जुम्ला- जुम्लाको गुठिचौर गाउँपालिका–३ गर्ज्याङकोटमा नेपाली सेनाको टोलीले विशेषज्ञ स्वास्थ्य सेवा दिएको छ। नेपाली सेनाको जुम्लास्थित श्री नम्बर २४ बाहिनी अड्डा, नन्दबक्स गण र श्री २४ नम्बर फिए गुल्मले संयुक्त रुपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराएको हो।
स्त्री रोग र जनरल मेडिसिनतर्फको सेवा दिइएको नन्दबक्स गणका गणपति दिवाकर रायमाझीले जानकारी दिए। कोभिड–१९ का कारण स्वास्थ्य संस्था र अस्पतालसम्म पुग्न नसकेका मानिसका लागि यो सेवा लक्षित भएको उनले बताए।
उनका अनुसार विशेषज्ञ सेवा दिनका लागि नेपाली सेना भित्रको र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका विशेषज्ञ चिकित्सक गाउँमै पुगेका थिए।
स्थानीय कृष्णबहादुर बुढाले सामान्य बिरामीको उपचार र जटिल रोगको समेत सेवा पाउँदा उत्साहित भएको बताए। ढाड दुखेको, आँखा दुख्ने र ज्वरो आउने समस्याले ग्रसित उनले गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा पाउँदा खुसी लागेको प्रतिक्रिया दिए।
श्री नम्बर २४ बाहिनी अड्डाका बाहिनीपति यमबहादुर सापकोटाले विशेषज्ञ स्वास्थ्य सेवाले स्थानीयलाई निकै राहत मिलेको बताए। उनले भने, ‘कोभिडका कारण स्थानीय अस्पतालसम्म पुग्न सकेका छैनन्। रोग बोकेर गाउँमै थन्किएका छन्। आर्थिक अभावका कारण सबै नागरिक स्वास्थ्य सेवाको पहुँचसम्म पुग्न सकेका छैनन्। त्यसका लागि यो नेपाली सेनाले दिएको विशेषज्ञ स्वास्थ्य सेवा उपलब्धिपूर्ण हुनेछ।”
गुठिचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले सेनाले स्वास्थ्य सेवा मार्फत जनसम्बन्ध सुमधुर बनाउन थालेको अनुभुति भइरहेको बताए। उनले भने, ‘नेपाली सेना पटकपटक गाउँपालिकामा आएर हरेक विषयमा तालिम, प्रशिक्षण गर्दै सम्बन्ध विस्तार गरिरहेको छ। यो राम्रो कुरा हो। आगामी दिनमा भौतिक पूर्वाधार निर्माण र सचेतनाका क्रियाकलापमा सहकार्य गर्ने छौँ।’
शिविरमा झन्डै ५ सय बढीले स्वास्थ्य सेवा लिएका छन्।