जुम्ला- राष्ट्रिय चिकित्सा शिक्षा आयोग जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको अनुगमनमा नजाँदा अन्योल सिर्जना भएको छ।
प्रतिष्ठानले एमबिबिएस पढाइ सञ्चालनका लागि निर्माण गरिएका भौतिक संरचना र तयारीको अवस्था अनुगमनका लागि गत पुसमा नै आग्रह गरेको थियो।
एमबिबिएस सञ्चालनका लागि आधारभूत विज्ञान र क्लिनिक, प्राध्यापक नियुक्ति लगायतका विषयमा अनुगमनका लागि गत पुसदेखि प्रतीक्षा गरिरहे पनि आयोगबाट प्रतिनिधि नआएको प्रतिष्ठानले जनाएको छ।
‘एमबिबिएस कक्षा सञ्चालनको लागि तयारी भइरहेको छ, प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापाले भने, ‘अब अनुगमनको खाँचो छ। चिकित्सा शिक्षा आयोगको टोली आउने प्रतीक्षामा छौँँ।’ आयोगले पटकपटक आउने भने पनि अनुगमनमा नगएको प्रतिष्ठानका पदाधिकारीको गुनासो छ।
एमबिबिएसका लागि बेसिक ८ र क्लिनिकल १४ विषय र प्राध्यापक सहितको टोली तयारी अवस्थामा छ।
अहिले ३ सय शय्याको अस्पताल चलिरहेको छ। कक्षा कोठा लगायत आवश्यक उपकरण तयारी पनि भइसकेको बताइएको छ। शिक्षाध्यक्ष थापाले थपे, ‘चिकित्सा शिक्षा आयोगको टोलीले अनुगमन गरेसँगै पठनपाठन सुरु गर्न सकिने अवस्था छ।’
एमबिबिएस पठनपाठन जुम्लामै हुने भएपछि कर्णालीबासी उत्साहित छ। अहिले एमबिबिएस पठनपाठनको सबै संरचना निर्माण भइसकेको छ। चिकित्सा शिक्षा आयोगले अनुगमन गरेर अनुमति दिने बित्तिकै एमबिबिएस सुरु गर्न सकिन्छ।
अहिले एमडीएमएसका लागि ५ जना विद्यार्थी भर्ना भइसकेका छन् भने आगामी चैतबाट पठनपाठन सुरु हुने छ। एमडीएमएस पढ्नका लागि विद्यार्थी आउँदैनन भन्ने शंका गरिएको भए पनि कोटा अनुसारका विद्यार्थी भर्ना भइसकेका छन्। एमडीएमएस तीन विषयमा पठनपाठन हुन थालेको हो।
अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा स्टाफ नर्स, एचए, बिबिएच, बिएमएस, एनेस्थेसियाका कार्यक्रम पनि सञ्चालनमा छन्।