कर्णाली- नेपाली उखान ‘ढुंगा खोज्दा देवता मिल्यो’ भनेझैं खत्याड गाउँपालिका– १० मुगु निवासी २९ वर्षीय निर्मला चँदाराको जीवनमा एउटा त्यही संयोग जुरेको छ। सुत्केरी व्यथाले च्यापेपछि तीनदिन अघि हवाईजहाजबाट नेपालगञ्ज जान उनी बाजुराको कोल्टी विमानस्थल पुगिन। खत्याडबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुग्न सडक यातायातको सुविधा नभएकोले चँदारा कोल्टी पुग्नुको विकल्प पनि थिएन।
नेपालगञ्ज उड्नका लागि विमानस्थलमा पुगेकी उनलाई हवाईजहाज चढ्न त्यहाँका कर्मचारीले डाक्टरको सिफारिस अनिवार्य चाहिने कुरा गरे। च्यापिरहेको पीडा सहँदै उनी कोल्टी विमानस्थल नजिक पारीपट्टि रहेको बूढीनन्दा नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र पुगिन र त्यहाँको डाक्टरसँग नेपालगञ्ज जानका लागि सिफारिस दिन अनुरोध गरिन।
संयोगवश कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट एनेस्थेसिया विशेषज्ञ डा.अर्जुनप्रसाद तिवारीको नेतृत्वमा बाल रोग विशेषज्ञ डा.नम्रता सिन्दान र स्त्रीरोगमा विशेष अनुभव प्राप्त डा.दिल साही रोकाको टोली केन्द्रमै पुगेको थियो। सिफारिस लिन आएकी चँदारालाई देख्ने बित्तिकै डाक्टर टोलीले परिचयसहित उनको समस्याबारे जानकारी लियो।
डाक्टर टोलीले सिफारिस लिन आएकी चँदाराको प्रारम्भिक अवस्था बुझ्नुका साथै केही बेरसम्मको संवादपछि उहाँलाई त्यहीँ प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउन सकिने कुरा राख्यो। सिफारिस लिएर जतिसक्दो छिटो नेपालगञ्जको उडान भेट्ने ध्याउन्नमा रहेकी उनलाई (चँदारा) भने केही शङ्का र अलि अप्ठ्यारो लागिरहेको थियो। यद्यपि, उनलाई विश्वस्त बनाउन चिकित्सक टोली सफल भयो।
'केन्द्रमा उहाँलाई त्यतिबेला नै जाँचपड्ताल गर्यौं। बच्चा (ट्रान्सभर्स लाई) उल्टो अवस्थामा रहेछ,' डा.तिवारीले भने, 'आमा र बच्चा दुवैको ज्यान खतरामा भएकोले चँदारा र उनको आफन्तलाई राजी बनाएर तत्काल हामी शल्यक्रिया गर्ने निधोमा पुग्यौं तथापि साधन स्रोतको अभावमा स्वास्थ्य केन्द्रमा शल्यक्रिया गर्न भने निकै चुनौतीपूर्ण नै थियो।'
उनले भने, 'स्थानीय साधन स्रोत र केही आफूले बोकेको उपकरणको सहयोगबाट सिजेरियन सेक्सन (सिएस) गर्यौं। शल्यक्रिया सफल भयो। सुत्केरी गराउँदा (बर्थ एस्फाजिया) अर्थात् बच्चाले आफ्नो दिसा आफैले खाएको थियो। त्यसको सबै व्यवस्थापन गरियो।' अहिले भने बच्चा र आमाको अवस्था सामान्य रहेको एनेस्थेसिया डा.तिवारीले जानकारी दिए।
उनका अनुसार प्रतिष्ठान जुम्लाको डा.टोलीका सदस्यहरुका साथै बूढीनन्दा नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्टाफ नर्स मुना देवकोटा, अनमीत्रय चन्दाकुमारी दानी, दाना जोशी, मनिषा रसाइलीसहितका स्वास्थ्यकर्मीहरुको अथक प्रयासबाट आमा र बच्चा दुवैको ज्यान जोगाउन सकिएको हो।
बूढीनन्दा नगरपालिका कोल्टी बाजुराको प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा.राजुराज जैशीले कोल्टीमा गरिएको सिजेरियन सेक्सन इतिहासमै पहिलो शल्यक्रिया भएको जानकारी दिए। 'यस अघिका सबै जटिल खालका ‘केस’हरु हामीले नेपालगञ्ज नै सिफारिस गर्नेगथ्र्यौं,' मेडिकल अधिकृत डा.जैसीले भने, 'यतिबेला प्रतिष्ठान जुम्लाको चिकित्सक टोलीले ठूलो सहयोग गरेको छ।'
यस ऐतिहासिक सफलतामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको ठूलो हात रहेको बताउँदै उनले यो संयोगले मातृशिशुको ज्यान मात्र नभएर लाखौँको खर्च पनि जोगिएको बताए। उनले भने, 'यस अघि हामीले जटिल खालका बिरामीको उपचारका लागि हेलिकोप्टर मगाउने या हवाईजहाजमा पठाउने गथ्र्यौं। भाग्यवश यतिबेला निर्मलालाई ठूलो राहत मिलेको छ।'
केन्द्रमै कार्यरत आफ्नै चार जना गर्भवती स्टाफलाई समेत नेपालगञ्ज रिफर गरिएको बताउँदै मेडिकल अधिकृत जैसीले सबै खाले स्वास्थ्य उपचार सेवा अभावले विकट क्षेत्रका नागरिकहरुलाई महङ्गो खर्चले गरिबीतर्फ धकेल्न बाध्य बनाएको प्रतिक्रिया दिए। यो समयमा चँदारा लाखौं खर्च गरेर ऋणी हुनबाट बचेको उनको भनाई थियो।
उनले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र पछिल्लो समयमा हुम्लाको ताजाकोट, सर्केगाड, अदानचूली गाउँपालिका, मुगुको सोरु, खत्याड गाउँपालिका र कालीकोटको पलाँता गाउँपालिका र रासकोट नगरपालिकाको रिफरल सेन्टरका रुपमा विकास हुँदै गएको जनाए। मुगुवासी चँदाराको यो सफल शल्यक्रियाले सर्वत्र राम्रो सन्देश फिँजाएको उनको भनाई थियो।
बूढीनन्दा नगरपालिकाका नगरप्रमुख पदमकुमार गिरीले प्राथमिक उपचार केन्द्रमा गरिएको सफल शल्यक्रिया बाजुरेली इतिहासमा पहिलो र उपलब्धिमूलक घटना भएको बताए। नगरप्रमुख गिरीले भने, 'मानव जीवनका लागि स्वस्थ जीवन पहिलो कुरा हो र जसको व्यवस्थापन राज्यले गर्नुपर्दछ। नेपालको संविधानले यसलाई मौलिक हकका रुपमा व्यवस्था पनि गरेको छ।'
लाखौं खर्च गरेर जोखिमपूर्ण जीवनलाई बचाउन गर्नुपर्ने कष्टकर बाध्यता र त्यसले सिर्जना गर्ने गरिबीबाट मुक्त गराउने प्रतिष्ठानको चिकित्सक टोलीलाई उनले हार्दिक धन्यवाद दिए।
संविधानले दिएको अधिकार नागरिकहरुले प्रयोग गर्न पाउन् भनेर हुम्ला, मुगु, कालीकोट र बाजुराको ट्रान्जिट बिन्दु मानिने कोल्टीमा जग्गाकिनेर १० शैयाको अस्पताल निर्माणका लागि तयारी भइरहेको नगर प्रमुख गिरीले बताए।
नियमित रुपमा विशेषज्ञ सेवा प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध गर्ने गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र बूढीनन्दा नगरपालिका कोल्टी बाजुराबीच सम्झौता भएको नगरपालिकाका जनस्वास्थ्य अधिकृत ओमजंग शाहीले जानकारी दिए। प्रतिष्ठानको विस्तारित गुणस्तरीय स्वास्थ्य उपचार सेवाले पछिल्लो समयमा स्वास्थ्य केन्द्रमा सयौंको सङ्ख्यामा बिरामीको चाप बढ्दै गएको अधिकृत शाहीले बताए।
कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भएको गर्भवती निर्मलाको जटिल शल्यक्रियाले नागरिकलाई घर नजिकै गुणस्तर सेवा पाइने विश्वास जगाएको छ। यसबाट सुदूरपश्चिमको कोल्टी बाजुरा मात्र नभएर त्यससँग जोडिएका हुम्ला, मुगु र कालीकोट केही स्थानीय तहका नागरिकहरुलाई कठिन भूगोलकै बीचमा भए पनि गुणस्तरीय स्वास्थ्य उपचार सेवा पाउन सकिने आशा पलाएको छ।
काठमाडौँमा चोकैपिच्छे भेटिने अस्पतालका अगाडि सुदूरपश्चिम तथा कर्णाली प्रदेशका दुर्गम जिल्लाहरुका नागरिकले सामान्य उपचार सेवा लिन घण्टौँ हिड्नुपर्ने विवशताले राज्य आफैलाई लज्जित बनाएको कर्णालीका नागरिक समाजका अगुवा पिताम्बर ढकालले टिप्पणी गरे। उनले भने, 'नागरिकको स्वास्थ्य सेवा सुनिश्चितता गर्न तीनै तहका सरकारहरुको महत्वपूर्ण भूमिका हुनुपर्दछ।'
मूलतः आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित कर्णाली तथा सुदूरपश्चिमका अति विकट जिल्लाहरुले पछिल्ला केही वर्षदेखि जटिल खालको स्वास्थ्य सेवासमेत आफ्नै ठाउँमा पाउन थालेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले विशेषज्ञ चिकित्सकीय स्वास्थ्य सेवा विस्तार गरेपछि दुर्गम कर्णाली मात्र होइन, सुदूरपश्चिमको अति विकट मानिने बझाङ, बाजुरा र अछामसम्मका नागरिकलाई राहत मिल्न थालेको हो।
प्रतिष्ठानले कर्णालीका १० र सुदुरपश्चिमका तीन जिल्लालाई आफ्नो विशेष कार्यक्षेत्र बनाउँदै गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने योजनालाई अघि बढाइएको अस्पताल निर्देशक डा.मंगल रावलले जानकारी दिए।
विस्तारित गुणस्तरीय स्वास्थ्य सेवाको योजनाअनुसार बाजुराको कोल्टी पुगेको विशेषज्ञ चिकित्सकहरुको टोलीले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमै मुगकी एक गर्भवती महिला र नवजात शिशुको ज्यान र पैसा जोगाउन सफल भएको घटनाले थप उत्साह मिलेको उनले बताए।
निर्देशक डा.रावलले भने, 'नेपालको संविधानले मौलिक हकमा नै व्यवस्था गरेको स्वास्थ्य सम्बन्धीको अधिकार सुनिश्चितताका लागि जुम्ला प्रतिष्ठानले नीति अख्तियार गरेको र यसका लागि गुणस्तरीय स्वास्थ्य सेवा विस्तारसँग सम्बन्धित ‘कर्णाली मोडल’ नीति निर्माण गरिएको छ। जसलाई मूल मर्म बनाएर हामी अगाडि बढिरहेका छौं।'
‘कर्णाली मोडल’ नीतिले यहाँ दुर्गम गाउँका नागरिकको स्वास्थ्य अधिकारको प्रत्याभूति गराउने उनकाे दावी छ। कर्णालीको मानव विकास सुचाङ्कलाई स्वास्थ्य, शिक्षा र अनुसन्धानका माध्यमबाट माथि उठाउन सहयोग पुर्याउने स्वास्थ्य क्षेत्रको एकमात्र धरोहर प्रतिष्ठानलाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गर्नुपर्ने निर्देशक डा.रावलको भनाइ छ।
ग्रामीण क्षेत्रका प्राथमिक स्वास्थ्य केन्द्रमा समेत डाक्टर नभइरहेका बेला प्रतिष्ठान जुम्लाद्वारा दुर्गम जिल्लाका नागरिकका लागि गुणस्तरीय स्वास्थ्य उपचार सेवामा बढोत्तरी गरिएपछि सुर्खेत, नेपालगञ्ज, चितवन, काठडामाडौंलगायतका सुविधा सम्पन्न ठाउँसम्म पु¥याउनुपर्दा हुने महङ्गो खर्च र गर्भवतीको स्वास्थ्य जोखिममासमेत अब न्यूनिकरण हुने अपेक्षा गरिएको छ।
रासस