष्य बनाउनतिर,
उनलाई भने आज जिनतिन काट्नु छ;
भूत भुलाउनु छ;
अनि, सहज भोलि बोलाउनु छ अरे!
कति गाह्रो हुँदो हो-
आन्द्राले पूरा काम पनि गरी नसक्दा,
फेरी श्वासका चालहरु फेरिन थाल्दा ?
सम्झी भक्कानो घाँटीमा अड्किन्थ्यो मेरो,
अनि, उनको मधुरो श्वर
झन मसिनो तरङ्ग बनी बेरिन थाल्थे।
त्यो बर्खे झरी,
उनको सपना भरि;
कहिले बेतमासे दौडिने हुरी,
कैले शीतल छहारी मुनि,
आफ्नो यात्रा यसै बिसाइरहेछन् उनी।
प्रभू! यता पनि हेरिदेऊ;
ती लाचार ज्यानलाई-
उठ्ने जमर्को बटुल्न देऊ!
सहिष्णुताका बंसज बनाइदेऊ!
अनि, मनभरिको चाहनालाई-
सरगमको तालमा नचाइदेऊ!
अनि-
अन्तिम पटक,
उनको घरतर्फको सडक
खुल्ला होस् फेरि!
रसाएका उनका नयनले बिदा माग्दा,
मेरो मनले शीतलताको लामो सुस्केरा तान्ला!
शरीरले उनको पचाइसकेको,
खल्लो भात अनि होचो खाट,
भरे घरको न्यानो बिछ्यौनामा सर्ला!
अब, पुन: उनको यात्रा अस्पतालतर्फ?-
न उनले थेग्लान्,
न त मेरो मानसपटलमा यो बात चल्ला!!