'भिजिट नेपाल २०२०' सुरु हुनै लाग्दा सार्स जस्तो भाइरस छिमेकी देश चीनमा तीव्र गतिमा फैलँदै छ भनेर सार्वजनिक भयो। त्यो समाचार नेपाल सरकारको 'भिजिट नेपाल २०२०' योजनाका लागि सांकेतिक धक्का थियो।
मैले पुस २० गते नेपालमै कोरोना सम्बन्धी पहिलो लेख नेपाल कति जोखिममा र कस्तो सावधानी अपनाउन सकिन्छ भनेर स्वास्थ्य खबरपत्रिकामा प्रकाशित गरेको थिएँ। त्यो लेख लेख्दै गर्दा नेपालको घडीले बिहानको १-२ (मध्य रात) बजे देखाएको अहिले पनि मेरो सम्झनामा ताजै छ।
त्यो लेख विश्वमा नै विदेशी भाषामा कोरोना सम्बन्धी लेखिएका पहिलो लेखमध्येमा पर्छ। त्यो बेला सार्स जस्तो भाइरस नै किन भनिएको होला? अकस्मात यति धेरै बिरामी कसरी भए होलान्? निमोनिया त धेरै संक्रामक रोगहरुको कारणले पनि हुनेगर्छ। यस्ता जिज्ञासा र चासोहरु त्यो बेला मेरो मनमा उत्पन्न हुने गर्दथ्यो। तर संयोग पनि कस्तो, लेख प्रकाशित भएको केही दिनमा मेरै अस्पतालमा उपचारत एक बिरामीमा देशको पहिलो कोरोना भाइरस नै पुष्टि भयो।
नेपाल भित्रिँदा यो भाइरसलाई नोबेल कोरोना भाइरसको (२०१९-एन कोभ) नामले चिनिएको भए तापनि हाल यसलाई सार्स-कोभ-२ को नाम दिइएको छ। यस संक्रमणको कारणले उत्पन्न हुने रोगलाई कोभिड-१९ (कोरोना भाइरस डिजिज-१९) भनिन्छ।
यो लेख लेख्दै गर्दा विश्वमा झन्डै साढे आठ करोड जति संक्रमितको संख्या पुग्दैछ भने अठार लाखभन्दा बढीको मृत्यु भइसकेको छ। झन्डै ६ करोड जति संक्रमित कोरोना भाइरसमुक्त भइसकेका छन्। नेपालमा झन्डै साढे दुई लाख संक्रमित भइसके भने लगभग साढे अठार सय जति संक्रमितको मृत्यु भइसकेको छ।
कोरोना वर्ष २०२०: के सोचेथें, के देखें, के गर्ने?
मैले पहिलो पटक यो लेख लेख्दै गर्दा यो भाइरस विश्वभर फैलने, लाखौं संक्रमितको मृत्यु हुने र यति लामो समयसम्म निरन्तर देखिएला भनेर सोचेको पनि थिइनँ किनभने संसारको कुनै पनि ठाउँमा कुनै पनि समयमा प्रकोप या महामारी देखिने गर्छ जुन सबै/सधैं विश्वभर फैलनै पर्छ भन्ने छैन।
इबोलाको प्रकोप पनि खासगरी पश्चिम अफ्रिकी देशमा सीमित भएको थियो। हाइटीमा देखिएको २०१० को हैजा महामारी विशेषत: त्यहीँ सीमित भएको देखिन्छ। बर्ड फ्लु नेपालमा एक जनामा देखिए पनि प्रकोपको रुप लिएको भने थिएन। तसर्थ, सार्स जस्तो भाइरस पनि चीनमा सीमित हुन्छ र केही समय पछि अन्त्य हुन्छ भन्ने लागेको थियो। तर यसको अर्थात् मेरो सोचको ठिक विपरीत हालसम्म एक वर्ष पुगिसक्दा पनि निरन्तर र अझ नयाँनयाँ स्वरुपमा फैलने र मृत्यु हुने क्रम रोकिएको छैन।
नेपालमा दोस्रो कोरोना पुष्टि भएसँगै लकडाउन सुरु भएको थियो। काठमाडौँ शान्त देखिन्थ्यो। विमानस्थल भएर कोरोना भित्रिने जोखिमलाई कम गर्न त सकियो तर भारतसँग जोडिएको खुला सिमानामा भने सोचेजस्तो व्यवस्थापन गर्न सकिएन। चीनपछि विशेषत: इटालीले कोरोनाको महामारी खेप्न परेको थियो। युरोप, अमेरिकामा देखिँदासम्म छिमेकी देश भारतमा भने खासै कोरोनाको प्रभाव थिएन। भारतमा देखिए लकडाउन हुनसक्ने र त्यसको प्रभाव सिधा रोजगारीको सिलसिलामा भारत गएका नेपालीमा पर्न सक्ने/फर्कन सक्ने सम्भावना, नेपाल-भारत सिमानामा व्यवस्थापन गर्न चुनौती हुनसक्ने अनुमान त्यो बेला गर्नबाट चुकेको प्रष्टै देखिन्छ। फलस्वरूप, भारतसँग जोडिएको नेपाली सिमानाहरुमा कोरोना देखिन सुरु भएको थियो। काठमाडौँ पनि बेलायतबाट आएकामा परिवारका तीन सदस्यमा आरडिटी (एन्टिबडी टेस्ट) पोजिटिभ देखिएपछि काठमाडौँ तरंगित भएको थियो। काठमाडौँ शान्त भएपछि देखिएको यो नै पहिलो तरंग थियो।
मानिसमा एक अर्कालाई कोरोना शंका गर्न सुरु भइसकेको थियो। ठाउँठाउँमा मानिसको आवतजावतमा निगरानी सुरु हुन थाल्यो। स्वास्थ्यकर्मीहरु शंकाको प्रत्यक्ष घेराभित्र हुन पुगे। डेराबाट निकाल्ने, शारीरिक हमला गर्ने, संक्रमित भएको थाहा पाएपछि घरमै गएर संक्रमित भनेर लेखिदिने जस्ता हर्कतहरु देखा पर्न थाले। यस्ता समस्याहरु अरु देशहरुमा हुने नगरेको भए पनि नेपालमा भने कोरोनाको मनोवैज्ञानिक त्रासको प्रभाव कतिसम्म पुगेको रहेछ भनेर बुझ्न सकिन्छ। यतिन्जेलसम्म काठमाडौँमा कोरोनाको लहर सुरु भइसकेको थिएन।
पहिलो लकडाउन सकिएसँगै भने काठमाडौँमा कोरोनाको पहिलो लहर देखिन सुरु भयो। व्यापार-व्यवसाय, कार्यालयमा जागिर आदिको लागि काठमाडौँ प्रवेश तीव्र भयो। नेपाल प्रवेश गरेपछि क्वारेन्टाइन/आइसोलेसनमा बस्नुपर्ने नियम विभिन्न जिल्लाहरुमा भए तापनि काठमाडौँ प्रवेश गर्नेको हकमा भने त्यस्तो अनुगमन थिएन। त्यसमा, काठमाडौँ प्रवेश गर्नेहरुमा लक्षण भए मात्र पिसिआर गर्ने निर्देशिकाले गर्दा लक्षणविहीन कोरोना संक्रमितहरुको काठमाडौँ सहज भएको थियो।
नेपालमा पहिलो लकडाउनको अन्त्यसम्ममा ९९ प्रतिशतभन्दा बढी संक्रमितमा लक्षण थिएन भने सो समयमा काठमाडौँ प्रवेश गर्नेहरु त्योबेलाको कोरोना हटस्पट भनिएका ठाउँहरु तथा भारतबाट आइरहेका थिए। त्यो बेला घरबेटीले पिसिआर अनिवार्य भन्ने गरेको भए पनि निर्देशिकाले गर्दा परीक्षण गर्नबाट बन्चित हुँदा काठमाडौँमा संक्रमण फैलने क्रम सुरु भयो।
मैले त्योबेला देखेको चाखलाग्दो कुरा भनेको केही दिन तराईबाट आएकाहरुको पिसिआर गर्नेहरुको लाम देखिन्थ्यो भने त्यसको तीन/चार हप्तापछि काठमाडौँका स्थानीय वा लामो समयदेखि काठमाडौँमा नै बसिरहेकाहरुको लाम देखिन सुरु भयो। तत्काल निषेधाज्ञा त सुरु भयो तर त्यतिन्जेल धेरै संक्रमित भइसकेकोले र घरमा बस्नु पर्दा कोरोना घरघरसम्म पुग्न सुरु भयो। कार्यालयमा पनि समकक्षीहरुबीच कोरोना एकअर्कामा सर्ने क्रम सुरु भयो।
अस्पतालमा शय्या नपुग्ने हुँदा लक्षण नभएका वा सामान्य लक्षण भएका संक्रमितहरु होम आइसोलेसन बस्नु पर्ने निर्देशिका जारी भयो। चिसो बढेसँगै काठमाडौँमा संक्रमितको मृत्यु पनि ह्वात्तै बढ्यो। परीक्षण गर्ने र संक्रमितको संख्या क्रमश: घट्दै गइरहेको भए तापनि मृत्यु हुनेको संख्या निरन्तर बढेको देखिन्छ। परीक्षण गर्न अनिच्छा भएर हो वा प्राकृतिक रुपमा कोरोना कम हुँदै गएको हो भनेर यकिन गर्ने आधारहरु त देखिँदैन तर पनि नेपालमा कोरोनाको पहिलो लहर भने विस्तारै मत्थर हुँदै गएको जस्तो देखिन्छ।
बेलायत, युरोपका अरु देशहरु, अमेरिका र जापान जस्ता देशमा कोरोनाको उतारचढाव देखिन्छ। कोरोनाको उतारचढाव हुनैपर्छ भन्ने त छैन तर ती देशहरुमा देखिँदै गर्दा नेपालमा पनि कोरोनाको दोस्रो लहर नआउला भन्न भने सकिँदैन। जनस्वास्थका मापदण्ड बिर्संदै जानु र हालै नेपालमा देखिएको 'पोलिटिकल ट्विस्ट' र निर्वाचनको माहोलले दोस्रो लहरको सम्भावनालाई सहयोग पुर्याकइरहेको देखिन्छ।
भ्याक्सिन भित्रिने समय निश्चित भइसकेको छैन। कोरोनाको संख्या घट्यो तर जोखिम घटिसकेको छैन। तसर्थ आगामी दिनहरुमा सतर्कता भने निरन्तर अपनाउनु पर्ने देखिन्छ। महत्वपूर्ण कुरा भनेको, हामी कोरोना रोक्न कहाँ चुक्यौं, नेपाल-भारत सिमानामा व्यवस्थापन गर्न कहाँ चुक्यौं, समुदायमा पार्ने मनोवैज्ञानिक प्रभाव, सामन्वय गर्न कहाँबाट चुक्यौं भन्ने कुराको समीक्षा हुन आवश्यक छ किनभने कोरोनाको महामारी अन्तिम होइन। यसबाट हामीले समयमा नै पाठ सिक्न सके २१औं शताब्दीमा देखिन सक्ने महामारीको चुनौतीसँग लड्न सहज हुनेछ।
अन्त्यमा, सन् २०२० वर्षभरि कोरोना संक्रमित बिरामीको सेवा गर्दागर्दै सयौं स्वास्थकर्मीहरु आफैं संक्रमित भए भने केहीको त मृत्यु समेत भइसक्यो। म व्यक्तिगत रुपमा उनीहरुको कामप्रति आभार, नमन र मृत्यु हुनेहरुप्रति हार्दिक श्रद्धाञ्जली र स्यालुट गर्न चाहन्छु। कोरोना विरुद्धको लडाईं पूर्ण रुपमा सकिइसकेको छैन। वर्ष २०२१ मा कोरोना विरुद्धको भ्याक्सिनको उपलब्धता र सहज वितरण होस। कोरोनामाथि विजय प्राप्त गरी यसलाई इतिहासमा सीमित गर्न सकौं। नया वर्ष २०२१ ले यही कामना पूरा गरोस्।
(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)