काठमाडौं - नेपाल स्वास्थ्यकर्मी संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ल्याएको स्वास्थ्य सेवाका कर्मचारीहरुको समायोजन संशोधन/मिलान कार्यविधि २०७७ प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयले ल्याएको उक्त कार्यविधि स्वास्थ्यकर्मीहरुको अनुकूल नरहेको भन्दै संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। ध्यानाकर्षण गराउन आइतबार मन्त्रालयमा तीन बुँदे माग सहितको ज्ञानप पत्र समेत बुझाइएको संघका महासचिव दीपक भट्टले बताए।
स्वास्थ्य क्षेत्रको समायोजन नसकिएको अवस्थामा मन्त्रालयले समायोजनक प्रक्रियामा नमिलेकाको हकमा लिइएको निवेदनहरुको विषयमा कुनै निर्णय नगरी पुनः निवेदन माग गर्नु प्रशासनिक रुपमा त्रुटि भएको संघले जनाएको छ। प्रक्रियामा रहेका करिब ४ हजार निवेदनहरुको हकमा मन्त्रालयले तत्काल निर्णय गर्नुपर्ने उनीहरुको माग छ।
जारी गरिएको कार्यविधिमा अनुसूची १ र २ मा व्यवस्था गरिएको गाउँपालिका/नगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले संयुक्त दस्तखत गर्ने कार्य विश्वव्यापी प्रचलित प्रशासनिक व्यवस्थासँग नमिल्दो रहेको ज्ञापन पत्रमा उल्लेख छ। व्यावहारिक रुपमा पनि झन्झटिलो भएको भन्दै संघले उक्त अनुसूची संशोधन गरी प्रमुख प्रशासकीय अधिकृतबाट मात्र दस्तखत हुने गरी बनाउन माग गरेको छ।
कार्यविधिले निर्धारण गरेको समय सीमा अव्यवहारिक र असान्दर्भिक देखिएकाले निवेदन दिने समय कम्तीमा फागुन मसान्तसम्म बनाउनुपर्ने संघको माग छ।