काठमाडौं - एशोसिएसन अफ प्राइभेट हेल्थ इस्टिच्युसन नेपाल (अफिन) ले सरकारले चिकित्सक परामर्श शुल्क फागुन मसान्तसम्म निर्धारण नगरे चैत १ देखि हालै सार्वजनिक गरिएको शुल्क नै लागु गर्ने जनाएको छ। अफिन र नेपाल चिकित्सक संघले फागुन ४ गतेदेखि लागू हुने गरी शुल्क बढाएका थिए। तर स्वास्थ्य मन्त्रालयले ध्यानाकर्षण गरेपछि शुल्क बढाउने निर्णय स्थगित भएको थियो।
अफिनले सोमबार विज्ञप्ति जारी गरी फागुन मसान्तसम्म पनि सरकारले शुल्क निर्धारण नगरे सदस्य संस्थाहरुले हालै सार्वजनिक गरिएको शुल्कलाई चैत १ गतेदेखि कार्यान्वयन गर्ने जनाएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा सबै सदस्य संस्थाहरु एवं सम्बन्धित सबै चिकित्सकहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ की फागुन मसान्तसम्म पनि शुल्क निर्धारण सम्बन्धी ठोस पहल नभएमा मिति २०७७ चैत १ देखि हालै सार्वजनिक गरिएको चिकित्सक परामर्श शुल्कलाई नै कार्यान्वयन गर्नु हुन अनुरोध छ।’
मन्त्रालयको आग्रहपछि शुल्क कार्यान्वयन स्थगित गरिएपनि हालसम्म वार्ताका लागि कुनै पहल नभएको विज्ञप्तिमा उल्लेख छ। निष्कर्षमा पुग्ने गरी छलफल तथा वार्ताका लागि तत्काल मिति तोक्न पनि अफिनले आग्रह गरेको छ।
‘मन्त्रालयबाट सरोकारवाला सबैको सर्वपक्षीय बैठकबाट सहमति मै शुल्क निर्धारण गर्ने गरी शिघ्र वार्ता र बैठकको तयारी भइरहेको हुँदा हाल उक्त शुल्क कार्यान्वयन नगर्नु भनी गरिएको आग्रहलाई सम्मान गर्दै हामी आजसम्म पनि प्रतिक्षार्थ छौ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ।
अफिन र चिकित्सक संघले ओपिडीमा चिकित्सकको अनुभव र योग्यताका आधारमा ३७० देखि ८२५ सम्म शुल्क लिन पाउने गरी निर्णय गरेका थिए।