बाजुरा- बाजुरा जिल्लाको विकट कोल्टीमा मुगु खत्याडा-१० बाट आएकी २९ वर्षीय गर्भवती निर्मला चदाराको पहिलोपटक सिजेरियन सेक्शन (शल्यक्रिया मार्फत सुत्केरी) गरिएको छ। बच्चा जन्माउन नसकी छट्पटिएर प्रसव पीडामा आएकी उक्त महिलाको सफल अपरेशन गरिएको हो।
हवाईजहाजबाट नेपालगञ्ज जान ठिक्क परेका आमा र बच्चा दुवैको ज्यान स्थानीय साधन स्रोतमा नै जोगाउन सफल भएसँगै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएका टिममा हर्षोल्लास छाएको छ।
बाल रोग विशेषज्ञ डा नम्रता सिन्धान, एनेस्थेसिया विशेषज्ञ डा अर्जुन तिवारी र स्त्री, प्रसुती रोगमा विशेष अनुभव प्राप्त डा दील शाही रोका, स्टाफ नर्स मुना देवकोटा, अनमी चन्दा कुमारी दानी,अनमी दाना जोशी,अनमी मनिषा रसाइलीको संयुक्त पहलमा यो कार्य सफल भएको डा अच्युत शाली घिमिरेले बताए।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र बुढीनन्दा नगरपालिकाबीच भएको सम्झौता अनुसार नियमित रुपमा विशेषज्ञ सेवा प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध गराईदै आएको कुरा नगरपालीकाका जनस्वास्थ्य निरिक्षक ओमजंग शाहीले बताए।