जनवरी महिनालाई विश्वभरि पाठेघरको मुखको क्यान्सर विरुद्ध जनचेतना फैलाउने महिनाको रुपमा विभिन्न कार्यक्रम गरी मनाइन्छ। यो क्यान्सरलाई उन्मुलन गर्न तीव्रतर रुपमा अभियान चलाउन भन्दै विश्व स्वास्थ्य संगठनले सन् २०२० सबैलाई अपिल समेत गरेको छ।
पाठेघरको मुखमा भएका कोषहरुको असामान्य ढङ्गले वृद्धि हुनुनै पाठेघरको मुखको क्यान्सर हुनु हो। समय समयमा पाठेघरको जाँच गरी क्यान्सर पूर्वको अवस्था तथा प्रारम्भिक चरणको उपचार समयमा नै गर्न सके यसबाट बच्न सकिन्छ। रोकथाम गर्न सकिने भएपनि जनचेतनाको अभावमा दिनहुँ यो रोग बढ्दो रहेको छ। नेपालमा वार्षिक १० हजारको हाराहारीमा यस क्यान्सरका बिरामीहरु थपिने गरेको देखिएको छ।
सुरुमा लक्षण नदेखिने भएकाले एवं कतिपय अवस्थामा महिला निकै ढिलो मात्र उपचार गर्न आउने गरेको देखिन्छ। बिरामीको अवस्था हेर्दा रोग लागेको तेश्रो वा चौथो अवस्थामा मात्र उपचारका लागि अस्पतालमा पुगेका पाइन्छ।
पाठेघरको मुखको क्यान्सरको उपचार समयमै गरे निको हुन्छ। यो रोगको प्रारम्भिक स्थितिमा कुनै पीडा हुन्न, तर दुख्न थाल्दा क्यान्सर फैलिसकेको हुन्छ। अधिकांश महिलालाई पाठेघरको क्यान्सर भएपछि उनीहरूका श्रीमान् र परिवारले बेवास्ता गर्ने प्रवृत्तिले पनि उपचारमा समस्या पारेको छ।
पाठेघरको मुखको क्यान्सर एउटा प्राणघातक रोगको रुपमा रहेको छ। यस रोगबाट पीडितहरु मध्ये झण्डै ८५ प्रतिशत महिलाहरु विकासोन्मुख देशहरुमा र १५ प्रतिशतमात्र विकसित देशमा पाइएका छन्। विकसित देशहरुमा यो क्यान्सरले महिलाहरुमा हुने क्यान्सर करीब ६ प्रतिशत भाग ओगटेको छ। विकासोन्मुख देशहरुमा यो प्रतिशत अझ ठूलो रहेको छ। नेपालमा महिलामा स्तन क्यान्सरपछि यो क्यान्सर दोस्रो नम्बरमा आउँछ। पाठेघरको मुखको क्यान्सर जुनसुकै उमेरका महिलालाई पनि लाग्न सक्दछ। यो रोग ३० देखि ६५ वर्ष उमेरका महिलामा धेरै पाइएको छ। कम उमेरमा लागेमा यो अझ बढी खतरायुक्त हुन्छ।
विश्वमा पाठेघरको मुखको क्यान्सर एउटा मुख्य जनस्वास्थ समस्या र चासोको रुपमा रहेको छ। विश्व स्वास्थ्य संगठनको एक तथ्यांक अनुसार यो रोगबाट वर्षैनी ३ लाखभन्दा बढी महिलाहरुको अकालमै मृत्यु हुने गरेको छ। जसमा ८५ प्रतिशत कम विकसित अर्थात नेपाल जस्तो देशहरु पर्दछन्। नेपालजस्तो विकासोन्मुख राष्ट्रमा त यो मृत्युको एक मुख्य कारण नै बनेको छ। यसका लागि स्क्रिनिङ कार्यक्रमको अभाव तथा ढिलो एवं फैलिइसकेको अवस्थामा मात्र उपचारका लागि आउने बिरामीको व्यवहार, मानिसको रुग्ण आर्थिक अवस्था र अशिक्षा नै मूल रुपमा जिम्मेवार छन्।
यो रोग रोकथाम गर्न सकिने रोगहरुको रुपमा मानिन्छ। किनकी यसलाई क्यान्सर हुनु अगावैको अवस्थामा पत्ता लगाउन र उपचार गर्न सकिन्छ। व्यवस्थित बृहत पूर्व परिक्षण कार्यक्रम (वेल अरगानाइज्ड मास स्क्रिनिङ प्रोग्राम) ले गर्दा अतिविकसित देशहरुमा यस रोगका रोकथामका उपायहरु प्रभावकारी भई रोग घट्दो क्रममा छ। नियमित परीक्षण र तुरुन्त उपचार हुने भएकाले विकसित मुलुकमा पाठेघरका क्यान्सरका बिरामी अत्यन्तै न्यून पाइन्छन्।
दूर्भाग्यवश नेपाललगायत अन्य विकासोन्मुख देशहरुमा रोगी ढिलो फौलिएको अवस्थामा मात्र उपचारका लागि अस्पताल आउने गर्दछन्। हामी कहाँ व्यवस्थित पूर्व परीक्षण कार्यक्रम स्क्रिनिङ नभएको तथा कहिले काहीं ठूला अस्पतालमा एवं क्लिनिकमा मात्र स्क्रिनिङ गरिने हुनाले यसको रोकथाम हुन सकेको छैन। अधिकांश अस्पतालमा यो स्क्रिनिङ सबै स्त्रीरोगीहरुमा गरिन्छ। स्क्रिनिङलाई स्त्रीरोगी परीक्षणको एक भागको रुपमा स्थापित गराइनुले पनि यो रोगबाट हुने मृत्युदरमा कमी आएको छ। प्यापस्मियर सन् १९५० मा सुरु गरिएको थियो र यो एक गुणस्तरयुक्त सेवाको रुपमा विकसित देशहरुमा स्थापित भएको छ। यसले गर्दा क्यान्सर हुनु पूर्वको अवस्था सुरुमै पत्तालगाउन सकिने हुँदा उपचार पनि सुरु अवस्थामै गर्न सकिन्छ। नव्बे प्रतिशत रोगीलाई प्यापस्मियर वा लिक्विड वेस्ड साइटोलोजी वा भीआईए परीक्षण गरेमा सुरु अवस्थामै रोग पत्ता लगाउन सकिन्छ।
हरेक तीनदेखि पाँच वर्षमा कम्तीमा एकपटक पूर्वपरिक्षण कार्यक्रम स्क्रिनिङ टेष्ट गराउन आवश्यक छ। सामान्यतः २१ देखि ६५ वर्ष उमेर समूहका महिलाका लागि यो जाँच अनिवार्य छ।
पाठेघरको मुखको क्यान्सरको हुने प्रमुख कारणः
पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरस यौन सम्पर्क हुँदा महिलाहरूमा एचपीभी भाइरस सर्छ। तर यो भाइरस सर्ने बित्तिकै सबैलाई क्यान्सर हुन्छ नै भन्ने छैन। यौनसम्पर्क सुरु भएपछि एचपिभी भाइरस प्रवेश गरेको छ भने पाठेघरको मुखमा असर देखिन सुरु हुन्छ।
महिलाहरुमा एचपीभीले संक्रमण गरेदेखि क्यान्सरको रुप लिन १० औं वर्ष लाग्छ। कतिपय अवस्थामा यो आफै निको हुनेगर्छ। तर यो संक्रमण भएको लामो समयसम्म शरीरको प्रतिरक्षा प्रणालीले यसलाई हटाउन नसकेमा पाठेघरको मुखको क्यान्सर हुने सम्भावना हुन्छ। पाठेघरको मुखमा असर भए नभएकोबारे प्यापस्मेयर टेस्ट अर्थात गर्भाशय श्राव परीक्षण वा भीआईए परीक्षण वा एचपीभि डीएनए टेस्ट गरेर पत्ता लगाउन सकिन्छ।
पाठेघरको मुखको क्यान्सरका कारणहरु निम्न बमोजिम हुन सक्छन्।
१. यौन व्यवहारजन्य कारणहरुः
कम उमेरमै पहिलो यौनसम्पर्क राख्ने महिलाहरु र धेरै जनासँग असुरक्षित यौनसम्पर्क गर्ने महिलामा यो रोग बढ्ता पाइएको छ। धेरै बच्चा जन्माउने आमाहरु, यौन व्यवसायमा लागेकाहरु, महिला बन्दीहरु, बहुबिवाह गर्नेहरु र बालबिवाह गर्नेहरुमा पनि यो रोग बढी मात्रामा पाइएको छ।
२. धुम्रपानः
ज्यादा धुम्रपान (चुरोट, बिँडी, तमाखु, सुर्तीसेवन) गर्ने महिलाहरुमा पनि यो रोग अक्सर पाइएको छ।
३. संक्रमणः
विभिन्नखाले संक्रमण जस्तै ह्युमन पापिलोमा भाइरस वा अन्य यौन संक्रमण भएकाहरुमा पनि यो रोग ज्यादा पाइएको छ। यी बाहेक कम आय भएका वा अशिक्षित एवम् आफ्नो शारीरिक सरसफाई नगर्नेहरुमा पनि यो रोग बढी पाइएको छ।
पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण हो, ह्युमन पापिलोमा भाइरस (एचपीभी)। यो भाइरस धेरै प्रकारको हुन्छ, जसमध्ये विशेषगरी एचपीभी १६ र एचपीभी १८ को संक्रमणले पाठेघरको क्यान्सर गराउने पाइएको छ।
विशेषगरी ३० वर्षदेखि माथिका शारीरिक सम्पर्क भइसकेका महिलामा पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढी हुन्छ। असुरक्षित यौनसम्पर्कबाट (पुरुषहरूबाट) यो भाइरस सर्छ र महिलालाई क्यान्सर गराउँछ।
ह्युमन पापिलोमा भाइरसको संक्रमण भएपछि बिस्तारै पाठेघरको कोषिकामा परिवर्तन आउन थाल्छ। कोषिकामा परिवर्तन आएपछि क्यान्सर गराउन सक्छ। तर संक्रमणपछि क्यान्सर हुन सामान्यतः १० वर्षसम्म लाग्ने हुँदा जाँच गरी योबीचको कुनै पनि समयमा कोषिका परिवर्तन पत्ता लगाई उपचार गराउने हो भने क्यान्सर रोगबाट बच्न सकिन्छ।
रोगको निदान र निदानजन्य जाँचहरुः
रोगका लक्षणहरुः
- यौनसम्पर्कको लगत्तै हुने रक्तस्राव।
- महिनावारी अघिपछि योनीबाट हुने रक्तस्राव।
- महिनावारी नभए पनि रगत देखिने।
- सेतो गन्हाउने पानी आउने, कसैलाई सेतो र गन्हाउने पानी बग्ने, कहिलेकाँही सेतोपानीमा रगत मिसिएर आउने हुन्छ।
- महिनावारी हुँदा धेरै दिनसम्म वा बढी मात्रामा रगत बग्नु।
- गुप्तांगबाट असामान्य तथा अस्वाभाविक तरलपदार्थ बग्नु।
- तल्लो पेट दुख्नु, आलस्य हुनु वा धेरै थकाई लाग्नु।
- रक्तअल्पता, ज्यादा रक्तस्रावको कारणले हुने।
- ज्यादै फैलिएको अवस्थामा तल्लो पेटमा पीडा हुने, खुट्टाहरु सुन्निने, दिशा पिशाबमा रगत देखा पर्ने आदी। तौल घट्दै जाने।
- महिनावारी बन्द भइसकेका महिलामा फेरि रगत देखापरेमा यो रोग लागेको शंका गर्न सकिन्छ।
रोग नलागे पनि नियमित जाँच गराउनु पर्नेः
पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्गः पाठेघरको मुखको क्यान्सर छ की छैन भनी समयमानै पत्ता लगाई सोही अनुसार उपचार गर्न हरेक महिलाले पाठेघरको निम्न जाँच गर्नुपर्छ।
- ह्यूमन प्यापिलोमा भाइरस परीक्षण (एचपीभि डीएनए टेस्ट)
- भिजुअल इन्स्पेक्सन विथ एसिटिक एसिड (भिआइए) अथवा
- प्यापस्मियर टेस्ट
यदि यी टेस्ट नेगेटिभ आएमा हेरक ५ वर्षमा मात्र टेस्ट गरे पुग्छ।
जाँचपश्चात् पत्ता लागेका क्यान्सर पूर्व देखिने घाउको समयमानै उपचार गर्नसके पाठेघरको क्यान्सर हुनबाट बच्न सकिन्छ।
निदानः
नियमित परीक्षण प्याप जाँच वा भीआइए आदि परीक्षणमा खराबी भए पाठेघरको मुखको परीक्षण गरी शंका लागेको स्थानबाट सानो मासुको टुक्रा निकाली बायोप्सी गराई क्यान्सर लागेको टुंगो लाग्छ। कोन बायोप्सी तथा कल्पोस्कपिक बायोप्सी आदि अन्य निदानका तरिकाहरु पनि उपलब्ध छन्।
उपचार विधिः
शल्यक्रिया
पाठेघरको क्यान्सर हुन सक्ने सम्भावना देखिएको छ भने पाठेघरको मुख जहाँ खराबी आएको हो त्यही भागमात्र काटेर फाले पुग्छ। महिलाको पाठेघरमा भएको क्यान्सरको उपचार विधि भनेको रोगलागेको भाग वा अङ्गलाई शल्यक्रिया गरी निकाल्ने हो। प्रारम्भीक अवस्थामा भएको पाठेघरको मुखको क्यान्सरका लागि शल्यक्रियाहरु जस्तै कोनाइजेशन साधारण पाठेघर निकाल्ने अप्रेशन तथा र्यानडिकल हिस्टेरेक्टोमी गरिन्छ।
रेडियोथेरापी
क्यान्सर उपचारका लागि क्यान्सर फैलिएको अवस्थाको कोष–कोषिकाहरूलाई मार्न विकिरण (रेडियो थेरापी) को प्रयोग गरिन्छ।
पाका उमेरका र कमतन्दुरुस्त बिरामीलाई प्रारम्भिक अवस्थाकै भएपनि प्रायजसो रेडियोथेरापीद्वारा नै उपचार गरिन्छ। ठूलठूला शल्यक्रिया कम उमेरका तन्दुरुस्त बिरामीहरुमा मात्र गरिन्छ। कतिपय अवस्थामा शल्यक्रिया तथा रेडियोथेरापी दुबैको प्रयोग गरिन्छ।
केमोथेरापी
केमोथेरापी (सुई द्धारा नशामालगाइने औषधि) को प्रयोगले यो रोग नियन्त्रण मात्र हुन्छ। निको हुँदैन। प्रायःजसो पुनः रोग दोहोरिएका बिरामीहरु एवं सर्जरी रेडियोथेरापीले निको नभएका बिरामीलाई केमोथेरापी दिइन्छ। केमोथेरापी औषधिको प्रयोगद्वारा क्यान्सर भएका कोष–कोषिकाहरू नाश गरिन्छ।
प्यालिएटिभ केयर
प्यालिएटिभकेय र रोगीको दुखाइ वा अन्य असुविधाहरू कम गर्न गरिने आवश्यक उपचार विधि हो।
उपचारपछि पुनः परीक्षण
- शल्यक्रियावा रेडियोथेरापीपछि बिरामीलाई हरेक तीन तीन महिनामा पहिलो तीन बर्षसम्म त्यसपछि हरेक ६, ६ महिनामा थप दुई बर्षसम्म र त्यसपछि बाँचुन्जेलसम्म बार्षिक रुपमा अस्पतालमा सम्बन्धित बिशेषज्ञसँग जचाउनु जरुरी छ।
- कम उमेरका बिरामीका बिरामीलाई हर्मोन प्रतिस्थापना गर्नुपर्ने हुन सक्छ।
- रेडियोथेरापी पाएका बिरामीहरुले उपचारको केही महिनाभित्रमै यौनसम्पर्क गर्नुपर्दछ। अन्यथा योनी सांघुरिने वा खुम्चने डर हुन्छ।
- यो सरुवा रोग होइन, त्यसैले संभोगबाट लोग्नेलाई सर्दैन।
अन्त्यमा,
क्यान्सरविरुद्ध सचेतना, परीक्षण र उपचार उपलब्ध गराउनु जरुरी छ। रोग लागि हालेमा सरकारले पनि एक लाख बराबरको उपचार निःशुल्क गर्ने व्यवस्था गरेको छ।
कुनै लक्षण नै नभएका स्वस्थ महिलाले पनि आफ्नो पाठेघर तथा प्रजनन अंगको जाँच सकभर विशेषज्ञबाट गराई स्क्रिनिङ गराउनु जरुरी छ। हरेक महिलाहरूले समयसमयमा पाठेघरको मुखको जाँच (स्क्रिनिङ्ग) गरी क्यान्सर पूर्वको घाउ देखिएमा समयमानै उपचार गरे पाठेघरको मुखको क्यान्सर हुनबाट बच्न सकिन्छ। किशोरीहरूलाई भाइरस विरुद्ध भ्याक्सिन लगाउनु, समयसमयमा स्क्रिनिङ गर्नुका साथै उपचारलाई चुस्त र व्यवस्थित बनाउनु जरुरी छ। भ्याक्सिनका साथै रोकथामका उपाय अपनाउन आवश्यक छ ।
विकसित मुलुकहरूमा किशोरीहरूलाई ह्युमनपापिलोमा भाइरस विरुद्धको खोप (गरडासिल, गरडासिल नाइन र सर्भारिक्स भ्याक्सिन) लगाइन्छ। नेपालमा यो पाठेघरको क्यान्सर हुन नदिन भ्याक्सिन भित्रयाउने सरकारी तयारी हुनुपर्छ। पाठेघर मुखको क्यान्सर विरुद्ध लगाइने खोपलाई पनि राष्ट्रिय खोप कार्यक्रममा राखिनु जरुरी छ। सरकारले सन् २०१५ — ०१६ मा पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने खोपको कास्की र चितवनमा पाइलोटिङ गरेको थियो। पाइलोटिङको क्रममा ९ वर्षदेखि १३ वर्षसम्मका १३ हजार बालिकालाई खोप लगाइएको थियो। पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ५ महिनाको फरकमा दुईपटक मात्र लगाउँदा हुन्छ। केहि महँगो भएपनि, ९ वर्षदेखि १४ वर्ष उमेरको बालिकालाई समयमै खोप लगाउन सके पाठेघरको मुखको क्यान्सरबाट बचाउन सकिन्छ। यौन जीवनमा प्रवेश गर्नुभन्दा पहिलेनै यो खोप दिएमा बढी प्रभावकारी हुन्छ।
(लेखक डा दंगाल काठमाडौं मोडेल अस्पतालको स्त्रीरोग विभागमा कार्यरत छन्।)