झापा- मेची अञ्चल अस्पताल भद्रपुरले २५ शय्याको उच्च निर्भरता इकाई (हाई डिपेनडेन्सी युनिट) को सेवा विस्तार गरेको छ।
यसअघि बिरामीका लागि राखिएको जर्नल बेडलाइ परिवर्तन गरी मेची अस्पतालले उच्च निर्भरता इकाई सेवाको विस्तार गरेको हो।
सोमबार प्रदेश १ का आन्तरिक मामिला तथा सामाजिक विकासमन्त्री हिक्मतकुमार कार्कीले हाई डिपेनडेन्सी युनिटको उद्घाटन गरे।
मन्त्री कार्कीले मानव जीवनसँग जोडिएको स्वास्थ्य क्षेत्रको विषयमा प्रदेश र संघीय दुबै सरकार गम्भीर रहेको बताए। उनले हाई डिपेनडेन्सी युनिटको २५ शय्या बढाएर एक महिनामा दुई सय शय्या पु¥याइने बताए।
मेची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पीताम्बर ठाकुरले २५ शय्याको उच्च निर्भरता इकाई सेवा स्थापनाका लागि सामाजिक विकास मन्त्रालयले एक करोड ८४ लाख ४ हजार ३९ रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए।
सोही बजेटबाट उच्च निर्भरता इकाई स्थापनाका लागि आवश्यक औषधिजन्य सामग्री र उपकरण खरिद गरी सेवा विस्तार गरेको डा ठाकुरले बताए।
पहिले अस्पतालमा चार बेडको आइसियु र दुई बेडको भेन्टिलेटर थियो। अहिले उच्च निर्भरता इकाई स्थापना भएसँगै भेन्टिलेटरमा राख्नु पर्ने सामान्य बिरामीलाई उच्च निर्भरता इकाई राखेर उपचार गराउन मिल्छ।