काठमाडौं– नेपाल चिकित्सक संघले कोभिड–१९ बाट दिवंगत भएका ७ जना चिकित्सकको परिवारलाई सम्मान गरेको छ।
संघको ७१ औं स्थापना दिवसको अवसरमा संघले कोरोनाबाट दिवंगत भएका चिकित्सकका परिवारलाई सम्मान गरेको हो।
नेपालमा कोरोना संक्रमणबाट डा हरि प्रसाद सापकोटा, डा सुनिल चन्द्र झा, डा पशुपति चौधरी, डा नारायण बहादुर थापा,डा ध्रुव मुडभरी, डा चन्द्र प्रकाश मास्के र डा नविन राज बस्नेतको मृत्यु भएको थियो।
संघको स्थापना दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा संघले कोरोनाबाट मृत्यु भएकाहरुमा श्रद्धाञ्जली व्यक्त समेत गरेको छ।
स्थापना दिवसकै अवसरमा संघले पुस्तकालयको उद्घाटन समेत गरेको छ। यस्तै संघको वेवसाइट पनि परिमार्जन गर्दै संघको सदस्यता वेवसाइट बाटै लिन सकिने व्यवस्था पनि गरेको छ।
स्थापना दिवसको अवसरमा संघका पूर्व अध्यक्ष डाक्टर आनन्द श्रेष्ठले संघको स्थापना कालको स्मरण गर्दै संघले धेरै प्रगति गरेको बताए। उनले चिकित्सकको हक अधिकारका लागि सबै चिकित्सक एकतावद्ध भएर अगाडि बढ्नु पर्ने पनि बताए। उनले संघलाई जुनियर र सिनियर चिकित्सकको रुपमा बिभाजित गर्न नहुने पनि बताए।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले संघ र स्वास्थ्य मन्त्रालय बीचको सम्बन्ध अझै सुधार हुन आवश्यक रहेको बताए। उनले स्वास्थ्य मन्त्रालयमा लामो समयदेखि स्वास्थ्य सचिवको पद रिक्त रहेको भन्दै छिट्टै स्वास्थ्य तर्फको सचिव नियुक्त हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा संघका अध्यक्ष डाक्टर लोचन कार्कीले चिकित्सकहरुले खुसीयालीका साथ दिवस मनाएपनि चिकित्सकहरू खुसी नभएको बताए । उनले चिकित्सकहरुले अन्याय पनि नगर्ने र आफुमाथि पनि अन्याय हुन नदिने बताए । उनले चिकित्सकको परामर्श शुल्क समयानुकुल परिमार्जन गर्नुपर्ने समेत बताए ।
डा कार्कीले स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणको समयमा पनि चिकित्सकलाई ढाढस दिने भन्दापनि डर र धम्की पुर्ण तरिकाले काम लगाएको आरोप समेत लगाए।
संघले कोरोना संक्रमणको समयमा चिकित्सकको समस्याहरु समाधान गर्न विभिन्न काम गरेको पनि जानकारी दिए ।
उनले संघ जनताप्रति पनि उत्तरदायी रहेको र कोरोना संक्रमणबारे जनतालाई सचेतना तथा परामर्शको अभिनय पनि संचालन गरेको बताए । उनले सबै चिकित्सक एक भएमात्र आफ्ना समस्याहरु समाधान गर्न सहज हुने पनि बताए । डा कार्कीले सबै चिकित्सकलाई संघको स्थापना दिवसको अवसरमा शुभकामना पनि दिए ।