काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दर्ता भएका औषधि पसलमा कार्यरत, प्रयोगशालामा कार्यरत अन्य कर्मचारी तथा सफाईकर्मीहरुलाई समेत खोप लगाउने निर्णय गरेको छ।
कोभिड-१९ विरुद्धको खोप अभियानको पहिलो चरणको तेस्रो प्राथमिकतामा औषधि पसल, प्रयोगशालामा खटिएका कर्मचारी र सफाई कर्मचारीलाई खोप लगाउन लागेको हो।
स्वास्थ्य मन्त्रालयका सचिव, प्रमुख विशेषज्ञ, महाशाखा प्रमुखहरु, बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख, प्रदेशमा खटिएका कार्यालय प्रमुख लगायतको फागुन ८ गते बसेको बैठकले खोप अभियानको कार्यान्वयन, पुनरावलोकन तथा समिक्षा गर्दै उक्त निर्णय गरेको हो।
बैठकले फागुन २३ गतेबाट सुरु हुने दोस्रो चरणको खोप अभियानमा ५५ वर्षभन्दा माथिका उमेर समुहलाई खोप लगाउन लागिएको छ। उक्त बैठकले दोस्रो चरणमा नै महाविद्यालय तथा विद्यालयका प्राध्यापक, शिक्षण तथा कर्मचारीहरु, सार्वजनिक यातायातका चालक तथा सहचालकहरुलाई समेत खोप ल लगाउन आवश्यक तयारी तथा व्यवस्थापन गर्ने निर्णय गरेको छ।
नेपालमा माघ १४ गतेबाट कोभिड विरुद्धको खोप अभियान संचालन भएको थियो। सरकारले कूल जनसंख्याको ७२ प्रतिशतलाई खोप लगाउने लक्ष्य राखेको छ।
पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स तथा शव बाहन चालक, सरसफाईकर्मी, कारागारका कर्मचारी, कैदी, स्थानीय निर्वाचत जनप्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, पत्रकार, नेपालस्थित कुटनीतिक नियोग र यूएन एजेन्सीका कर्मचारीहरुलाई खोप लगाइएको छ।