काठमाडौं - ललितपुरको सानेपास्थित स्टार अस्पतालले शिशु सघन स्याहार तथा उपचार (एनआइसियु) सेवा सुरु गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले एक कार्यक्रमका बीच उद्घाटन गरेसँगै एनआइसियु सेवा सुरु भएको हो। मन्त्री त्रिपाठीले कोभिड महामारीको संकटमा योगदान पुर्याएको भन्दै अस्पताललाई धन्यवाद दिएका छन्।
अस्पतालका कार्यकारी निर्देशक किशोर महर्जनले नवजात शिशुको मृत्युदर घटाउन एनआइसियु सेवा महत्वपूर्ण हुने बताए। एनआइसियु सेवा विस्तारका लागि सरकारले विशेष जोड दिनुपर्ने उनको भनाई छ।
कार्यक्रममा अस्पतालका मेडिकल डिरेक्टर डा शैयल रुपाखेतीले आगामी दिनमा पनि गुणस्तरीय सेवा प्रदानमा कुनै सम्झौता नगर्ने बताए। उनले समय अनुसार अन्य सेवाहरु पनि विस्तार गर्दै जाने बताए।
हालसम्म स्टार अस्पतालले १ लाख १२ हजार जनाको पिसिआर परीक्षण गरेको छ। जसमध्ये १३ प्रतिशत व्यक्तिमा कोरोना पुष्टि भएको थियो। हाल दैनिक करिब तीन सय जनाको पिसिआर परीक्षण हुने गरेको डा रुपाखेतीले जानकारी दिए। जसमध्ये २ प्रतिशत व्यक्तिमा मात्र कोरोना पुष्टि हुने गरेको छ।
अस्पतालको प्रयोगशाला ख वर्गबाट क वर्गमा स्तरोन्नती समेत भएको कार्यक्रममा जानकारी दिइएको छ। जीआई सेन्टर अर्थात् पाचन प्रणाली – पेट, आन्द्रा आदि सम्बन्धी उपचार केन्द्र स्थापनाका लागि काम सुरु भइसकेको अस्पतालले जनाएको छ।
अत्याधुनिक सशक्त हाड जोर्नी उपचार केन्द्र, नशा सम्बन्धी उपचार केन्द्र, छाला तथा सौन्दर्य रोग सम्बन्धी चिकित्सा केन्द्र लगायत सेवा विस्तारका लागि तयारी भइरहेको अस्पतालले जनाएको छ।
उद्घाटन गरिएको एनआइसियु कक्ष ६ शय्याको छ। यो सँगै स्टार अस्पतालको शय्या क्षमता एक सय पुगेको छ।