काठमाडौं– धुम्बराहीस्थित ह्याम्स हस्पिटलले नर्सहरुका लागि तीन महिने क्रिटिकल केयर नर्सिङ तालिम सुरु गरेको छ। अस्पतालले आइतबारदेखि तीन महिने क्रिटिकल केयर नर्सिङ तालिम सुरु गरेको हो।
अस्पतालले १० औं ब्याच अन्तर्गतका संचालन गरेको सो तालिममा अस्पतालमा कार्यरत तथा क्रिटिकल केयर नर्सिङमा रुची भएका र अस्पतालमा कार्यरत नर्सिङ स्टाफहरु सहभागी भएका छन्।
ह्याम्स अस्पतालले दुई साता अघि दरखास्त आव्हान गरी आवेदन दिएका मध्ये लिखित परीक्षा तथा अन्तर्वार्तामा छानिएका ३१ जना नर्सहरुलाई तालिममा सहभागि गराएको छ।
अस्पतालले क्रिटिकल केयर नर्सिङ एसोसिएसन अफ नेपाल (सिसिनान)सँगको सहकार्यमा क्रिटिकल केयर नर्सिङ सम्बन्धि विशेष पाठ्यक्रम तयार गरी तालिम संचालन गरेको हो।
क्रिटिकल कियरको क्षेत्रमा दक्ष नर्सहरु तयार गर्ने उदेश्यले यो कार्यक्रम संचालन गरिएको अस्पतालका अध्यक्ष आर.एस. भण्डारीले जानकारी दिए।
तालिमको उद्घाटन कार्यक्रममा बोल्दै नेपाल मेडिकल काउन्सिलका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी प्रा.डा. भगवान कोइरालाले यस्ता तालिमले देशको क्रिटिकल केयर उपचार क्षेत्रमा दक्ष जनशक्तिको अभाव पूरा गर्न महत्वपूर्ण योगदान पुग्ने बताए।
यस्तै आईसियू विज्ञ प्रा.डा. अर्जुन कार्कीले क्रिटिकल केयर नर्सिङलाई गुणस्तरीय बनाउन ह्याम्सले गरेको गरेको उक्त कार्यको प्रशंसा गर्दै क्रिटिकल केयरको गुणस्तरीयतालाई ध्यान दिन आग्रह गरे।
कार्यक्रममा नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. लोचन कार्कीले कोभिड उपचारमा ह्याम्सले गरेको योगदानको प्रशंसा गर्दै बिरामी उपचारमा नर्सको जिम्मेवारी ठूलो भएको बताए।
हस्पिटलका कार्यकारी निर्देशक डा ज्योतीन्द्र शर्माले क्रिटिकल केयर नर्सिङ सम्बन्धि विश्वस्तरीय तालिम उपलब्ध हुने बताए।
कार्यक्रममा सिसिनानकी सहभागिहरुले नेपालको नर्सिङ क्षेत्रको विकासका लागि यो क्रिटिकल केयर नर्सिङ कार्यक्रम अत्यन्त सहयोगी हुने बताए।
दक्ष तथा अनुभवी विशेषज्ञ नर्सहरुलाई विदेश पलायन हुनबाट रोक्न नीति निर्माता तथा सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा उनीहरुको जोड थियो।