काठमाडौं– चिकित्सा शिक्षा आयोगले मेडिकल शिक्षाको स्नातक तहका प्रवेश परीक्षा तथा भर्नाको कार्यक्रम छिट्टै संचालन हुने जनाएको छ।
आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर श्रीकृष्ण गिरीले एमबिबिएस तथा बिडिएस, बिएन तथा बिएस्सी नर्सिङ, फार्मेसी, पब्लिक हेल्थ लगायतका स्नातक तहका प्रवेश परीक्षा तथा भर्नाको प्रक्रिया एक सातामा सुरु हुने जानकारी दिए।
उनले भने, ‘मेडिकल शिक्षाको स्नातक तहका शैक्षिक कार्यक्रमको लागि एक हप्ता भित्रमा सूचना निकाल्छौं।’
आयोगले पूर्णता पाएपछि गतवर्षदेखि नै मेडिकल शिक्षाको वार्षिक शैक्षिक क्यालेण्डर आयोग आफैंले बनाएको थियो। तर, कोरोना संक्रमणपछि सरकारले गरेको लकडाउन तथा निषेधाज्ञाका कारण शैक्षिक क्यालेण्डर अनुसार शैक्षिक कार्यक्रम संचालन हुन सकेको छैन।
लकडाउन र निषेधाज्ञाका कारण गत जेठको दोस्रो साता नै हुने भनिएको मेडिकल शिक्षाको स्नातकोत्तर तहको प्रवेश परीक्षा तथा भर्ना प्रक्रिया अहिले बल्ल चलिरहेको छ। पिजीको कक्षा संचालन चैतदेखि सुरु हुने आयोगले जनाएको छ।
अघिल्लो आर्थिक वर्षकै भर्ना प्रक्रिया तथा कक्षा संचलान कोरोना संक्रमणका कारण ढिला भएपछि आगामी वर्षको शैक्षिक कार्यक्रम पनि केही ढिला हुने प्राडा गिरीले बताए।
आयोगको वार्षिक क्यालेण्डरमा पिजीको प्रवेश परीक्षा जेठ दोस्रो साता हुने उल्लेख भएपनि आगामी वर्षको शैक्षिक कार्यक्रम समेत केही महिना ढिलो हुने प्राडा गिरीको भनाइ छ।
‘गतवर्ष नै शैक्षिक क्यालेण्डर बनाएका छौं, त्यो क्यालेण्डरलाई मिट गर्न प्रयास गछौं,’ उनले भने, ‘आगामी वर्षको शैक्षिक कार्यक्रमा एकदुई महिना ओभरल्यापिङ हुनसक्छ, अन्य कुनै महामारी भएन भने २ वर्षमा क्यालेण्डर अनुसार नै शैक्षिक कार्यक्रम हुन्छ।’