झापा– कोरोना भाइरसको त्रासपछि बिरामीको सेवा–सुविधालाई मध्यनजर गरी मेची अञ्चल अस्पताल भद्रपुरले उच्च निर्भरता इकाइ (हाई डिपेनडेन्सी युनिट) को सेवा विस्तार गरेको छ ।
यसअघि बिरामीका लागि राखिएको जनरल बेडलाई परिवर्तन गरी मेची अस्पतालले उच्च निर्भरता इकाई सेवाको विस्तार गरेको हो। सो सेवाको सोमबार बिहान एक कार्यक्रमका बीच प्रदेश १ का आन्तरिक मामिला तथा सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका हुन्।
मेचीमा २५ शय्याको उच्च निर्भरता इकाइ सेवा स्थापनाका लागि प्रदेश १ का सामाजिक विकास मन्त्रालयले एक करोड ८४ लाख ४ हजार ३९ रुपैयाँ बजेट विनियोजन गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पिताम्बर ठाकुरले जानकारी दिए।
सोही बजेटबाट उच्च निर्भरता इकाई स्थापनाका लागि आवश्यक औषधिजन्य सामग्री र उपकरण खरिद गरी सेवा विस्तार गरेको डा ठाकुरले बताए।
पहिला अस्पतालमा चार बेडको आइसियु र दुई बेडको भेन्टिलेटर थियो र जनरल वार्डमा सामान्य बेड राखिएको थियो। अहिले उच्च निर्भरता इकाइ स्थापना भएसँगै भेन्टिलेटरमा राख्नु पर्ने सामान्य बिरामीलाई उच्च निर्भरता इकाई राखेर उपचार गराउन मिल्छ।