काठमाडौं- नेपालमा आइसियु तथा भेन्टिलेटरमा उपचार हुने कोरोना संक्रमितको संख्या बढ्दो छ। तर सक्रिय संक्रमितको संख्या भने घट्दो क्रममा रहेको सरकारी तथ्यांकले देखाएको छ।
शुक्रबार २ लाख २९ हजार ३ सय ४३ जना कोरोना संक्रमितमध्ये ७ दशमलब ५१ प्रतिशत अर्थात् १७ हजार २ सय ३६ जना सक्रिय संक्रमित रहेका छन्।
पछिल्लो १८ दिनको तथ्यांक हेर्ने हो भने सक्रिय कोरोना संक्रमितको संख्या ११ दशमलब ४ प्रतिशतले घटेको देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कात्तिक २६ गते २ लाख २ हजार ३ सय २९ जना संक्रमितमध्ये १९ दशमलब २३ (३८ हजार ९ सय १२) प्रतिशत सक्रिय संक्रमित रहेकोमा मंसिर १३ गतेसम्म आइपुग्दा घटेर ७ दशमलब ८३ (१८ हजार ८३) प्रतिशतमा झरेको छ।
सक्रिय संक्रमित घट्दो क्रममा भए पनि आइसियु/भेन्टिलेटरमा भर्ना हुने सक्रिय संक्रमितको संख्या बढिरहेकोे छ। दुई साताको तथ्यांकमा ० दशमलब ८५ प्रतिशत आइसियु/भेन्टिलेरमा सक्रिय संक्रमित बढेका छन्।
कात्तिक २६ गते १ दशमलब २२ प्रतिशत सक्रिय संक्रमित आइसियु/भेन्टिलेटरमा उपचाररत रहेकोमा मंसिर १३ गतेसम्म आइपुग्दा बढेर २ दशमलब ०७ प्रतिशत पुगेको छ।
कतिपयले सक्रिय संक्रमित घट्नु र आइसियु/भेन्टिलेटरमा संक्रमित बढ्नुलाई कतै चिसोमा कोरोना भाइरस झन् बलियो हुँदै गएको त होइन भनेर अनुमान गर्न थालेका छन्।
आइसियु/भेन्टिलेटरमा बिरामी बढ्दै जानुको कारण जाडो वा भाइरस बलियो हुँदै गएको नभई उच्च जोखिम समूहका व्यक्तिहरु बढी संक्रमित भइरहेकोले यस्तो देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारी बताउँछन्।
‘पछिल्लो केही दिनयता दीर्घ रोगी, वृद्धवृद्धाहरु तथा उच्च जोखिममा रहेका मानिसहरु संक्रमित हुने क्रममा बढ्दो छ’, उनले भने, ‘उच्च जोखिममा परेका व्यक्ति संक्रमित हुँदा उहाँहरुको स्वास्थ्य जटिल हुँदै गएपछि श्वास फेर्न गाह्रो हुन्छ र उहाँहरुलाई आइसियु/भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ। त्यसैले पनि सक्रिय संक्रमित घटे पनि आइसियु/भेन्टिलेटरमा बिरामी बढिरहेका हुन्।’
बढ्दो वातावरण प्रदूषण र मौसम परिवर्तनका कारण श्वासप्रश्वास सम्बन्धी समस्याले आइसियु/भेन्टिलेटरमा संक्रमित बढेको चिकित्सक बताउँछन्। चिसो मौसममा श्वासप्रश्वास सम्बन्धी समस्या बढी हुने हुँदा अहिले नै भाइरस बलियो हुँदै गएको भन्न नमिल्ने चिकित्सक बताउँछन्।
बढ्दो वायु प्रदूषणको कारणले गर्दा श्वासप्रश्वासमा समस्या बढी मात्रामा देखिने हुँदा ६० वर्षमाथिका बिरामीले आइसियु/भेन्टिलेरटमा उपचार हुनेको संख्या बढाएको हुनसक्ने जनस्वास्थ्यविद् डा बाबुराम मरासिनी बताउँछन्।
‘वायु प्रदूषणले गर्दा नाक, घाँटी र फोक्सोलाई बढी असर गर्छ र कोरोनाको लक्षण पनि उस्तै खालको हुन्छ। श्वासप्रश्वासका बिरामी बढेकोले आइसियु/भेन्टिलेटरमा बढी देखिएको हो’, उनले भने, ‘अर्को भनेको अर्को चाडबाडको बेलामा मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा जाने क्रम बढेकोले जति एक्पोज भयो त्यति नै कोरोन संक्रमणा हुने डर बढी हुने हुँदा त्यसकारण पनि आइसियु तथा भेन्टिलेटरमा संक्रमित बढेको हुनसक्छ।’
मरासिनीका अनुसार वायु प्रदुषण हुने सहर वा रोडको छेउमा पसल गर्ने मानिसलाई बढी मात्रामा श्वासप्रश्वास सम्बन्धी समस्या देखिने हुनाले जाँच गर्दा कोरोना भएकोले आइसियु÷भेन्टिलेटरमा राखेर उपचार गर्नुु परेको पनि हुनसक्छ।
चिसो मौसम सुरु भएदेखि नै श्वासप्रश्वास सम्बन्धी समस्या बढी हुने हुँदा आइसियु/भेन्टिलेटरमा बिरामी बढेको जस्तो देखिएको हुनसक्ने शरुवारोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन्।
‘हरेक वर्ष जाडो महिनामा ६० वर्ष बढी उमेर समूहका मानिसमा दम, निमोनिया जस्ता श्वासप्रश्वासका समस्या बढी मात्रामा देखिने गर्छ। यो वर्ष चाहिँ कोरोना संक्रमण भएकोले कोरोनाका बिरामी बढेको जस्तो देखिएको हो,’ उनी भन्छन्, ‘लक्षण भएकाहरुले मात्र जाँच गरेकोले पनि कम सक्रिय संक्रमित देखिएको होला। अहिले नै यो कारणले गर्दा संक्रमित घटे भन्ने अवस्था छैन’, पुन भन्छन्।