काठमाडौं- नर्भिक इन्टरनेशनल हस्पिटलमा महिला सर्जनबाटै महिलाहरुको स्तन क्यान्सरको शल्यक्रिया सेवा उपलब्ध हुने भएको छ।
भारतका प्रतिष्ठित स्वास्थ्य संस्थाहरुमा रहेर स्तन क्यान्सरको विषयमा खोज गरेकी नेपाली चिकित्सक तथा ल्याप्रोस्कोपिक सर्जन डा बानिरा कार्कीले नर्भिकमा स्तन क्यान्सर बिरामीको उपचार सेवा सुरु भएको हो।
उनले हाल नर्भिक अस्पतालमा प्रत्येक हप्ताको सोमबार र बुधबार स्तन क्यान्सर महिलाहरुलाई लक्षित गरी ओपिडी सेवा दिन थालेकी छिन्।
‘अहिलेसम्मको अध्ययनको निश्कर्ष हेर्दा महिलाहरुले लाज, धक र डर तथा पुरुष डाक्टर भएकै कारण समयमै ब्रेस्ट क्यान्सरको लक्षणको विषयमा बताउन चाहदैनन्’ डा. कार्की भन्छिन् ‘तर सर्जन पनि महिला नै हुँदा क्यान्सरबाट पीडित महिलाहरुले समयमै आफ्नो समस्या बताउन सक्छन्, समयमै थाहा भयो भने स्तन क्यान्सरको उपचार सम्भव छ।’
डा कार्कीका अनुसार प्रत्येक ४ महिलामध्ये १ महिला स्तन क्यान्सरबाट पीडित हुने गरेका पछिल्लो एक अध्ययनले देखाएको छ। यस्तै, विश्वका ६ महिलामध्ये एकजनाको स्तन क्यान्सरकै कारण ज्यान जाने गरेको छ। यो अनुपात अझै बढ्ने संभावना देखिएकोले समेत नेपालमा स्तन क्यान्सरको विषयमा राम्रो जनचेतना आवश्यक रहेको डा कार्की बताउँछिन्।
पछिल्लो समय स्तन क्यान्सरको उपचार(शल्यक्रिया) स्तन नफ्याली वा नकाटी समेत गर्ने चलन सुरु भएको छ, नर्भिकमा पनि यो सेवा उपलब्ध हुन्छ। डा कार्की भन्छिन् ‘स्तन नकाटी शल्यक्रिया गर्दा पीडित महिलाहरुलाई सामाजिक रुपमा पुनरस्थापित गराउन सहज हुन्छ र उनीहरुको मनोविज्ञानमा समेत खासै ठूलो असर नगर्ने रहेछ। फिमेललाई साइक्लोजिकल ट्रमाबाट बचाउन सकिन्छ।’
डा कार्कीले भारत टाटा मेडिकल सेन्टर लगायतका प्रतिष्ठित संस्थाहरुमा ब्रेस्ट क्यान्सर विषयमै फेलोसिप गर्दा ७०० हाराहारी महिलाहरुको शल्यक्रिया गरेकी छिन्। उनीसँग जनरल ल्याप्रोस्कोपिक सर्जनको रुपमा धुलिखेल अस्पताल लगायतमा समेत काम गरेको अनुभव छ।