धरान- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरुले उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीको कार्यकक्षमा तालाबन्दी गरेका छन्। माग पुरा नगरेको भन्दै उनीहरुले बुधबारबाट उपकुलपतिको कार्यकक्षमा ताला लगाएका हुन्।
तीन बर्षदेखि रोकिएको बढुवा प्रक्रिया प्रतिष्ठान पदाधिकारीहरुले अगाडि नबढाएको भन्दै तालाबन्दी गरेको डाक्टरहरुले बताएका छन्। उपकुलपति प्रडा गिरी भने शिक्षाध्यक्ष प्राडा गुरु खनालसहित पाँचदिन देखि काठमाडांैमा छन्।
चिकित्सकहरुले आवास मर्मतका लागि उठाएको रकम आवास मर्मतमा खर्च गर्नुपर्ने, फ्याकल्टीहरुलाई आवास उपलव्ध गराउन भवन निर्माणका लागि पहल गनुपर्ने, विभागीय प्रमुखहरुको रोटेशन मिलाउनु पर्ने, शिक्षकहरुलाई टिचर्स ट्रेनिङ र अनुसन्धनात्मक तालिम दिनलाउनु पर्ने माग पनि राखेका छन्।
यसैगरी प्रतिष्ठानबाट निस्केको क्लिनिकल फोहोरमैलाको वैज्ञानिक व्यबस्थापन हुनुपर्ने, सहज इन्टरनेटको व्यवस्था गर्नुपर्ने, प्रतिष्ठानभित्र विद्युत चोरी गर्नेलाई कारवाही गर्नुपर्ने, लगायत माग पनि चिकित्सकहरुले राखेका छन् ।
चिकित्सकको माग पुरा गर्नका लागि ध्यानाकर्षण गर्न तालाबन्दी गरेपछि चिकित्सा तथा दन्त–चिकित्सा शिक्षक कल्याण समाजका अध्यक्ष डा विष्णु पोखरेलले भने, ‘अब हामी एकहप्ता पर्खने छौं । त्यसपछि पनि माग सम्बोधन नभए समाजमा आवद्ध २ सय ७० जना चिकित्सकले सामूहिक राजीनामा दिने छौं।’ चिकित्सक समाजले एकसाता अघि नै शिक्षाध्यक्ष प्राडा गुरु खनालको कार्यकक्षमा तालाबन्दी गरिसकेको छ।
आन्दोलन सुरु भएपछि गत माघ २६ गते समाज र प्रतिष्ठान पदाधिकारीबीच भएको वार्तामा उपकुलपति लगायत पदाधिकारीहरुले माग सम्बोधन गर्ने आश्वासन दिएका थिए। तर १० दिन भन्दा बढी वितिसक्दा पनि दिएको आश्वासनअनुसार प्रगति नभएपछि तालाबन्दी गर्नु परेको समाजले जनाएको छ।
समाजका अध्यक्ष पोखरेलले भने, ‘हाम्रो मुख्य माग बढुवा हो । तीन बर्षदेखि प्रतिष्ठानमा बढुवा प्रक्रिया रोकिएको छ । बढुवा प्रक्रिया रोकिन्दा त्यसको क्षति प्रतिष्ठानले नै व्यहोर्नु परेको छ । समय अवधि अनुसार बढुवा नुहदा धेरै चिकित्सकहरु प्राध्यापक हुन पाएका छैनन्। प्राध्यापक हुन नपाएपछि उनीहरुको वृत्ति विकास त रोकियो नै त्यससंगै हुने तलव सुविधा पनि पाउन सकेका छैनन् । विद्यार्थीको भर्ना पनि हुन सकेको छैन।’
समाजका महासचिव डा एसपी रिमालले चिकित्सकको आन्दोलनले उपचार सेवालाई प्रभावित नबनाएको बताए। उनले सामुहिक राजिनामा निदएसम्मका लागि बिरामीको उपचार सेवामा रहेर नै आन्दोलित भइरहेको बताए।
पाँच दिनदेखि काठमाडौंमा रहेका प्रतिष्ठानका उपकुलपति गिरीले चिकित्सक समाजको माग सम्बोधन गर्नकै लागि मन्त्रालय र लोकसेवा आयोगमा ताकेता गरिरहेको बताए। उनले चिकित्सकहरुको माग जायज भएको बताए। उनले भने, ‘उहाँहरुकै काम गर्न भनेर म पनि कुदी रहेछु। उहाँहरुको बढुवा प्रक्रियाको फाइल लोकसेवा आयोगमा अगाडि बढेको छ । यो एक सातामात्र काम हुन्छ।’